सुर्खेत । कर्णाली प्रदेश सभाको सार्वजनिक लेखा समितिले कर्णालीको बेरुजु घटाउन प्रदेश सरकारलाई निर्देशन दिएको छ ।
समितिको आइतबार बसेको बैठकले विभिन्न मन्त्रालय तथा निकायहरूमा भएको बेरूजु घटाउनका लागि तीन जना आर्थिक प्रशासन विज्ञ माग गरेको छ ।
‘महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएका बेरूजुका सम्बन्धमा बेरुजु फस्र्योट कार्यलाई प्रक्रियागत रुपमा अगाडि बढाउनका लागि संसद सहयोग परियोजनासँग परामर्शदाताको रूपमा आर्थिक प्रशासन विज्ञ संख्या ३ (तीन) जना माग गर्ने निर्णय गरियो’, समितिको बैठकको निर्णय नम्बर २ मा भनिएको छ ।
समिति बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसी, भौतिक पूर्वाधार मन्त्री मंगल शाही, सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेल र सामजिक विकास मन्त्रालयका सचिव डा. भोजराज शर्मा काफ्लेलाई राखेर आर्थिक बर्ष ०७७÷०७८ को बेरूजुको बारेमा छलफल गरेको छ ।
बेरूजुसम्बन्धी थप कार्यका लागि मन्त्रालय स्तरबाट आवश्यक छलफल तथा अध्ययन गरी समितिमा विवरणसहित जानकारी गराउने प्रतिबद्धता गराइएको लेखा समितिका सचिव उपेन्द्र गुरुङले जानकारी दिनुभयो ।
उहाका अनुसार बेरूजुसम्बन्धी नै छलफलका लागि भदौ १३ गते कृषि मन्त्री, उद्योग मन्त्री, जलस्रोत मन्त्री र सचिवहरूलाई पनि छलफलका लागि बोलाउँने निर्णय गरिएको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म कर्णाली प्रदेश सरकारको बेरुजु ४ अर्ब ३६ करोड रुपैयाँ रहेको छ ।
अर्थमन्त्री बेदराज सिंहले बेरुजु घटाउनका लागि अभियानकै रूपमा लाग्न आइतबार नै कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
‘प्रदेश अन्तर्गतका कार्यालय प्रमुख र लेखा प्रमुखहरूलाई बेरुजु घटाउने अनिवार्य दायित्व हो भन्ने सम्झिन निर्देशन दिएका छौं’, मन्त्री सिंहले भन्नुभयो, ‘सबैले आफ्नो जिम्मेवारीलाई मनन् गरेर काम गरेको खण्डमा बेरुजु समस्या न्यूनीकरण हुने हाम्रो विश्वास छ ।’
साथै उनले सरकार र राष्ट्रसेवक कर्मचारी जिम्मेवार र जबाफदेही बन्नुपर्ने बताए । ‘असल मनसायले काम गर्दागर्दै पनि कहिलेकाहीँ अपजस खेप्नुपर्ने अवस्था छ’, मन्त्री सिंहले भने, ‘कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दछु ।’
लेखा समितिको निर्देशनः कर्णालीको बेरुजु घटाउन प्रदेश सरकारलाई निर्देशन
लेखा समितिको निर्देशनः कर्णालीको बेरुजु घटाउन प्रदेश सरकारलाई निर्देशन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
