सुर्खेत । सुर्खेत विमानस्थल विस्तार गर्न सबै सरोकारवाला एक मत भएका छन् ।
वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा बसेको सर्बपक्षीय बैठकले विभिन्न ६ बुँदे निर्णय गर्दै विमानस्थल विस्तार गर्ने बताएको हो ।
हाल सञ्चालन भइरहेको हवाई सेवालाई सुरक्षित तथा भरपर्दो बनाउन संघीय सरकार सँग माग गर्ने निर्णय गरेको छ ।
विमानस्थल विस्तार गर्दा अधिग्रहण गरिने जग्गा र भौतिक संरचनाको चलनचल्तीको मूल्यमा स्थानीयवासीलाई उचित मुआब्जा उपलब्ध गराउने अमर ज्योती नमुना माध्यमिक विद्यालयलाई उपयुक्त स्थानमा तत्काल स्थानान्तरण गर्न योजना र कार्यक्रम सहित पहलकदमी लिन प्रदेश सरकारसँग सम्झौता गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख मोहनमाया ढकालले कर्णाली प्रदेशको राजधानीको विमानस्थलबाट अन्य ठाउँमा उडान भइरहने भएकाले पनि यो विमान स्थल विस्तार हुन आवश्यक देखिएको बताउनुभयो । उहाले नियमित हवाई सेवा सञ्चालन गर्न संघीय सरकार सँग माग गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
सर्वपक्षीय वैठकबाट गरिएका निर्णयहरु कार्यपालिकाको बैठक मार्फत कार्यान्वयनका लागि अगाडी वढाउन सम्वन्धित निकायमा अनुरोध गरिने प्रमुख ढकालको भनाई छ ।
धावनमार्ग विस्तार सरोकावाला एकमत
सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार गर्न निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज एकमत भएका छन् ।
विमानस्थल धावनमार्ग विस्तारको च्याप्टर सकिएको भन्दै विभिन्न टिकाटिप्पणी भइरहेका बेला नगरपालिकाले सर्वपक्षीय र सर्वदलीय बैठकको आव्हान गरेको हो ।
बैठकमा सहभागी विभिन्न सरोकारवाला स्थानीय सरकारका जनप्रतिनिधि र संघीय तथा प्रदेशसभाका जनप्रतिनिधिहरु, राजनीतिक दल, निजी क्षेत्र, नागरिक अगुवा सवैले धावनमार्ग विस्तारको काम अविलम्ब सुरु गर्न एकताबद्ध भएर अगाडी बढ्ने बताएका छन् ।
नागरिक अगुवा पीताम्बर ढकालले सुर्खेत विमानस्थलमा धेरै लगानी लागिसकेको हुँदा अव अन्तिम पटक उत्तरतर्फ धानवमार्ग विस्तार गर्ने काममा ढिलो नगर्न सुझाव दिनुभयो ।
अमरज्योति माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्णप्रसाद पौडेलले प्रभावित बासिन्दाहरुलाई न्यायोचित क्षतिपूर्ति र विमानस्थल पायक पर्ने स्थलमा स्थानान्तरण गरी निर्माण गरिदिएमा धावनमार्ग विस्तार सम्भव भएको बताउनुभयो ।
अमरज्योति माविका प्रधानाध्यापक खगेन्द्र थापाले विद्यालय कहिल्यैपनि विमानस्थल विस्तारको बाधक नभएको बताउनुभयो ।
उहाँले उपयुक्त स्थानमा जग्गा र भवन बनाइदिएमा विमानस्थल विस्तार गर्न सकिने उल्लेख गर्नुभयो ।
यस्तै वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान प्रमुख देवकुमार सुवेदीले आफू विमास्थल धावनमार्गको सँधै पक्षमा रहेको बताउनुभयो ।
उहाँले आफू नगर प्रमुख हुँदा धावनमार्ग विस्तार नहुने देखिएपछि प्रभावितहरुको आग्रह अनुसार नगरपालिकाले विस्तारको फाइल क्लोज गर्नुपरेको प्रष्ट्याउनुभयो ।
नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले विगतमा तीन तहका सरकारले विमानस्थल धावनमार्ग विस्तारको मुद्धालाई प्राथमिकतामा नपरेको बताउनुभयो।
सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले प्रदेशको समृद्धि र विकासमा राजनीति इगो नराख्न आग्रह गर्नुभयो ।
यस्तै प्रदेशसभाका सदस्य जानकी सिहँले सुर्खेतको विमानस्थल संगै कर्णालीको विकासको लागी सबैं राजनितिक मिल्नुपर्नेमा जोडदिनुभयो ।
पूर्वमन्त्री एवं कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेलले धावनमार्ग विस्तारलाई साझा बनाएर अगाडि बढिएको बताउनुभयो ।
उहाँले सुर्खेत विमानस्थललाई नाफाको विमानस्थल बनाउनका लागि सवैवीच एकता हुनुपर्नेमा जोड दिनुभयो ।
यस्तै प्रतिनिधिसभा सदस्य हृदयराम थानीले सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारमा आफू विगतदेखि अहिलेसम्म पनि लागिरहेको बताउनुभयो ।
उहाँले कर्णालीलाई हेर्न लायक बनाउने हो भने सबै भन्दा पहिले विमानस्थलको धामनमार्ग विस्तार गर्नुर आवश्यक रहेको उल्लेख गर्दै सवैलाई एकैठाउँमा आउन पनि उहाँले आव्हान गर्नुभयो ।
सासंद थानीले अरु विमानस्थल बनाउने कुरामा पनि सहमत हुन तयार रहेको उल्लेख गर्नुभयो ।

