जाजरकोट । गास र बासको उचित व्यवस्था नहुँदा भूकम्पपीडित समस्यामा परेका छन् ।
चिसोले सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी समस्यामा परेका छन् । अस्थायी आवास निर्माणका लागि पालिकाबाट रकम निकासा गर्न ढिलाइ हुँदा भूकम्पपीडित त्रिपालमा बस्न बाध्य छन् ।
त्रिपालमा बस्दै आएकी जाजरकोट कुशे गाउँपालिका–९ चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको अत्यधिक चिसोका कारण मृत्यु भएको छ ।
मङ्सिर १७ गते सुत्केरी भएकी कल्पना बिरामी भएको भन्दै कल्पनाका श्रीमान गोपे सुनारले सुत्केरी भएदेखि नै बिरामी भएको भन्दै बचाउन नसकिएको दुखेसो गर्नुभयो ।
स्वास्थ्य संस्थामा पनि राम्रोसँग उपचार नहुने गरेको उहाले गुनासो गर्नुभयो । चिसोले जाजरकोटमा तीन बालबालिकासहित ३० जनाको ज्यान गइसकेको छ भने रुकुमपश्चिममा पाँच जना भूकम्पपीडितको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा धेरैजसो निमोनिया र दमका रोगी भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
चिसोले श्वासप्रश्वास, निमोनिया, पखाला र दमका बिरामी बढेका छन् । नलगाड, बारेकोट, भेरी, जुनीचाँदे, छेडागाड, शिवालय र कुशे गाउँपालिकामा बिरामीको सङ्ख्या बढेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
नगर अस्पताल दल्लीमा कार्यरत डा विशाल उप्रेती बिदामा बसेका र बिरामीको चाप बढ्दै गएपछि जिल्ला अस्पतालबाट डा अविनव टिङ्करीलाई पठाइएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा प्रतीक्षा भारतीले बताउनुभयो ।
यता, जाजरकोट भूकम्पले क्षति पुर्याएको रुकुमपश्चिममा करिब २० हजार लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् ।
छवटै स्थायीय तहमा गरेर हालसम्म १९ हजार सात सय १७ लाभग्राहीले पहिलो किस्ताबापतको रु २५ हजारका दरले रकम प्राप्त गरेका हुन् ।
जिल्ला विपद् व्यवस्थापन कोषबाट २३ हजार छ सय आठ लाभग्राहीका लागि पहिलो किस्ताबापतको रकम पठाइए पनि स्थायीय विपद् न्यूनीकरण कोषबाट १९ हजार सात सय १७ लाभग्राहीले रकम प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले बताउनुभयो ।
उहाका अनुसार हालसम्म सबैभन्दा बढी आठबिसकोट नगरपालिकामा सात हजार लाभग्राहीले रकम प्राप्त गर्दा बाँफीकोट गाउँपालिकामा भने प्रमुख प्रशासकीय अधिकृत नहुँदा कुनै पनि लाभग्राहीले पहिलो किस्ता प्राप्त गर्न सकेका छैनन् ।
त्यस्तै चौरजहारी नगरपालिकामा पाँच हजार नौ सय ३८, मुसिकोट नगरपालिकामा दुई सय ११, सानीभेरी गाउँपालिकामा चार हजार चार सय ९९ र त्रिवेणी गाउँपालिकाका दुई हजार ६९ लाभग्राहीले पहिलो किस्ताबापतको रु २५ हजारका दरले रु ४९ करोड २९ लाख २५ हजार पाप्त गरेका छन् ।
जिल्ला विपद् व्यवस्थापन कोषबाट भने ५९ करोड दुई लाख रकम स्थानीय विपद् जोखिम न्यूनीकरण कोषमा पठाइएको छ ।
गास र बासको उचित व्यवस्था नहुँदा भूकम्पपीडित समस्यामा
गास र बासको उचित व्यवस्था नहुँदा भूकम्पपीडित समस्यामा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
