दैलेख । दैलेख गुराँस गाउँपालिका वडा नम्बर ५ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ ।
बिहीबार गोगनपानीमा गरिएको कार्यक्रममा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार विसीले बालश्रममुक्त, हिंसारहित र बालविवाह निषेधित बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुभएको हो ।
सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचकमध्ये अधिकांश सूचक पूरा गरेसँगै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको वडा नम्बर ५ का अध्यक्ष भुपेन्द्र चन्दले बताउनुभयो ।
गुराँस गाउँपालिकामा बाल अधिकार सुनिश्चित गर्न बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको यो तेस्रो वडा हो । यसअघि गुराँस गाउँपालिकाको वडा नम्बर ६ र ८ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको थियो ।
सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले तय गरेको ५१ सूचकमध्ये ८० प्रतिशत सूचक पूरा गरेसँगै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न सकिन्छ ।
वडालाई बालमैत्री घोषणाका लागि गाउँपालिका, वडा कार्यालय, सेभ द चिल्ड्रेन र सोसेक नेपालको साझेदारीमा बालमैत्री भौतिक संरचना निर्माण, बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालन भएका थिए ।
बालमैत्री शासन कार्यान्वयनको चरणलाई प्राथकिमतामा राख्दै सबै वडामा बिस्तार गरेर पालिकालाई नै बालमैत्री घोषणा गर्ने गाउँपालिका तयारी गरिएको गुराँस गाउँपालिका अध्यक्ष टोपबहादुर बिसीले प्रतिबद्धता जनाउनुभयो ।
उहाले बालमैत्री व्यवहार अब घरबाटै शुरु गर्नुपर्ने भन्दै अहिलेका बालबालिका भविश्यका कर्णधार भएको बताउनुभयो । गुराँस गाउँपालिकाले बालबालिको क्षेत्रमा १५ प्रतिशत बजेट छुट्याएको पनि उहाको भनाई छ ।
बालबालिकामा लगानी बढाऔं: मन्त्री विसी
बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्ण कुमार विसीले बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्ने भन्दै कर्णाली प्रदेश सरकारको तर्फबाट सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।
उहाले बालबालिकामा अहिले गरिएको लगानीले समृद्धीको आधार तय गर्ने बताउँनुभयो ।
फरक प्रसंङ्गमा उहाले जनप्रतिनिधिहरुले निश्पक्ष भएर काम गर्नुपर्नेमा जोड दिदैं विकासका कामहरु राजनितिक आस्थाको आधारमा नभई जनताको आवश्यकताको आधारमा गर्नुपर्ने बताउनुभयो ।
उहाले गुराँस गाउँपालिकालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न कर्णाली प्रदेश सरकारले काम गरिरहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा बोल्दै दैलेख क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्य पूर्ण चालिसेले संविधानमा उल्लेखित मौलिक हक अन्तरगत बालबालिकाको अधिकार पनि रहेको भन्दै यसको कार्यान्वयनको शुरुवात गुराँस गाउँपालिकाले गरेको बताउनुभयो ।
गुराँस गाउँपालिका उपाध्यक्ष शिवा कुमारी खड्काले गुराँस गाउँपालिकाले बालबालिकाको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको भन्दै यसको लागि आफुहरु लागिरहेको बताउनुभयो ।
वडा नम्बर ८ का वडा अध्यक्ष दीपेन्द्र ओलीले पनि समाज कस्तो छ भनेर थाहा पाउन जेष्ठ नागरिकको अनुहार हेरेर थाहा हुने र भविश्य कस्तो छ भनेर बालबालिकामा लगानी हेरेर थाहा हुने बताउनुभयो ।
उहाले विकास र समृद्धीको लागि बालबालिकाको क्षेत्रमा लगानी बढाउन आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा सेभ द चिल्ड्रेन, सामाजिक सेवा केन्द्र सोसेकका प्रतिनिधि, शिक्षक, विद्यार्थी र आम अविभावको सहभागितामा वडा नम्बर ५ लाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको हो । आज शुक्रबार गुराँस गाउँपालिका वडा नम्बर ३ लाई पनि बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिँदै छ ।



