जाजरकोट । त्रिपालमा बस्दै आएका जाजरकोटका एक भूकम्प पीडितको चिसोका कारण ज्यान गएको छ ।
बारेकोट गाउँपालिका–७ सुवाकोटका ६५ वर्षीय हरियो दमाइको मंगलबार ज्यान गएको वडाध्यक्ष विशाल किरण बस्नेतले बताउनुभयो ।
दुई वर्षअघि प्यारालाईसिस भएर थलिएका उहा भूकम्प घरमा क्षति पु¥याएपछि त्रिपालमा बस्दै आउनुभएको थियो । एक सातादेखि ज्वरो आउने र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएका उहाको मृत्यु भएको वडाध्यक्ष बस्नेतले बताउनुभयो ।
उपचारका लागि स्वास्थ्य संस्था लैजाने तयारी गर्दै गर्दा उहाको ज्यान गएको बस्नेतले बताउनुभयो ।
उहाको मृत्युसँगै चिसोबाट ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । चिसोले वृद्धवृद्धा, दीर्घरोगी, सुत्केरी, गर्भवती र बालबालिका बढी प्रभावित भएका छन् ।
गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुममा गरी एक सय ५४ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका महामारी फोकल व्यक्ति कृष्णबहादुर खत्रीका अनुसार जिल्लाभर ५ वर्षमुनिका १२ हजार ४ सय ४ बालबालिका प्रभावित छन् ।
यस्तै एक हजार ८ सय ८३ जना गर्भवती भूकम्पबाट प्रभावित भएका छन् भने एक हजार ७६ सुत्केरी प्रत्यक्ष प्रभावित भएका छन् ।
त्यस्तै ६ हजार २६ जेष्ठ नागरिक (७० वर्ष माथिका), एक हजार ८ सय ३२ दीर्घरोगी र ८ सय ५० अपांग गरी २२ हजार २ सय ६ जना प्रत्यक्ष प्रभावित भएका छन् ।
रुकुम पश्चिममा ५ वर्षमुनिका बालबालिका ५ हजार ५ सय ६७ जना प्रभावित भएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
गर्भवती १ हजार ६८ जना, सुत्केरी ७ सय ३९ जना भूकम्पका कारण प्रभावित भएको कार्यालयका सूचना अधिकारी कालीबहादुर वलीले बताउनुभयो ।
उहाका अनुसार जिल्लाभर ३ हजार ७ सय ८१ जना ज्येष्ठ नागरिक भूकम्पबाट प्रभावित भएका छन् । ५ सय ९६ दीर्घरोगी र ५ सय १६ अपांगता भएका पनि समस्यामा छन् ।
जाजरकोट भुकम्पः चिसोले थप एक जनाको मृत्यु, मृतकको संख्या १६ पुग्यो
जाजरकोट भुकम्पः चिसोले थप एक जनाको मृत्यु, मृतकको संख्या १६ पुग्यो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
