सुर्खेत । कर्णाली प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई दिँदै आएको अनुदानबाट सुर्खेत जिल्लाका ९ सय २६ किसान लाभान्वित भएका छन् ।
प्रदेश सरकारको अनुदान र अन्य सहयोगबाट किसानले व्यावसायिक रूपमा पशुपन्छीपालन गर्दै आएका छन् । गएको वर्ष सबैभन्दा बढी गुर्भाकोट नगरपालिकाका कृषक लाभान्वित भएको पशुपन्छी विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।
प्रतिलिटर पाँच रुपियाँका दरले पालिकाका ३ सय ३३ कृषकले प्रोत्साहन रकम पाएका थिए । गत वर्ष ती कृषकको खातामा आठ लाख ४७ हजार रकम गएको छ ।
दुई वर्षदेखि व्यावसायिक रूपमा पशुपालन गर्दै आएका गुर्भाकोट नगरपालिका–२ का कृषक नन्दलाल भुसालले सरकारी अनुदानले आफूलाई लाभ पुगेको बताउनुभयो ।
निर्देशनालयको ५० प्रतिशत अनुदानमा दुई वटा भैँसी खरिद गरेर व्यवसाय सुरु गरेका भुसालले प्रतिलिटर दुधमा पाँच रुपियाँ अनुदान लिइरहेको बताउनुभयो ।
गत वर्ष पशुपन्छी विकास निर्देशनालय सुर्खेतले दुग्ध उत्पादक किसानलाई अनुदान दिन ५० लाख बजेट छुट्याएको थियो । यसबाट ९ सय २६ कृषकले अनुदान लिएको निर्देशनालयले जनाएको छ ।
वीरेन्द्रनगरमा २०१ कृषकले प्रतिलिटर पाँच रुपियाँका दरले १७ लाख २२ हजार रकम बुझेको जनाइएको छ ।
चौकुने गाउँपालिकाका ४१ कृषकले ६३ हजार ६ सय ५५, पञ्चपुरी नगरपालिकाका ३३ कृषकले ६० हजार नौ सय, वराहताल गाउँपालिकाका ३१ कृषकले ४१ हजार छ सय, चिङ्गाड गाउँपालिकाका २४२ कृषकले तीन लाख ९० हजार, भेरीगङ्गा नगरपालिकाका दुई सय कृषकले पाँच लाख ८६ हजार, लेकबेँसी नगरपालिकाका १९२ कृषकले १० लाख ९६ हजार रकम पाएका छन्
निर्देशनालयका निर्देशक कृष्णप्रसाद पङ्गेनीले कृषक प्रत्यक्ष रूपमा लाभान्वित हुने भएकाले दुधमा अनुदानको कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । यो वर्ष पनि निर्देशनालयले ५० लाख बजेट छुट्याएको छ ।
आर्थिक वर्ष २०७८÷७९ देखि कर्णाली प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न दुधमा अनुदान दिने कार्यक्रम सुरु गरेको हो ।
यो वर्ष एक करोड १५ लाख बजेट विनियोजन भएको जनाइएको छ ।
कर्णालीमा दुध उत्पादनमा अनुदानः सुर्खेत जिल्लाका ९ सय २६ किसान लाभान्वित
कर्णालीमा दुध उत्पादनमा अनुदानः सुर्खेत जिल्लाका ९ सय २६ किसान लाभान्वित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

