जाजरकोट । जाजरकोट जिल्लाको नलगाड नगरपालिकामा वडा नम्बर १ को चिउरी गाउँको चोचे टोल कात्तिक १७ गते राती आएको भुकम्पले ध्वस्त भएको छ । अधिकांस दलित समुदाय रहेको यो वस्तीमा जम्मा १८६ घरधुरी रहेका छन् । तिमध्य अधिकांस घर पूर्ण रुपमा र केही घर आशिंक रुपमा क्षती भएपछि गाउँ चोचे टोलका सबै नागरिक घरबारबिहीन भएका हुन् । खलंगाबाट डेढ घण्टाको दुरीमा रहेको यो गाउँका अधिकांसका घरहरु पूर्ण रुपमा क्षती भएका छन् भने अन्य घरहरु पनि बस्न नमिल्नेगरी चिराचिरा परेका छन् ।
यहाँका सबै घर ध्वस्त भइसकेका छन् । पिडित अविलाल विकले भन्नुभयो, “हाम्रो यो गाउँमा अधिकांस दलित समुदाय बस्दै आएका थियौं, बर्षामा समेत पहिरोले जोखिम पारेको हाम्रो टोललाई अस्ती आएको भुकम्पले स्वाहा बनायो ।”
अहिले यो टोलका ७ सय जना व्यक्तीहरु घरबारबिहीन भएको विक बताउनुहुन्छ । उहा भन्नुहुन्छ, “हामी घरबारबिहीन भयौँ आफन्त गुमायौँ, खानेकुराहरु घरमै पुरियो, लाउने कपडाहरु पनि पुरियो, अस्तीदेखि भोकभोकै छौँ । केटाकेटी चिसोले हैरान भइसके ।”
उहाजस्तै चोचे गाउँका सबै व्यक्तीहरुको पिडा त्यस्तै छ । उनिहरुले अब आफन्त गुमाएपनि बाँचेकाहरुको लागि गास, बासको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् ।
चिउरी गाउँको चोचे टोलमा मात्रै १४ जना मृत्यु
यो टोलमा भुकम्पमा परि १४ जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । मृत्यु हुनेमा ५ जना बालबालिका छन् भने ७ जना २० बर्ष माथीका छन भने अन्य दुइजना जेष्ठ नागरिक रहेको प्रहरीले बताएको छ । १३ जनाको भुकम्पमा परि घटना स्थलमै मृत्यु भएको थियो भने एकजनाको उपचारको क्रममा नेपालगञ्जमा निधन भएको थियो । मृत्यु भएका अधिकांस व्यक्तीहरु भारतमा रोजगारीका लागि गएका थिए । उनिहरु तिहार मनाउन भन्दै घर फर्किएको भएपनि उनिहरुले तिहार मनाउन नपाएरै मृत्यु हुनु पर्यो ।
हिरा चंदाराका भदै तिहार मनाउनको लागि भारतबाट घर आउनुभएको थियो । चाडबाडमा रमाइलो र खुशी मनाउन गाउँ फर्किएका चंदाराका भदैको भुकम्पमा परि मृत्यु भयो । चंदाराले भावु बन्दै भन्नुभयो, “चाडबाड मनाउने भनेर खुशी हुँदै घर आएको थियो । तर उसको खुशी एकदिन मात्रै रह्यो के गर्नु दैबको लिला रहेछ । उसले सधैका लागि छोडेर गयो । तर पिडा भने हामीसँग रह्यो ।”
चंदराको भदैजस्तै अन्य व्यक्तीहरु पनि त्यसैगरी खुशी भएर चाडबाडमा भारतबाट घर आएका थिए । तर भुकम्पमा परेर मृत्यु भएपछि गाउँ खुशी र हासोबाट आशुमा परिणत बनेको छ ।
केही घरका त परिवारका सबै सदस्यको मृत्यु भएको छ । भिउसन कुमाईंको ४ जनाको परिवारको भुकम्पमा परेर मृत्यु भएको छ ।
भुकम्पमा परि मृत्यु भएका यो गाउँका १३ जनाको दाहासंस्कार हुन समेत ढिलाई भएको थियो । उनिहरुलाई निकाल्न नै समय लागेपछि उनिहरु दाहासंस्कार आज आइतबार गरिएको छ । यो गाउँमा रहेको पिडितहरुलाई राहात र पुनस्थापनाको कामको लागि कुनै कसर बाँकी नराख्ने कर्णाली प्रदेश सरकारले प्रतिवद्धता जनाएको छ ।
चिउरी गाउँकाे चाेचे टाेलकाे अवस्था हेर्नुहाेस् फाेटाे फिचर