सुर्खेत । कात्तिक १७ गते राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भुकम्प गयो । भुकम्पपछि जाजरकोट र रुकुम पश्चिम अहिले शोकमा डुबेको छ । एकातिर आफन्त गुमाउँदाको पिडा छ, भने अर्कोतर्फ घरबारबिहिन हुँदाको पिडाले पिडितहरुलाई पिरोलिरहेको छ । प्रहरीको अद्यावधिक विवरण अनुसार भुकम्पमा परि अहिलेसम्म १५७ जना व्यक्तीको ज्यान गइसकेको छ । भने १६६ जना व्यक्ती घाइते अवस्थामा छन् । त्यहाँको वस्तु स्थिति बुझ्न स्थलगत रिपोर्टिङका लागि हामी जाजरकोटतर्फ लाग्यौँ । जाजरकोट जिल्ला सदरमुकामदेखि नजिकै रहेको छेडा बजार पुग्दा करिब २ बजेको थियो । त्यहाँ न्यानो घाममा चौरमा केही व्यक्तीहरु सुतिरहेका थिए । हामी एकैछिन उनिहरुसँग भलाकुसारीका लागि त्यहाँ रोकियौँ ।
उनिहरुलाई हाम्रो प्रश्न थियो, भुकम्पले तपाईहरुको घरमा केही क्षती भयो ? उनिहरुले भने, घरमा त खासै क्षती भएन तर रातीको भुकम्पको कम्पनले अहिले पनि मुुटु कापिरहेको छ । रातभर नीदाउन सकेनौँ । त्यही भएर अहिले सुतिरहेका छौँ । पुराना केही घरमा भने आँशिक रुपमा क्षती भएको छ । उनिहरुले भने ।
उनिहरुसँगको कुराकानीपछि हामी जाजरकोट सदरमुकाम खलंगातर्फ केन्द्रीत भयौँ । जब छेडा बजारदेखि १० किलोमिटर टाढा खलंगा पुग्यौँ, यहाँ भने धेरै भौतिक क्षती भएको देखियो । बसिरहेका घरहरु भुकम्पले भत्काइदिएपछि उदाङ्गो देखिएका छन् । एकिन तथ्याङ्क नभएपनि पूर्ण रुपमा क्षती भएका घरहरु पनि धेरै छन् । नभत्किएका घरहरु पनि आशिंक रुपमा क्षती भएकै छन् ।
परम्परागत घरहरुमा क्षती धेरै
जाजरकोटमा गएको भुकम्पले आधुनिक र पक्की घरभन्दा पराम्परागत घरमा क्षती धेरै पुगेको छ । प्रहरीले अहिले तथ्याङ्क संकलन गरिरहेको जनाएको छ । तर भुकम्प प्रभावित क्षेत्रमा रहेका भत्किएका घरहरुको अवस्था हेर्दा परम्परागत र पुराना घरहरु नै पुर्ण रुपमा क्षती भएको देखिएको हो । जाजरकोटमा व्यवसाय गर्दै आएका दाङका अमन चौधरीले जाजरकोटमा भुकम्पका कारण भत्किएका घरहरु अधिकांस पुराना घरहरु रहेको बताउनुहुन्छ । विशेषगरी पछिल्लो समय बनाइएका पक्की घरहरुमा त्यती क्षती नपुगेको स्थानीयहरुले बताएका छन् । जिल्लाका अन्य पालिकामा समेत भुकम्पले क्षती पुर्याएको छ, त्यहाँ पनि परम्परागत र पुराना घरहरुमा क्षती पुगेको बताइएको छ । ढुङ्गा र माटोले बनाइएका घरहरुमा धेरै क्षती पुगेको भेरी नगरपालिका २ का स्थानीय गोपाल विक बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, यो भुकम्पले धेरैजसो ढुङ्गा र माटोले बनाइएका घरहरुमा क्षती पुगेको छ, काठले बनाइएका घरहरु, र बजारमा बनाइएका नयाँ पक्की घरहरुमा त्यती क्षती पुगेको छैन । उहाले भन्नुभयो । विगतमा जाजरकोटी राजा बस्ने दरबार समेत भुकम्पका कारण चिरा परेको छ । भुकम्पका कारण जाजरकोटका अधिकांस घरहरुमा भने क्षती पुगेको छ, भने घर भत्किदा मानविय र भौतिक क्षती समेत भएको छ ।
खलंगा बजार नै जोखिममा
भिरालो जमिनमा रहेको खलंगा बजारमा खचाखच घरहरु बनाइएको छ । साघुरो बाटो, बजारभन्दा तलतिर पहिरोको जोखिम रहेको जाजरकोट खलंगा बजार भुकम्पसँगै पहिरोको जोखिममा समेत देखिन्छ । बजारमा घरमा घर जुधाएर दुबैतिरबाट सडकलाई च्यापिएको छ । जसले गर्दा भुकम्प आउँदा नत खुल्ला ठाउँ छ नत भाग्ने ठाउँ नै । यदी १७ गते राती आएको भुकम्प जस्तै फेरी अर्को भुकम्प आएको खण्डमा जाजरकोटको खलंगा बजारका धेरै घरहरु क्षती भई ठुलो जनधनको क्षती हुन सक्ने देखिन्छ । बजारदेखि तलतिर पहिरोको जोखिम पनि उत्तिकै छ ।
खुल्ला आकासमा रात बिताउँदै
भूकम्पबाट प्रभावित जाजरकोटका नागरिक खुला आकास पालमुनी बसेर रात विताउनुपरेको दुखेसो गरेका छन् । घरहरु भत्किएका छन् भने कतिपय चिरा परेर बस्न नसक्ने अवस्थामा घरहरु भएपछि बाहिर बस्नुपरेको उनिहरुको दुखेसो छ । बाहिर बस्नुपरेपछि चिसको समस्या बढेको उनिहरुको भनाई छ । जाजरकोट भेरी नगरपालिका वडा नम्बर २ का मान बहादुर विकले आफ्नो घर भुकम्पले भत्काएपछि अहिले केटाकेटीसहित खुल्ला आकासमुनी बसिरहेको दुखेसो गर्नुभयो । उहाले भन्नुभयो, “एउटा सानो सानो घर थियो, त्यही पनि भुकम्पले भत्काइदियो । साना केटाकेटीको साथमा बाहिर खुल्ला आकासमा बस्नुपर्ने बाध्यतामा छु । सरकारले पालको व्यवस्था त गरिदिएको छ, यो चिसोको समयमा पालमुनी बस्न पनि धेरै समस्या छ ।”
उद्धार काम करिब अन्तिम चरणमा
सरकारले जाजरकोटका भुकम्पबाट प्रभावित भएकाहरुको उद्धारको काम अन्तिम चरणमा पुगेको बताएको छ । विगतमा सरकारका काममा ढिलाइ हुने गरेको भन्दै आलोचना हुने गरेको बेला जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावितको उद्धारको काम अन्तिम चरणमा पुगेको बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री एवम रक्षामन्त्री पूर्ण बहादुर खड्का आफै प्रभावित स्थल जाजरकोट आएर उद्धार र राहतको कमी हुन नदिने बताउनुभएको थियो । जसअन्तरगत भुकम्प प्रभावितहरुको उद्धार करिब अन्तिम चरणमा पुगेको हो ।
यस्तै, प्रभावितहरुलाई स्थानीय, प्रदेश र केन्द्र सरकारले राहत सामग्रीको पनि कमी हुन दिएका छैनन् । कर्णालीका गाउँपालिका र नगरपालिकासँगै कर्णाली प्रदेश सरकार र अन्य प्रदेश सरकारहरुले समेत राहत सामग्रीहरु ल्याएर वितरण गरेका छन् । भने अन्य विभिन्न संघ संस्थाहरुले समेत राहत सामग्रीहरु वितरण गरेको जनाइएको छ ।