सुर्खेत । कर्णाली प्रदेशका ८ सय एक जना बालिकालाई पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको खोप लगाउने भएको छ ।
भदौ २७ देखि ३० गतेसम्म सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा १४ वर्ष उमेरका ८ सय १ जना बालिकालाई खोप लगाइने भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले पाइलट परियोजना मार्फत कर्णाली प्रदेशका लागि हाललाई प्रादेशिक अस्पताल सुर्खेतमा पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको खोप लगाउने कार्यक्रम अगाडि सारेको छ । महाशाखाले देशका अन्य छ स्थानमा पनि खोप दिनेछ ।
अहिले प्रदेश अस्पतालका लागि ८ सय १ जना १४ वर्ष उमेर समूहका बालिकाका लागि मात्र खोप लगाइने सामाजिक विकास मन्त्रालयय कर्णाली प्रदेशले जनाएको छ । मन्त्रालय अन्तरगतको जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख गणेशभक्त गौतमले यो खोप दुई मात्रामा लगाउनुपर्ने बताउनुभयो । पहिलो मात्रा लगाएको ६ महिनापछि अर्को मात्र लगाइनेछ ।
२०६५ भदौ ३० गतेदेखि २०६६ भदौ ३० गतेभित्र जन्मेका बालिकालाई मात्र अहिले सम्म खोप लगाइनेछ ।
विद्यालयमा कक्षा ६ मा अध्ययन गर्ने बालिका तथा विद्यालय बाहिरका १४ वर्ष उमेर समूहका बालिकालाई मात्र खोप लगाइने जानकारी उहाँले दिनुभयो । प्रदेश अस्पतालमा खेर जानसक्नेसहित गरी ८४१ डोज खोप आएको छ ।
त्यसमध्ये ८०१ जना बालिकालाई खोप लगाइनेछ । लक्ष्य भने तीन हजार ७९३ जनालाई लगाउनुपर्ने हो ।
स्वास्थ्य सेवा निर्देशनालयका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले कर्णालीमा पाठेघरको मुखको क्यान्सर लाग्ने दर बढ्दो रहेकोले नेपाल सरकारले पाइलट कार्यक्रमका लागि यो खोप कार्यक्रम ल्याएको बताउनुभयो ।
यस्तै कर्णालीमा ३० वर्षदेखि ४९ वर्ष उमेर समूहका ५४ जना महिलाको परीक्षण गर्दा ५ जनामा रोग देखापरेको छ ।
स्वास्थ्य विभागका खोप फोकलपर्सन पार्थमणि न्यौपानेले निकै महँगो खोप भएकोले खोपलाई खेर जान नदिने सुझाव दिनुभयो ।
उहाँले सरकारले खोपका लागि प्रतिडोज चार हजार ५५३ रुपियाँ खर्च गरेको बताउनुभयो। उहाँले अहिले पाइलट कार्यक्रम अनुसार अहिले प्रदेश अस्पतालमा खोप लगाइने र आगामी वर्षदेखि नियमित खोप कार्यक्रममार्फत विद्यालयमा कक्षा ७ देखि १० सम्म अध्ययन गर्ने र विद्यालय बाहिर रहेका ११ वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई सो खोप लगाइने जानकारी दिनुभयो ।
खोप लगाइसकेपछि खोप लगाएको ठाउँ दुख्ने, सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने, रिंगटा लाग्ने, ज्वरो आउने तथा एलर्जी हुनेसक्ने असर भएपनि केही समयपछि सो समस्या आफै हट्ने भएकोले लक्षित वर्गको खोप लगाउनुपर्नेछ ।
कर्णाली प्रदेशका ८ सय एक जना बालिकालाई पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको खोप दिइने
कर्णाली प्रदेशका ८ सय एक जना बालिकालाई पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको खोप दिइने

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु