दैलेख । काठमाडौंबाट कर्णाली घुम्न आएको एउटा टिम रारा जाने दौरानका क्रममा गुराँसेमा रोकिए । उक्त टिमको योजना गुराँसेमा बस्ने थिएन । तर त्यहाँको रमणिय दृश्यहरु देखिन थालेपछि त्यो टिम गुराँसे झरेर त्यहाँको रमणिय ठाउँको अवलोकन गर्यो । त्यहाँको रमणिय ठाउँको अवलोकन पश्चात उनिहरुको प्रतिक्रिया थियो, आहाँ, कस्तो राम्रो ठाउँ । यस क्षेत्रलाई स्थानीय सरकार र नजिकै रहेको प्रदेश सरकारले पर्यटन प्रवद्र्धन गरी अझै आनन्दको वातावरण बनाउन सकिन्छ होला नी ? उनिहरुले त्यही अनुसारको सुझाव स्थानीय र प्रदेश सरकारलाई दिएर गए । उनिहरु त केवल उदाहरण मात्र हुन गुराँस क्षेत्रमा पुग्ने अधिकांस व्यक्तीहरु एकपटक आएपछि अर्कोपटक घुम्न अवश्य पनि जाने गर्दछन् । यो क्षेत्रलाई साविकको कर्णाली अञ्चलको प्रवेशद्वारका रुपमा लिने गरिन्छ । यहाँ लालि गुराँस फुल्ने समयदेखि हिउँदको समयमा हिउँ पर्ने सम्मको आनन्दको वातावरण छ । गुराँसेमा रहेको भ्यु टावरबाट चारैतिरका रमणिय दृश्यसँगै भारतको लखनउ र तिब्बतका केही भागहरुको समेत अवलोकन गर्न सकिन्छट । १२ महिना सिरोटो हावा चलिरहने यस ठाउँमा प्राकृतिक सौन्दर्यतासँगै विभिन्न हिमालहरुको अवलोकन गर्न सकिन्छ । गुराँसे मात्र हैन् यस गाउँपालिकामा रहेका ८ वटै वडाहरु हेर्न लायक र आनन्दमय छन् ।
वडा नम्बर एकको देउराली गुफाः
वडा नम्बर एकमा घुम्न लायक ठाउँमध्य एउटा ठाउँ हो देउराली गुफा । यो गुफा हेर्न आउनेको संख्या दिनानु दिन बढ्ने गरेको छ । भने अहिले यस ठाउँमा मगर संस्कृतीका परिकार र नाचहरु देखाउने गरिन्छ । पाहुनालाई स्वागतको लागि आतुर रहेको यस वडामा मगर होमस्टे पनि संचालनमा छ । होम स्टेमा कोदोको रोटी, ढिडो आटो सिस्नो लगायतका अर्गानिक खानाको व्यवस्था गरिएको वडा अध्यक्ष धर्म बहादुर रावल बताउनुहुन्छ । ‘हाम्रो संस्कृती जोगाउन र पर्यटन प्रवद्र्धन गर्न यहाँका रमणिय ठाउँहरुको अवलोकन गराउने गरेका छौ ।’ उहाले भन्नुभयो, वडा नम्बर १ मा रहेका अन्य रमणिय ठाउँ र झरनाहरु हेर्न लायक छन्, अहिले बेडुगाउँमा भ्यु टावर समेत बनेको छ । यहाँ रहेको देउराली गुफाको संरक्षणका लागि अझै पहल गरिदिन उहाको आग्रह छ ।
वडा नम्बर दुईः डुङ्गेल मन्दीरसहित कर्णाली नदीको आनन्द
वडा नम्बर दुईमा रहेको डुङ्गेल मन्दीर जाहाँ पुजा गर्दा सन्तान नहुनेको सान्तान हुने धार्मीक विश्वास राखिन्छ । यस मन्दीरमा शुक्रबार र शनिबार बाक्लो मात्रामा भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । कर्णाली राजमार्ग हुँदै जुम्ला कालिकोट जाने यात्रुहरुले यस मन्दीरको दर्शन गरेर जाने गर्दछन् । जसको कारण सवारी दुर्घटना हुदैन भन्ने धार्मीक मान्यता रही आएको छ । यसको प्रचार प्रशार हुन नसकेको वडा नम्बर २ का अध्यक्ष शेर बहादुर रावल बताउनुहुन्छ । उहाले सामाजिक, धार्मीक र पुरातात्वीक सम्पदाले भरिपूर्ण आफ्नो वडामा पर्यटनको लागि प्रसस्त सम्भावना रहेको बताउहुन्छ । यस्तै, वडा नम्बर २ मै अवस्थित कर्णाली नदीको आनन्द छुट्टै छ । त्यहाँ पाईने माछा खाँदाको आनन्द अझ बेग्लै छ । त्यतीमात्र हैन्, कर्णाली नदीमा ¥याप्टीङ गर्दाको मज्जा त बयान गरेर साध्य छैन् । तर भौतिक संरचना र पर्यटक व्यवस्थापनमा स्थानीय सरकारले ध्यान दिनुपर्ने देखिन्छ । साथै यो वडामा अहिले अग्लो ठाउँमा रहेको झरना पनि रहेको छ ।
वडा नम्बर तिनः पाँच भाई पाण्डपले बनाएका पञ्चदेवल र पुरातात्वीक सम्पदाहरु
वडा नम्बर तिनपनि पर्यटकीय स्थलको रुपमा लिन सकिन्छ । पाच भाई पाण्डपहरुले निर्माण गरेका पञ्चदेवल, मुग्राहरु र ढुङ्गे धाराहरु यस वडामा रहेका छन् । विभिन्न चित्रहरु अंकित यी पञ्चदेवलहरुको अवलोकन गर्दा पुरानो सभ्यताको याद आउने गर्दछ । त्यसैगरी यहाँबाट कर्णाली र डुङ्गेश्वरको फाटलाई अवलोकन गर्न सकिन्छ, भने बिभिन्न रमणिय ठाउँहरु यस क्षेत्रमा रहेका छन् । यसको प्रचार प्रशार गर्न नसकिएको वडा नम्बर ३ का अध्यक्ष काशि शर्मा बताउनुहुन्छ । यस क्षेत्रमा तामा खानी रहेको विश्वास गरिन्छ । भने पुराना सभ्यतामा आधारित सम्पताहरु प्रसस्त छन् ।
वडा नम्बर चारः गुराँसेको लालिगुराँस र अग्ला अग्ला हिमालको दृश्य
गाउँपालिकाको मुटुमा रहेको वडा नम्बर ४ पर्यटकीय दृष्टिले सबैभन्दा अगाडी रहेको वडा हो । यो वडाको रतिखोलामा रातो गाई खोलाले बगाएको किंम्बदन्ती छ । त्यो गाईको अवशेष अहिलेपनि देख्न पाइने बुढापाकाहरु बताउछन् । यस वडाको गुराँसे लेख सबैभन्दा प्रसिद्ध छ । यस ठाउँबाट धेरै हिमालहरुको दृश्यहरु अवलोकन गर्न पाइन्छ भने यहाँ हिउँदमा हिउँ हेर्ने र खेल्ने बसन्त ऋतुमा लालि गुराँसको फुलेको देख्दा मन आनन्दित हुने गर्दछ । यही हेर्नकै लागि सुर्खेत नेपालगञ्जबाट धेरै मानिसहरु यस क्षेत्रमा जाने गरेका छन् । यो क्षेत्रमा पर्यटन व्यवसायबाट नै मानिसहरुले आफ्नो आर्थिक वृद्धिदर उच्च बनाएका छन् । लोकल कुखुराको मासु र अर्गानिक खानाको लागि उपयुक्त यो ठाउँ रारा लगायतका उच्च स्थानमा जाने बाटो नै यही हो । यस क्षेत्रमा पर्यटक अझै भित्राउन बिभिन्न दृश्यहरु अवलोकन गर्नको लागि प्रदेश सरकार र गाउँपालिकाको पहलमा भ्यु टावर निर्माण गरिएको छ । भ्यु टावरबाट सुन्दर हिमालहरुका दृश्यसँगै चारैतिरका रमणिय ठाउँहरु देख्न पाइन्छ । सँगै तिब्बतका केही भाग र भारतको लखनउसम्मका दृश्यहरुको अवलोकन यहाँबाट गर्न सकिन्छ । पर्यटकीय क्षेत्रमात्र नभएर तरकारीको लागि पनि यो क्षेत्र उपयुक्त छ । यहाँ खाना बस्नको लागि होटेल र लजहरुको राम्रो व्यवस्था छ । वडा नम्बर ४ का अध्यक्ष खड्ग बहादुर शाहीले पर्यटन प्रवद्र्धनको लागि योजना बन्नुपर्ने बताउनुहुन्छ ।
वडा नम्बर पाँचः जन्ती बस्ने गुफादेखि बिभिन्न धार्मीक स्तलहरु
गाउँपालिकाको सबैभन्दा धेरै जनसंख्या रहेको वडा नम्बर ५ पनि पर्यटकीय क्षेत्रको हिसाबले धेरै अगाडी रहेको छ । यो वडाको जन्ती बस्ने गुफालाई महत्वपूर्ण पर्यटकीय गन्तब्यको रुपमा लिन सकिन्छ । यहाँ परापूर्व कालमा बिबाहमा गएको एक हुल जन्ती बसेको र सबैको त्यही स्थानमा मृत्यु भएको त्यहाँका बुढापाकाहरुको कथन छ । अहिलेपनि अवशेषको रुपमा त्यहाँ जन्ती, बेहुलाबेहुली र उनिहरुले बोकेका सामानहरुको चित्रहरु प्रष्ट देख्न सकिन्छ । त्यतीमात्र हैन्, यहाँका बिभिन्न धार्मीक मन्दिरहरु पनि छन् । यीनको संरक्षण हुन जरुरी देखिन्छ । यससँगै मालिकादेबीको मन्दिरलाई पनि पर्यटकीय क्षेत्रको रुपमा लिने गरिएको वडा अध्यक्ष भुपेन्द्र चन्द बताउनु्हुन्छ । उहाका अनुसार जनै पूर्णिमाको दिनमा यहाँ धार्मीक मेला समेत लाग्ने गर्दछ । यस मन्दिरमा पुजा गर्दा सबै रोग निको हुने धार्मीक विश्वास रहि आएको छ । अझै यसको प्रचार प्रशार गर्न आवश्यक रहेको अध्यक्ष चन्द बताउनुहुन्छ ।
वडा नम्बर ६ः समथर भुभागदेखि अग्लो भिउचुलासम्म हेरमहेरम जस्तो
वडा नम्बर ६ भौगोलिक विवधता रहेको वडा हो । जसले पर्यटकलाई अझै आकर्षण गर्न सक्छ । कुन्तडा, लामातडाका हेर्न लायक ति फाटहरु, अलि माथी बगौराचौरसँगै जोडिएको रेग । यस वडामा पनि पुरातात्वीक सम्पताहरु ढुङ्गे धारा, मुग्राहरु अझै छन् । यस वडाको सबैभन्दा हेर्न लायक ठाउँ भनेको भिउचुला नै हो । भिउचुलाका ति दोभानहरुसँगै त्यहाँबाट अधिकांस ठाउँको अवलोकन गर्न सकिन्छ । भिउचुलाको माथी लिलेकोट डाँडा । जाँहाबाट धेरै रमणिय ठाउँहरु देख्न सकिन्छ । यहाँ सिडीबाट हिडेर जाने व्यवस्था गरिएको छ । धाउखानी गुफाको संरक्षण भइरहेको छ । यो गुफाभित्र ७० मिटरसम्म बाटो छ ।
यस्तै, यहाँको जन्ते ढङ्गा, जाँहा लहरै जन्ती उभिएको जस्तो अवशेषको रुपमा देखिन्छ । वडा अध्यक्ष चन्द्र बहादुर राना भन्नुहुन्छ, ‘हाम्रा पुराना संस्कृतीको जगेर्ना र पर्यटन प्रवद्र्धनमा जोड दिएका छौँ ।’ उहाले प्रदेश र केन्द्र सरकारले पनि यसमा सहयोग गर्न आवश्यक छ । उहाले मालिका मन्दीर जाने बाटोमा सिडी निर्माण गर्न सके मात्रै पनि हेर्न आउने पर्यटकहरुलाई सहज हुने भन्दै अहिले बजेटको अभाव रहेको बताउहुन्छ ।
वडा नम्बर ७ः लात्तेको झरणा, मालिकादेबी मन्दिर, विभिन्न गुफाहरु
पर्यटकीय गन्तव्यमध्य प्रचारको कमी भएको तर पर्यटकीय क्षेत्र प्रसस्त रहेको वडा नम्बर ७ का पर्यटकीय क्षेत्रहरु संरक्षण अभावमा छन् । यस वडामा रहेको लात्तेको छहरा समुन्द्री सतहदेखि करिब २७ सय मिटर उचाईमा छ । यस छहरा दुइसय मिटर लामो रहेको छ । जसको प्रचार अहिलेसम्म हुन सकिरहेको छैन् । यस झरणादेखि २ किलोमिटर यता मगर बस्ती रहेको छ । त्यती मात्र हैन, बैशाखसम्म हिउँ पर्ने बुँरास लेख र तलतिर टोटनाउला पाटनहरु हेर्दा मन आनन्द हुन्छ । भने मालिकादेबी मन्दीरमा भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । यहाँको जडीबुटीको औषधी प्रयोग गर्दा बाथ रोग, पेट सम्बन्धीको समस्या कम हुने गरेको बताइन्छ । साथै यहाँ करिब ६ वटा जत्ती गुफाहरु रहेका छन् । जसमध्य झ्यारदुल्ला गुफामा एक हुल भेडा हराएको किम्बदन्ती छ । भने अहिले टोटनाउला नजिक एउटा नयाँ गुफा पत्ता लागेको छ । यहाँका अन्य गुफाहरु पनि संरक्षण अभावमा रहेका छन् । यसको संरक्षणका लागि प्रदेश र स्थानीय र प्रदेश सरकारले पहल गर्नुपर्ने वडा अध्यक्ष नन्द बहादुर विसी बताउहनुहुन्छ । मालिका मन्दीर निर्माणसँगै यहाँ पाइने जडुबुटीहरुको प्रचारको आवश्यकता रहेको बताउनुहुन्छ ।
वडा नम्बर ८ः शिव मन्दीर पर्यटन पार्क र मिलेका पाटन
वडा नम्बर ८ का मिलेका पाटन अन्तरगत पोखराचौर, घ्युपोखरी, लगायतका ठाउँहरु रमणिय छन् । यी स्थानहरुको अवलोकन गर्दा आनन्दको महसुस हुन्छ । पाखापानीदेखि केहि मिटर अगाडी पर्यटन पार्क निर्माण भएको छ, भने यहाँका अन्य पाटनहरु हेर्दाको आनन्द त बेग्लै छ । त्यसैगरी धरमपोखरामा रहेको शिव मन्दिरको दर्शन गर्दा पापहरु नष्ट हुने विश्वास राखिन्छ । पोखरीको नाममा परिचित धरमपोखराको दृश्य पनि आनन्दमय रहेको छ । यस क्षेत्रको पर्यटन प्रवद्र्धन गरि धेरैभन्दा धेरै पर्यटक भित्राउने योजना रहेको वडा अध्यक्ष दीपेन्द्र ओली बताउनुहुन्छ ।
के छ गाउँपालिकाको योजना ?
गुराँस गाउँपालिकाका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनको लागि गाउँपालिकबाट विभिन्न योजनाहरु बनाइको जनाइएको छ । अन्य पर्यटकीय गन्तब्यको खोजी भइरहेको गुराँस गाउँपालिकाको भनाई छ । गाउँपालिका उपाध्यक्ष शिवा कुमारी खड्काले पर्यटकीय क्षेत्रको खोजी र संरक्षण अभियान नै संचालन गरिएको बताउनुहुन्छ । ‘हाम्रो गुराँस गाउँपालिका पर्यटकीय रुपमा धेरै सम्भावना बोकेको ठाउँ हो । उहाले भन्नुभयो, पर्यटकीय क्षेत्रहरुको संरक्षण र प्रचारप्रसार गरी पर्यटक आगमन बढाउने योजना छ, त्यसको लागि पर्यटन सुचना केन्द्र, पर्यटन सग्रालय, रैथाने बालीहरुको संरक्षण गर्नेगरी नीति लिएका छौँ ।
यो पालिकाले राउटेलाई परिचय पत्र दिएर आफ्ना नागरिक मान्दै आएको छ । राउटे लगायतका जातीहरुको संस्कृतीलाई संरक्षण गरेर पर्यटन आकर्षण गरिने उपाध्यक्ष खड्का बताउनुहुन्छ । संस्कृती झल्काउने मेला, महोत्सवबाट प्रचार प्रसार गर्ने नीति आफुहरुले बनाइरहेको उहाँ बताउनुहुन्छ । गुराँसको आलुको विभिन्न परिकार बनाएर प्रचार गर्ने अर्को योजना रहेको बनाइएको बताउनुभयो । अहिले कार्यविधि निर्माणको काम चलिरहेकाले माथिल्लो सरकारहरुसँग पनि समन्वय गरेर पर्यटन क्षेत्रमा फड्को माने गाउँपालिकाको योजना छ ।
पर्यटकीय सम्भावनाले भरिपूर्ण गुराँस गाउँपालिका
पर्यटकीय सम्भावनाले भरिपूर्ण गुराँस गाउँपालिका
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
