जाजरकोट । अर्थ मन्त्रालयले सहमति नदिँदा बोलपत्र भइसकेका सडक आयोजना अझै अगाडि बढ्न सकेका छैनन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमति लिएर बोलपत्र आह्वान गरिसकेका आयोजनाका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगरिदिँदा काम अगाडि बढ्न नसकेको हो ।
जाजरकोटको भेरी नगरपालिका–४ बोहरादेखि काफलचौर गाउँहुँदै बहुप्राविधिक शिक्षालय जोड्ने सडक र पश्चिम जाजरकोटको छेडा–चाँदे हुँदै जुम्ला जोड्ने सडकखण्डका लागि चौरजहारीस्थित सडक डिभिजन कार्यालयले बोलपत्र आह्वान गरे पनि बजेटको अभावमा काम रोकिएको छ ।
अर्थ मन्त्रालयले बजेट पठाउने आशाका साथ बोलपत्र गरिए पनि अहिले बजेट नपठाउँदा समस्या भएको उक्त कार्यालयले जनाएको छ ।
कालोपत्रका लागि मागिएको बजेट स्वीकृत नहुँदा दुई वटा सडक अलपत्र परेका हुन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहातको सडक डिभिजनले बोलपत्र गरेर पनि लामो समयसम्म बजेट स्वीकृत नगर्दा आफूहरु समस्यमा परेको उक्त कार्यालयले जनाएको छ ।
सडक निर्माण नहुँदा बहुप्राविधिक शिक्षालय तथा काफलचौर जाने विद्यार्थी तथा स्थानीय बासिन्दा हैरान भएका छन् ।
मध्यपहाडी लोकमार्गको नजिक तथा भेरी करिडोरका बीचमा रहे पनि यस अप्ठ्यारो सडकमा हिउँद याममा बाक्लै आवतजावत हुने गरेको छ ।
वर्षायाममा सबै सडक भत्किने भएकाले हैरान हुने गरेको काफलचौरका हुमबहादुर शाहीले बताउनुभयो ।
पश्चिम जाजरकोटको महत्त्वपूर्ण सडक कालोपत्र गर्न अर्थ मन्त्रालयले बजेट नदिँदा काम रोकिएको छ । लामो समयदेखि धुलाम्मे सडकमा यात्रा गर्दा आफूहरु हैरान भएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले गुनासो गर्नुभयो ।
यो काम सङ्घीय सरकारको मातहतमा रहेर सडक डिभिजनले काम गर्दै आएको छ ।
ठाउँठाउँमा पुल निर्माण गर्नुपर्ने भए पनि हालसम्म मुस्किलले मोर्कमा एउटा मात्र पुल निर्माण भएको छ अन्य कुनै पनि ठाउँमा पुल निर्माण नभएको उनले बताउनुभयो ।
