जाजरकाेट । रुकुम पश्चिम आठबिस नगरपालिका वडा नम्बर १४ छेपारेका मिना विकको ४ जनाको परिवार घरको दुइवटा कोठामा सुतीरहेको थियो । मिनाका बुढाबुढी मोवाइलमा फिल्म हेर्दै थिए । रातको ११ बजेको थियो । अरु दिनमा अलि चाँडै सुत्ने उहाँहरु कात्तिक १७ गते भने फिल्म हेरेरै बस्नुभएको थियो । उहाँको १० बर्षको कान्छो छोरा मिनासँगै सुतेका थिए भने मिनाको ठुलो छोरा भने अर्को कोठामा सुतेका थिए । छोराहरु निदाइसकेका थिए । मिनाका बुढाबुढी भने निदाई सकेका थिएनन् । त्यसपछि घर थर्किएको आवाज आयो । केभो भन्दाभन्दै एकैछिनमा घर भत्किन थाल्यो । गाउँमा चिच्यावट आवाज आउन थाल्यो । एकैछिनमा उनिहरु सबैजना परिवार घर भत्किएर पुरिए । मिनाको टाउको भने घरको दलिनको तल पर्न गयो । जसले गर्दा उहालाई टाउकोमा चोट लाग्न पाएन ।
मिना भन्नुहुन्छ, “सबैजना घरभित्रै पुरिएछौँ । अनि मैले बचाऊ बचाऊ भने चिच्याए । अनि उतापट्टी जेठाजु दाइले सुन्नुभएछ । हाम्रोतिर भाइ बुहारीलाई छुनुहुन्न भन्छन । तापनी जेठाजु दाइने मेरो टाउको बाहिर निकालिदिनुभयो, अनि दुइवटा छोराहरु र बुढा पनि पुरिएको ठाउँतिर जेठाजु दाइलाई देखाएँ, अनि खोदलेर निकालिदिनुभयो । ठुलो छोरालाई त धेरै चोट लागेको रहेन्छ । तर कान्छो छोरा र मेरो श्रीमान त बेहोस् अवस्थामा हुनुहुन्थ्यो ।”
दुइ घण्टापछि छोराको होस आएको मिना बताउनुहुन्छ । सानो छोराको होस् दुइ घण्टापछि खुल्यो, मेरो त सात्तो उडेको थियो । उहाले भन्नुभयो, “श्रीमानको होस नखुलेपछि अस्पताल पठायौँ । अहिले उहाको अवस्था राम्रै छ ।”
आफ्नो घरमा मात्रै त्यस्तो समस्या होकी भनेर सोचेको भन्दै मिनाले गाउँभर नै त्यस्तै समस्या भएको देखेपछि प्रहरीलाई बोलाएर पुरिएकाहरुलाई निकालिएको बताउनुभयो । धेरैजसोलाई जीवितै निकालियो, केही व्यक्तीको भने मृत्यु भइसकेको रहेछ । उहाले भन्नुभयो ।
अहिले आफुहरु घरबारबिहीन भएको भन्दै खुल्ला आकाशमा बस्न बाध्य भएको मिना बताउनुहुन्छ । राहातको सामान र लुगलत्ता आएको समाचार सुनेको बताउँदै उहाले आफुहरुसम्म अहिलेसम्म केही नआएको दुखेसो गर्नुभयो ।
उहाजस्तै, मिनाजस्तै रुकुम आठबिसकोट १४ छेपारेकै पहल बहादुर विकले आफुहरु भाग्यले बाँच्न सफल भएको भन्दै आफ्नै गाउँका केही भाइबहिनीहरुलाई बचाउन नसकिएको बताउनुहुन्छ । हामी त कसो गर्दा बाच्न सकेका छौँ । उहाले भननुभयो, “हामी बाँचेकाहरुले गाउँभर चिच्यावट आएपछि सबै घरमा पुग्यौ पुरिएका धेरैलाई निकाल्यौँ । तर केहीलाई बचाउन सकिएन । धेरै सुतेकाहरु पुरिए, कसैका खुट्टा भाचिएका छन्, कसैका हात भाचिएका छन । कति दाजुभाइ दिदीबहिनी हामीलाई छोडेर सधैका लागि जानुभयो ।”
छेपारे टोलमा ३९ घर भएको भन्दै कुनै घर पनि बस्न लायक नभएको विकको भनाई छ । “अहिले हामी सबै बाहिर बसेका छौँ । “चिसोमा बालबालिका, गर्भवती महिलाहरु काठ्ठिएका छन्, नत ओड्ने कपडा छ, नत खाने गास ।” विक भन्नुहुन्छ, “हामीलाई अहिलेसम्म कसैले केही सहयोग गरेको छैन् । हिजो एउटा संस्थाबाट आएर चाउचाउ दिएर जानुभयो, त्योभन्दा अरु केही सहयोग मिलेको छैन् ।”
अहिले साना बालबालिका, गर्भवती महिला, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तीहरुलाई साह्रै समस्या भएको भन्दै सरकारले यतातर्फ ध्यान दिनुपर्ने उहाको भनाई छ ।
छेपारेकै मान बहादुर मल्ल परिवार ठुलो बर्जपात परेको छ । ६ जनाको परिवार सुतिरहेको थियो । भुकम्प आएसँगै घर पूर्ण रुपमा भत्कियो । सबैजना सँगै घरसँगै पुरिए । ५ गाउँले र उद्धारकर्मी आएर सबैलाई बाहिर नीकाले । तर ५ जना बाँच्न सफल भए । तर मान बहादुर छोरी ज्यान गयो । मान बहादुरले आँखाभरी आशु बनाउँदै भन्नुभयो, “घर त सबै गयो, घर फेरी बनाउन सकिन्छ । तर १२ बर्षसम्म हुर्काएकी एक्ली छोरीले छोडेर गई । कति टाउकोमा घरको दारले लागेको रहेछ । कति चोट लाग्यो होला ? भक्कानो छुटेर आउछ ।” छोरा पनि घाइते हुनुहुन्छ । उहाको अहिले सुर्खेतमा उपचार भइरहेको छ ।
उहाले आफुलाई जिवनभर पिडाको घाउ निको नहुने भन्दै अब बाँकी रहेका परिवारलाई कसरी पालनपोषण गर्ने काहाँ राख्ने भन्ने चिन्ता रहेको बताउनुहुन्छ । “मलाई त जीवनको लागि नै चोट दिएर छोरी छोडेर गइसकी । मलाई भुकम्पमा पर्दा लागेको चोटलेभन्दा छोरीको मृत्युको चोटले पिडित बनाएको छ । अब बाँचेका हामी काँहा गएर बसौँ, के खाउँ ?” उहाले भन्नुभयो ।
आठबिसकोट नगरपालिका वडा नम्बर १४ छेपारेकी हिरा विक दाईको माइतीमा आउनुभएको थियो । उहाको घर पनि पूर्ण रुपमा क्षती भइसके छ । तर मानविय क्षती भने हुन पाएन । यता माइतिमा रहँदा घर भत्कियो, भदै घरले च्यापिए छन् । सबैको ध्यान अरु अरुतर्फ भयो । भदै बोल्न नसक्ने अवस्थामा च्यापिएका रहेछन् । हिराले भन्नुभयो, “फुपु फुपु भन्ने सुनेँ । म आत्तिएर घर भत्किएको छेउतिर गए, भदै च्यापिएको रहेछ । अनि कुटोले माटो खोदलेर निकालेँ । अहिले घाइते अवस्थामा छ ।”
उहाले अब आफुहरुलाई राहात र पुनःस्थापना गरिदिनुपर्ने भन्दै तत्कालको लागि खानको व्यवस्था गरिदिन माग गर्नुभयो । रुकुमको आठबिसकोट नगरपालिका वडा नम्बर १४ को छेपारे गाउँमा ३९ घर छन् । अधिकांस घरहरु पूर्ण रुपमा भत्किएका छन् भने नभत्किएका घर पनि बस्न मिल्ने अवस्थामा छैनन् । भुकम्पमा परि छेपारे गाउँमा मात्रै ११ जनाको मृत्यु भएको छ ।
छेपारे गाउँजस्तै जाजरकोट र रुकुम पश्चिमका सबै गाउँहरुको पिडा अहिले यस्तै छ । सरकारले र विभिन्न दाताबाट राहत सहयोग पनि आइरहेको छ । तर पिडितसम्म राहत पुर्याउन ढिलाई भइरहेको छ । यता सरकारले भने सबै संयन्त्र भुकम्प प्रभावित क्षेत्रमा केन्द्रीत गरेको जनाएको छ ।
भुकम्प पिडित भन्छनः घरभित्र पुरिएर पनि भाग्यले बाँच्यौँ, अब खाने बस्ने ठाउँ छैन
भुकम्प पिडित भन्छनः घरभित्र पुरिएर पनि भाग्यले बाँच्यौँ, अब खाने बस्ने ठाउँ छैन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु