दैलेख । सुर्खेतको सिमानासँग जोडिएको दैलेख गुराँस गाउँपालिकाका चार वटा वडा बालमैत्री स्थानीय शासनयुक्त वडा भएका छन् ।
सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले तय गरेको ५१ सूचकमध्ये ८० प्रतिशतभन्दा धेरै सूचक पूरा गरेका चारवटा वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा बनेका हुन् ।
गाउँपालिका अन्तरगतका वडा नम्बर ५ र ३ लाई पनि बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाभएसँगै पालिकाका चारवटा वडाहरु पूर्ण बालमैत्री वडा बनेका हुन् । अलिहेसम्म ६ नम्बर वडा, ८ नम्बर, ५ नम्बर र ३ नम्बर वडा बालमैत्री शासनयुक्त घोषणा भएका छन् भने अब गाउँपालिकाका ४ वटा वडा बालमैत्री स्थानीय शासनयुक्त वडा हुन बाँकी छन् ।
यी वडाहरुलाई पनि छिट्टै बालमैत्री वडा घोषणा गर्ने भन्दै पालिकालाई नै बालमैत्री स्थानीय शासनयुक्त बनाउने तयारी गरिएको गाउँपालिका अध्यक्ष टोप बहादुर विसीले बताउनुभयो ।
उहाले बालमैत्री व्यवहार अब घरबाटै शुरु गर्नुपर्ने भन्दै अहिलेका बालबालिका भविश्यका कर्णधार भएको बताउनुभयो । गुराँस गाउँपालिकाले बालबालिको क्षेत्रमा १५ प्रतिशत बजेट छुट्याएको पनि उहाको भनाई छ ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले तय गरेको ५१ सूचकमध्ये ८० प्रतिशत सूचक पूरा गरेसँगै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न सकिन्छ ।
गुराँसका चार वडा वडालाई बालमैत्री घोषणाका लागि गाउँपालिका, वडा कार्यालय, सेभ द चिल्ड्रेन र सोसेक नेपालको साझेदारीमा बालमैत्री भौतिक संरचना निर्माण, बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालन भएका थिए ।
गोगनपानीमा भएको कार्यक्रममार्फत ५ नम्बर वडालाई बिहीबार कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री कृष्ण कुमार विसीले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
यस्तै, शुक्रबार (आज)ं पातिकाल्नामा गरिएको कार्यक्रममा दैलेख क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य पूर्ण बहादुर चालिसेले ३ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुभएको हो ।
वडा नम्बर ५ को बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्ण कुमार विसीले बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्ने भन्दै कर्णाली प्रदेश सरकारको तर्फबाट सहयोग रहने प्रतिवद्धता जनाउनुभयो । उहाले बालबालिकामा अहिले गरिएको लगानीले समृद्धीको आधार तय गर्ने बताउँनुभयो ।
फरक प्रसंङ्गमा उहाले जनप्रतिनिधिहरुले निश्पक्ष भएर काम गर्नुपर्नेमा जोड दिदैं विकासका कामहरु राजनितिक आस्थाको आधारमा नभई जनताको आवश्यकताको आधारमा गर्नुपर्ने बताउनुभयो ।
उहाले गुराँस गाउँपालिकालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न कर्णाली प्रदेश सरकारले काम गरिरहेको जानकारी गराउनुभयो ।
दैलेख क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्य पूर्ण चालिसेले संविधानमा उल्लेखित मौलिक हक अन्तरगत बालबालिकाको अधिकार पनि रहेको भन्दै यसको कार्यान्वयनको शुरुवात गुराँस गाउँपालिकाले गरेको बताउनुभयो ।
कार्यक्रममा सेभ द चिल्ड्रेन, सामाजिक सेवा केन्द्र सोसेकका प्रतिनिधि, शिक्षक, विद्यार्थी र आम अविभावको सहभागितामा बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको हो ।
दश बुँदे सामुहिक प्रतिवद्धता
बालश्रम तथा बाल विवाह निषेधित गर्न सरोकारवालाहरुले दश बुँदे सामुहिक प्रतिवद्धता गरेका छन् ।
बालबालिकाहरुको उमेर नपुगी हुने विवाह नगर्न र नगराउन आफुहरु प्रतिवद्ध रहेको लिखित प्रतिवद्धता जनाएका हुन् ।
यस्तै, छोरीको उज्वल भविश्यका लागि विद्यालय पठाउन पहल गर्ने, घर, परिवार, विद्यालय र समुदायमा बालबालिकामाथी हुने सबै प्रकारका हिसाँ स्वीकार नगर्ने, जोखिममा रहेका बालबालिकाहरुको दिगो जिविकोपार्जनका लागि स्थानीय सरकारलाई पहल गर्न अनुरोध गर्ने प्रतिवद्धता सरोकारवालाहरुले गरेका छन् ।
बालबालिकाको उज्वल भविश्यविना समाज राम्रो र असल बन्न नसक्ने भन्दै बाल बचाउ बालसंरक्षण, बालविकास र बाल सहभागिताका न्यूनतम मापदण्डहरु पुरा गर्नका लागि स्थानीय सरकार जिम्मेवार बन्दिनुपर्ने सामुहिक आग्रह गरिएको छ ।
स्थानीय तहबाट सबै प्रकारका बालश्रम पूर्णरुपमा निवारण गर्ने नीतिलाई कार्यान्वयन गर्न सहयोग गर्ने, बालश्रममा काम गर्न बाध्य बालबालिकाको खोजी, अनुगमन, उदद्वार र पुनस्थापना गर्न सहयोग गर्ने,. बालश्रमको जोखिममा परेका बालबालिका तथा उनका परिवारका लागि आवश्यक सहयोग उपलब्ध गराउन स्थानीय सरकारलाई पहल गर्ने लगायतका प्रतिवद्धता गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका निर्मल अधिकारीले बताउनुभयो ।
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, कृष्ण कुमार विसी, प्रदेशसभा सदस्य पूर्ण चालिसे, गुराँस गाउँपालिका अध्यक्ष टोप बहादुर विसी, बालबालिकाको क्षेत्रमा काम गर्ने अन्य साझेदार नीकायका प्रतिनिधि, शिक्षक, अविभावक लगायतले लिखित प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् ।
बालमैत्री घोषणा समारोह (फोटो फिचर)