सुर्खेत । वास्तविक किसानहरुको लागि लक्षित गरेर मात्रै सरकारले कृषि सम्बन्धीका नीति कार्यक्रम ल्याउनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
राष्ट्रिय किसान आयोगले आज सुर्खेत वीरेन्द्रनगरमा गरेको छलफल तथा वहस कार्यक्रममा सहभागी भएका सरोकारवालाहरुले वास्तविक किसानहरुको लागि लक्षित गरेर कार्यक्रम ल्याउनुपर्ने बताएका हुन् ।
उनिहरुले अहिले पनि किसानको नाममा बिचौलिया हाबी भएको भन्दै यसले गर्दा किसानहरु अन्यायमा परेको बताएका हुन् ।
अगुवा कृषक कर्ण बुढाले निर्वाचनभन्दा अगाडी घोषणापत्रमा मात्रै कृषकका लागि आकर्षक नाराहरु ल्याउने तर व्यवहारमा भने किसानहरुको अवस्था कहिले सुधार नहुने अवस्था कायम रहेको बताउनुभयो ।
उहाले अब राजनितिक दलका घोषणापत्र आफुहरुलाई आफुहरुको लागि आवश्यक नभएको भन्दै कृषि क्षेत्रमा आमुल परिवर्तन गर्नेगरी काम गर्न सुझाव दिनुभयो ।
किसानहरुलाई माथी नउठाएसम्म देशको समृद्धी हासिल गर्न सकिदैन भन्ने कुराको हेक्का राख्न उहाले उहाले नीति निर्माण तहमा रहेका व्यक्तीहरुलाई सुझाव दिनुभयो ।
किसान महासंघका कोषाध्यक्ष मिना आचार्यले वास्तविक किसानले सधै उत्पादन गरिरहने तर बिचौलियाका कारण कहिले माथी उठ्न नसकेको बताउनुभयो । किसानको उत्पादन सिधै किन्ने व्यवस्था गर्न उहाको सुझाव छ ।
कृषक सुजन रोकायले स्थानीय सरकारले किसानहरुका लागि हरेक बालीको बिऊ बिजन ५० प्रतिशत छुटमा दिने व्यवस्था मिलाउनुपर्ने माग गर्नुभयो ।
किसान संघ कर्णाली प्रदेशका अध्यक्ष नरसिंह मल्लले किसानहरुका लागि गरिने हरेक कार्यक्रमहरु गलत ढङ्गले संचालन भइरहेको बताउनुभयो । उहाले किसानका हरेक उत्पादनमा बिचौलिया हाबी हुँदा समस्या भएको भन्दै सरकारले आवश्यक नीति बनाउनुपर्नेमा सुझाव दिनुभयो ।
यता, कर्णाली प्रदेशसभा सदस्यहरुले भने सरकारले कागजमा मात्रै लेखेको तर कार्यान्वयन गर्न नसकेको भन्दै प्रदेश सरकारको आलोचना गरेका छन् ।
सांसद हिक्मत विष्टले प्रदेश सरकारले ल्याएको नीति कार्यक्रम र बजेटमा कर्णाली प्रदेशलाई कृषि र खाद्यमा आत्मनिर्भर भनेपनि व्यवहारमा कार्यान्वनय हुन नसकेको बताउनुभयो ।
उहाले प्रदेशलाई अर्गानिक प्रदेश बनाउने भनेर नारा दिइएको तर भारतिय बजारबाट करोडौँको तरकारी र खाद्यन्न आयत गरिरहेको भन्दै यसमा सरकारले ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
सांसद टेकराज पछाइले सरकारले किसानहरुको लागि ल्याएका कार्यक्रम दलालहरुको पञ्जामा परेको भन्दै स्पष्ट नीति ल्याउन नसकेको बताउनुभयो ।
यस्तै, स्थानीय तहका जनप्रतिनिधिहरुले आगामी दिनमा कृषिलाई प्राथमिकता दिने र किसानमैत्री कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएका छन् ।
भेरीगंगा नगरपालिका प्रमुख यज्ञ बहादुर ढकाल, लेकवेशी नगरपालिका प्रमुख उमेश पौडेल र गुराँस गाउँपालिका दैलेखका अध्यक्ष टोप बहादुर विसीले किसानमैत्री कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएका छन् ।
कृषकहरुले राखेका प्रश्नको जवाफ भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव राजु भुज स्थानीय तहका कृषि शाखा प्रमुख लगायतले जवाफ दिनुभएको थियो ।
वास्तविक किसानको लागि कार्यक्रम आउन नसकेको गुनासो
वास्तविक किसानको लागि कार्यक्रम आउन नसकेको गुनासो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु