जुम्ला । जुम्ला विमानस्थल विस्तार गरिने भएको छ । जुम्ला विमानस्थल विस्तारका लागि चार करोड ४२ लाख ४७ हजार रुपैयाँ पठाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्रतिनिधिसभा सांसद छिरिङ ल्यामु लामा तामाङले विमानस्थल विस्तारका लागि यो बजेट स्वीकृत गरेर सरकारले पत्र पठाएको जानकारी दिनुभयो ।
विमानस्थलको जग्गा अधिग्रहण गरिसकेपछि विस्तार कार्यक्रमअन्तर्गत रनवे, ट्याक्सी वे र अप्रोनको काम गरिने छ । अहिले जुम्ला विमानस्थलमा साना ट्विनअटर जहाज मात्र रहेकामा विमानस्थल विस्तार भएमा ठूला जहाज अवतरण गर्न मिल्नेछ ।
सांसद लामाले भन्नुभयो, ‘आफ्नो जिल्लाको विकासका लागि सबै नागरिकले चासो लिन आवश्यक छ । यस्तैगरी सक्रियता र चासो देखायो भने विकास, उन्नति हुन कसैले रोक्न सक्दैन ।’
गएको वर्ष विमानस्थलका लागि एक करोड रुपैयाँ आए पनि त्यो रकम पनि प्रयोगमा नआएर ’फ्रिज’ भएको उहाँले बताउनुभयो । यो पटक विमानस्थलका लागि सरकारले ५० लाख रुपैयाँ छुट्याएको जानकारी पाएपछि थप बजेटको माग गर्दै दबाब दिएको र अहिले चार करोड रुपैयाँभन्दा धेरै आएको उहाँको भनाइ छ ।
विमानस्थलमा ठूला जहाज बसेको हेर्ने जुम्ली नागरिकको माग छ । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले विमानस्थलमा आएको रकमअनुसार काम हुन आवश्यक रहेको बताउनुभयो ।
जुम्ला विमानस्थल विस्तार गरिने
जुम्ला विमानस्थल विस्तार गरिने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
