सुर्खेत । राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशले प्रहरी र प्रहरी कार्यालयबाट दिइने सेवालाई अपाङ्गतामैत्री बनाउन माग गरेको छ ।
महासंघले कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक लालमणि आचार्यलाई भेटि प्रहरी कार्यालयद्वारा प्रदान गरिने सेवाहरूलाई सबै खाले अपाङ्गता मैत्री बनाउन अनुरोध गरेको हो ।
अपाङ्ग महासंघ, स्थानीय जनवकालत समिति विरेन्द्रनगरले शुक्रबार कर्णाली प्रदेश प्रहरी कार्यालयमा भएको छलफल गरी सेवालाई अपाङ्गतामैत्री बनाउन माग गरेको हो ।
समितिका तर्फबाट अनुरोधपत्र हस्तान्त्रण गर्दै सदस्य धर्मराज रावलले अपाङ्गता भएका व्यक्तिहरूलाई न्यायिक प्रक्रियामा ल्याउन प्रहरीको महत्वपूर्ण भुमिका रहने उल्लेख गर्दै अनुरोध पत्रमा गरिएका माग सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
यस्तै समितिका सहभागिहरूले हाल टाँसिएको टिकटमा प्रहरीलाई सन्देश पठाउन सक्ने व्यवस्था गर्नु पर्ने, प्रहरी कार्यालयका भौतिक पुर्वाधारहरू अपाङ्गता मैत्री बनाउनु पर्ने तथा साङ्केतिक भाषा र अपाङ्गताको विषयवस्तुलाई नियमित सेवाकालिन तालिमको पाठ्यक्रममा समावेश गर्न जोड दिएका थिए ।
सवारी आवागमनमा जाँच गर्दा अपाङ्गता भएका व्यक्तिको सिट र भाडामा ५० प्रतिशत छुट पाए–नपाएको जस्ता कुरामा पनि ट्राफिक र जनपथ प्रहरीले ध्यान दिनु पर्ने उल्लेख गरिएको छ ।
मागपत्र बुझ्दै प्रहरी नायव महानिरिक्षक आचार्यले अब छापिने पर्चा÷स्टिकरमा सन्देश पठाउने सूचना राखिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
उहाले आफुले अब मातहतका कार्यालयलाई गर्ने परिपत्र र निर्देशनमा अपाङ्गता भएका व्यक्तिको सहज आवागमन तथा सूचनामा पहुँच सुनिश्चित गर्न लेखि पठाउने बताउनुभयो ।
नायव महानिरिक्षक आचार्यले भन्नुभयो, “राष्ट्रिय अपाङ्ग महासंघले निकट भविष्यमा साङ्केतिक भाषाको लागि तालिम दिने खबर पाएको छु; उक्त तालिमका लागि कम्तिमा सुर्खेत र दैलेखबाट सके चार जना नत्र दुइ जना पठाउन आवश्यक प्रक्रिया सुरु भईसकेको छ । कानुनले नै मुद्दा दर्तामा साँचि अनिवार्य गरेकोले अनलाइनबाट ठाडो उजुरी बाहेक लिन नसकिने अवस्था छ” ।
कतिपय कुरा आफूहरूलाई पनि घचघचाउँदा मात्रै जानकारी हुने भन्दै उहाले अब बन्ने संरचनामा अपाङ्गता मैत्री डिजाइनका लागि काम गर्न इन्जिनियरलाई सुझाउने बताउनु भयो ।
कतिपय जिल्लामा प्रहरी स्वयम नै व्यवस्थित संरचनामा नरहेकोले अपेक्षाकृत सुधार हुन नसकेतापनि सुर्खेत लगायत सम्भव हुने सबै जिल्लामा अपाङ्गता मैत्री व्यवहारका लागि प्रहरी तत्पर रहेको नायव महानिरिक्षक आचार्यको भनाइ छ ।
छलफलमा हामीलाई पनि समावेश गर कार्यक्रमका लागि कर्णाली प्रदेश संयोजक जितलाल ढकाल, स्थानीय जनवकालत समितिका संयोजक तथा सदस्यहरू र प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं ट्राफिक प्रहरी ८ को समेत उपस्थिति रहेको थियो ।
प्रहरीको सेवालाई अपाङ्गतामैत्री बनाउन माग
प्रहरीको सेवालाई अपाङ्गतामैत्री बनाउन माग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
