सुर्खेत । क्रान्तिकारी (माओवादी) क्रान्तिकारी युवा संगठन, नेपालले देश राजनितिक, आर्थिक, सामाजिक, सांस्कृतिक समस्याहरूको चङ्गुलमा फसेको भन्दै यसको समाधान खोज्न सरकारसँग माग गरेको छ ।
संगठनले आज सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरि देशको अर्थतन्त्र समस्यामा रहेको भन्दै युवा जनशक्ति विदेश पलायन हुने सङ्ख्या डरलाग्दो गरी बढेको भन्दै यो समस्या समाधानको लागि सरकारसँग माग गरेको हो । संगठनले २० बँुदे माग अगाडी सारेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिएको छ ।
सबै तहका जनप्रतिनिधिहरूको सम्पूर्ण प्रकारको तलब भत्ता तत्काल खारेज गरिनुपर्ने, २०४६÷०४७ सालपछिका सुरक्षा प्रमुख, संस्थान प्रमुख, संवैधानिक आयोग प्रमुख, प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री, मुख्यमन्त्री, सभामुख, गभर्नर, मुख्यसचिव, सचिव लगायत सम्पूर्ण उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गरी सार्वजनिक गरिनुपर्ने माग गरिएको छ ।
त्यसैगरी स्वास्थ्य क्षेत्रमाथिको व्यापारीकरण बन्द गरिनुपर्ने, पहिलो चरणमा ५० वर्षमाथिका सबै नागरिकहरूको निःशुल्कउपचारको घोषणा गरिनुपर्ने, शिक्षामा निजीकरण र व्यापारीकरण बन्द गरी समान शिक्षा प्रणाली लागू गरिनुपर्ने, सरकारी कर्मचारी र जनप्रतिनिधिहरूको लगानी भएका विद्यालय तत्काल बन्द गरिनुपर्ने माग युवा संगठनले गरेको छ ।
यस्तै, बैंकिङ प्रणालीको वैज्ञानिक व्यवस्थापन गरिनुपर्ने, मिटरब्याजीहरूलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गरिनुपर्ने, सहकारीको संकट र लघुवित्तले सृजना गरेको समस्या तत्काल समाधान गरिनुपर्ने, सार्वजनिक सम्पत्तिमाथि भइरहेको अनियमितता तत्काल बन्द गरिनुपर्ने, सम्पूर्ण कृषिजन्य आयात बन्द गरि कृषिजन्य बस्तुमा आत्मनिर्भर घोषणा गरी उत्पादन र व्यवस्थापन निती निर्माण गरिनुपर्ने लगायतका माग गरिएको छ ।
सुन तस्करीको छानविन गर्न तत्काल नागरिक स्तरबाट स्वतन्त्र छानबिन समिति बनाई अनुसन्धान गरिनुपर्ने, सम्पूर्ण निकायमा भएका राजनीतिक नियुक्ति तथा करार नियुक्तिहरु तत्काल खारेज गरिनुपर्ने लगायतका माग गरिएको छ ।
देश, जनता र राष्ट्रियताका सवालमा आफ्नो सङ्गठन गम्भीर रहेको भन्दै जनजीविकाका सवालमा प्रत्यक्ष जोडिएका मागहरूप्रति सरकार जिम्मेवार बनेर दश दिनभित्र पुरा गर्नुपर्ने अल्टिमेटम सरकारलाई दिइएको छ ।
यदी सरकारले आफुहरुका माग पुरा नगरे जनसङ्घर्षमा होमिन बाध्य हुने क्रान्तिकारी युवा संगठन नेपालका संयोजक हरिस भट्टले चेतावनी दिनुभएको छ ।
क्रान्तिकारीका केन्द्रीय सदस्य विकल्पले अहिलेको राज्य व्यवस्थाको लाचारीपनका कारण लाखौँ युवाहरु विदेशिन बाध्य भएको भन्दै हरेक क्षेत्र बिचौलियाको पञ्चामा रहेको बताउनुभयो । बिचौलियालाई सरकारले कारवाही गर्न नसके आफुहरुले नै कारवाही गर्ने चेतावनी उहाँको छ ।
हेर्नुहोस् क्रान्तिकारी युवा संगठनका मागहरु

