जाजरकोट । कर्णाली प्रदेश सरकारले आफ्ना सबै संयन्त्रहरु भुकम्प प्रभावित क्षेत्रमा केन्द्रीत गरेको छ । प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आज जाजरकोटको अति प्रभावित नगरपालिका नलगाड र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भुकम्प पिडितहरुलाई राहत वितरण गरेको हो ।
प्रदेश सरकारले निरन्तर भूकम्पपीडितलाई विभिन्न राहत तथा उद्धारका कार्यहरु गरिरहेको समयमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण कुमार विसी नै राहत वितरणको लागि प्रभावित क्षेत्र पुग्नुभएको हो । मन्त्रीसहित मन्त्रालयका कर्मचारीहरु समेत त्यहाँ पुगेर राहत वितरण गरिएको मन्त्रालयका सचिव डाक्टर विनोद देवकोटाले बताउनुभयो ।
उहाँका अनुसार मन्त्रालयका कर्मचारीहरु, पदाधिकारीहरुको एक दिन बराबरको तलब काटिने गरि ती दुई पालिकामा त्रिपाल र न्यानो व्लाङ्केट वितरण गरिएको छ ।
“कर्णाली प्रदेशका अति प्रभावित यी दुई पालिकामा पीडितहरुले न्यानो कपडा नपाएको गुनासो आएको थियो”, सचिव डाक्टर देवकोटाले भन्नुभयो, “त्यहाँका केहि नागरिकलाई राहत दिने भनेर करिब तीन लाख बराबरका त्रिपाल र व्ल्यांकेट वितरण गरेका हौं ।”
उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण विसिले भूकम्पले नागरिकको जीवन अस्तव्यस्त बनाएको बताउनुभयो ।
भूकम्प पश्चात पहिलोपटक प्रभावित क्षेत्रमा राहत वितरण तथा अनुगमन गर्न प्रभावित क्षेत्रमा जानुभएका मन्त्री विसिले बढदो जाडो र बारम्बार आउने भूकम्पको धक्काले नागरिकलाई थप त्रसित बनाएको भन्दै सहयोगको लागि सबै नीकायसँग अनुरोध गर्नुभयो ।
नागरिकको उद्धार देखि उपचार हुँदै राहत व्यवस्थापनमा सरकार गम्भीर रुपले लागिपरेको छ । नागरिकका थप पीडा, समस्या र अभावहरुका बारेमा थप जानकारी लिने र सरकारको कार्यलाई थप प्रभावकारी बनाउन हामी यहाँ आएका हौं, मन्त्री विसीले भन्नुभयो ।
मन्त्री विसिले जनताको नजिकको सरकार प्रदेश सरकार भएको बताउँदै पीडित जनताको ज्यूधनको रक्षा गर्न सरकार निरन्तर लागिरहेको बताउनुभयो ।
उहाले अन्य नीकायलाई पनि भुकम्प प्रभावितहरुलाई राहत र पुनस्थापना सरकारलाई सघाउन आग्रह समेत गर्नुभयो ।

