काठमाडौँ । अफगानिस्तानमा गएको भूकम्पमा परि मर्नेको संख्या २ हजार पुगेको छ । हेरात प्रान्तमा शनिबार राति गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या २ हजार पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् ।
अफगानिस्तानको राजधानी हेरातबाट ३० किमी उत्तरपश्चिममा गएराति ६ दशमलव ३ म्याग्नीच्यूडको भूकम्प गएको थियो ।
‘दुर्भाग्यवश, हताहत हुनेको सङ्ख्या व्यावहारिक रूपमा धेरै देखिएको छ,’ सरकारका उपप्रवक्ता बिलाल करिमीले भनेका छन् ।
भूकम्पपछि भत्किाएका संरचनाको भग्नावशेषमा फसेकाहरुको उद्धारको प्रयास भइरहेको अधिकारीहरुको भनाई छ। भूकम्पबाट मृत्यु हुनेको संख्या अझ बढ्ने अनुमान सरकारी अधिकारीहरुले गरेका छन् ।
भूकम्पको केन्द्रविन्दु नजिकै पर्ने गाउँका सयौँ घर भत्किएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार हेरात प्रान्तका कम्तीमा १२ गाउँका ६०० भन्दा बढी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।
सन् २०२१ मा तालिवान सत्तामा फर्किएपछि व्यापक रूपमा विदेशी सहायता फिर्ता भएसँगै अफगानिस्तान पहिलेदेखि नै गम्भीर मानवीय सङ्कटको चपेटामा परेको छ ।
करिब १९ लाख जनसङ्ख्या रहेको हेरात प्रान्तमा इरानसँगको सीमामा पर्छ। हेरातमा वर्षौं लामो खडेरीले धेरै कृषकलाई आर्थिक तथा मनोवैज्ञानिक रूपमा कमजोर बनाएको छ ।
युरेशियन र भारतीय टेक्टोनिक प्लेटहरूको संगमनजिक रहेको हिन्दकुश पर्वत शृङ्खलामा रहेको अफगानिस्तानी भूभाग अक्सर भूकम्पको चपेटामा पर्दै आएको छ ।
अफगानिस्तान भूकम्पमा परि २ हजारको मृत्यु
अफगानिस्तान भूकम्पमा परि २ हजारको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु