सुर्खेत । कर्णाली प्रदेशमा बाल गृह स्थापना गरी संचालन गर्न सरोकारवालाहरुले जोड दिएका छन् ।
उनिहरुले बाल गृहको अभावमा सयौँ असाहय बालबालिका संरक्षण गर्न समस्या भएको भन्दै कर्णालीमै बाल गृह स्थापना गर्नेगरी योजना बनाउन सरकारलाई सुझाव दिएका हुन् ।
आमा बुवा नभएका असाहय कुल बालबालिकाहरु मध्य कर्णालीमा मात्रै ६० प्रतिशत रहेको भन्दै संरक्षणको लागि बाल गृह आवश्यक रहेको उनिहरुको भनाई छ ।
आमाबाबु वा संरक्षकविहीन, बेवारिसे, असहाय, अनाथ, बालबालिकाहरूलाई आश्रय र खानपिन, सुरक्षा, पालनपोषण तथा शिक्षा प्रदान गर्न तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको लागि प्रदेश सरकार वा स्थानीय तहले आवश्यकता अनुसार बालगृहको स्थापना, सञ्चालन र व्यवस्थापन गर्न पाउने व्यवस्था रहेको भएपनि कर्णालीमा बाल गृह नहुँदा समस्या भएको भन्दै सरकारले यसमा ध्यान दिनुपर्ने सुझाव दिएका हुन् ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा एकपात लग्जम्बर्गले आज वीरेन्द्रनगरमा गरेको बाल संरक्षण तथा प्रवर्द्धन गर्नका लागि भएका कार्यको समीक्षा तथा आगामी प्राथमिकतासम्बन्धी कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
वीरेन्द्र नगर नगरपालिकाका टंक लामिछानेले बाल संरक्षणको लागि अझै नयाँ योजना आवश्यक रहेको भन्दै विगतमा बालबालिका लक्षित १० प्रतिशत बजेट अनिवार्य गरिएको तर अहिले त्यो प्रावधान हटाइदा काम गर्न समस्या भएको बताउनुभयो ।
अधिकारकर्मी पवित्रा शाहीले कर्णालीमा संरक्षण अभावमा रहेका बालबालिकाहरु अन्य प्रदेशको तुलनामा धेरै रहेको भन्दै तत्काल सेभ हाउस स्थापना गर्न जोड दिनुभयो ।
यसैबिच, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलले प्रदेशमा बालगृह स्थापना गरि संचालन गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
कर्णालीका बालबालिका अहिले पनि बाँके र काठमाडौंका बाल गृहमा पठाउने गरिएकोमा अब प्रदेशका बालबालिकालाई प्रदेशकै बाल गृहमा राख्नका लागि सरकारले बालगृह सञ्चालन गर्ने उहाँको भनाइ छ ।
मन्त्री पोखरेलले कर्णालीबाट अन्य प्रदेशका बाल गृहमा रहेका बालबालिकाको तथ्याङ्क सङ्कलन गर्ने, स्थानीय तहमार्फत त्यस्ता बालबालिकाको अभिलेख राख्न लगाउने बताउनुभयो ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेश प्रहरी प्रमुख भिम ढकालले संरक्षण अभावमा बालबालिका विभिन्न अपराधमा संङ्लग्न हुन थालेको उहाको भनाई छ । विशेषगरी लागु औषध दुव्र्यसन भुसको आगो झै फैलिरहेको भन्दै यसमा असाहय र आमाबुवा नभएका बालबालिका फसिरहेको बताउनुभयो ।
कर्णाली प्रदेश सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले सुर्खेतका जिल्लाको जुनसुकै ठाउँमा पनि बालगृह स्थापना गर्न सकिने भन्दै अलिकति मात्रै इच्छा देखाए सेभ हाउस संचालनमा ल्याउन सकिने बताउनुभयो ।
यता, मुख्यमन्त्री कार्यालयका सचिव विष्णु कोइरालाले बालगृह संचालन गर्न कुनै समस्या नरहेको भन्दै अब बस्ने क्याविनेट बैठकमा यो प्रस्ताव लिएर जाने बताउनुभएको छ ।
उहाले बालबालिका सम्बन्धी बनेका केही कानुनहरु समेत संशोधन गर्न आवश्यक रहेको औल्याउनुभयो । प्रदेशका दशवटै जिल्लामा एउटा पनि बालगृह छैन ।
कर्णाली प्रदेशमा बालगृह संचालनमा ल्याउनुपर्नेमा जोड
कर्णाली प्रदेशमा बालगृह संचालनमा ल्याउनुपर्नेमा जोड
"बाल सुधार गृह संचालनको प्रस्ताव क्याविनेटमा लिइने "

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु