सुर्खेत । जाजरकोट भुकम्पका कारण करिब ३० हजार गर्भवती, सुत्केरी र बालबालिका प्रभावित भएका छन् ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य निर्देशानालयका अनुसार सुत्केरी, गर्भवती र पाँच बर्षमुनीका बालबालिका गरी २९ हजार ९ सय ८२ जना प्रभावित भएका हुन् ।
जम्मा जनसंख्याको २२ प्रतिशत सत्केरी, गर्भवती र पाँच बर्षमुनीका बालबालिका प्रभावित भएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार भुकम्पका कारण पाँच बर्ष मुनीका मात्रै १९ हजार २ सय ९६ बालबालिका प्रभावित भएका छन् भने पाँच हजार ३ सय ४३ जना स्तनपान गराइरहेका गर्भवती महिला प्रभावित भएका छन् ।
त्यसैगरी, ३ हजार ३ सय १७ जना गर्भवती भहिला प्रभावित हुँदा २ हजार २६ जना स्तनपान गराइरहेका महिलाहरु प्रभावित भएको तथ्याङ्कमा जनाइएको छ ।
कात्तिक १७ गते राती आएको भुकम्पले जाजरकोट र रुकुम पश्चिममा धेरै नागरिकहरु प्रभावित भएका छन् । गर्भवती, सुत्केरी र पाँच बर्ष मुनीका बालबालिका झनै समस्यामा परेको डाक्टर खड्काले बताउनुभयो ।
४८ वटा स्वास्थ्य संस्थामा क्षती
भुकम्पका कारण जाजरकोट, रुकुम पश्चिममा र सल्यानमा गरी ४८ स्वास्थ्य संस्थाहरुमा क्षती पुगेको छ ।
सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार सबैभन्दा धेरै क्षती रुकुम पश्चिममा भएको छ । रुकुम पश्चिममा रहेका एक सय ११ स्वास्थ्य संस्थाहरुमध्य २४ वटामा क्षती पुगेको छ ।
जस अन्तरगत दुइवटा पूर्ण रुपमा र २२ वटा आशिंक रुपमा क्षती पुगेको निर्देशक डाक्टर खड्काले बताउनुभयो ।
यस्तै, जाजरकोटमा १ सय ३३ स्वास्थ्य संस्थाहरुमध्य १८ वटा क्षती भएका छन् । ६ वटा पूर्ण रुपमा ध्वस्त भएका छन् भने १२ वटा आशिंक रुपमा क्षती पुगेको छ ।
यता, सल्यानका एक सय ५५ वटा स्वास्थ्य संस्थामध्य तिनवटा पूर्ण र तिनवटा आशिंक रुपमा क्षती भएको उहाले जानकारी दिनुभयो । उहाका अनुसार सबैभन्दा बढी स्वास्थ्य चौकीहरु ध्वस्त भएको छ ।
मृत्यु हुनेमा बालबालिका धेरै
स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्कअनुसार भुकम्पमा परि मृत्यु हुनेमा बालबालिका धेरै रहेका छन् । १८ बर्षभन्दा मुनी उमेर समुहका ९५ जना बालबालिकाले भुकम्पमा परि ज्यान गुमाउनुपरेको हो ।
अध्यावधिक विवरण अनुसार पाँच बर्ष मुनीका मात्रै २४ जना बालबालिकाको मृत्यु भएको छ ति मध्य १४ जना बालक छन् भने १० जना बालिका रहेका छन् ।
१८ बर्ष मुनीका र पाँच बर्ष माथीका ७१ जनाको मृत्यु भएको तथ्याङ्कमा जनाइएको छ । तिमध्य ३७ जना पुरुष र ३४ महिला रहेको निर्देशक डाक्टर खड्काले बताउनुभयो । मृत्यु भएका अन्य ५८ जना १८ बर्ष माथीका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस क्षेत्रमा विभिन्न प्रकोप फैलिन सक्नेतर्फ आफुहरु सचेत रहेको भन्दै सम्भव भएसम्म स्वास्थ्य सेवा सुचारु गरिएको निर्देशक खड्काले बताउनुभयो ।
पानीजन्य रोगहरु लाग्न नदिन भुकम्प प्रभावित क्षेत्रमा पानीको शुद्धता परिक्षण समेत शुरु गरिएको भन्दै उहाले त्यहाँ स्वास्थ्यकर्मीहरु समेत खटाइएको जानकारी दिनुभयो ।–––
जाजरकोट भुकम्पका कारण करिब ३० हजार गर्भवती, सुत्केरी र बालबालिका प्रभावित
जाजरकोट भुकम्पका कारण करिब ३० हजार गर्भवती, सुत्केरी र बालबालिका प्रभावित

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु