सुर्खेत । नेपाली काँग्रेसले कर्णाली सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ । १० महिना अगाडी सरकारलाई दिएको समर्थन केन्द्रमा फेरिएको गठबन्धनसँगै समर्थन फिर्ता लिएको हो ।
साथै कर्णाली सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। आज पत्रकार सम्मेलन गर्दै उनीहरूले राजीनामा गरेको दिएको जानकारी गराएका हुन् ।
अर्थमन्त्री बेदराज सिंहले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइएको बताउनुभयो । कर्णाली प्रदेश सभामा कांग्रेसका १४ सांसद रहेका छन् ।
कांग्रेसबाट अर्थ मन्त्रालयमा सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री हुनुभएको थियो । उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए । साथै उनिहरुले राजिनामा पत्र मुख्यमन्त्री राज कुमार शर्मालाई बुझाएका छन् ।
यसैबिच, पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री बेदराज सिंहले आफुले नीतिगत रुपमा हुने भ्रष्ट्राचार रोक्नेगरी प्रयास गरेको दाबी गर्नुभयो । आफुले कर्णालीमा बजेट कार्यान्वयन सहि र प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने थिति बसाल्न खोजेको दाबी गर्नुभयो ।
सरकारको गतिशिलता कमजोर भएपछि आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले पहिले नै राजिनामा दिएपनि स्वीकृत हुन नसकेको बताउनुभयो ।
यस्तै, सामाजिक विकास मन्त्री खड्क बहादुर पोख्रेलले पनि आफु मन्त्री बनिसकेपछि विभिन्न ऐन नियमहरु बनेर कार्यान्वयनमा गएको दाबी गर्नुभयो । अब आउने मन्त्रीले आफुले शुरु गरेका कामहरुलाई अगाडी बढाउन आग्रह उहाको छ ।
यस्तै उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण कुमार विसीले पनि आफु मन्त्रालयको जिम्मेवारीमा आउँदा ऐन, नियम र कार्यविधिको अभाव रहेको भन्दै अहिले आवश्यक पर्ने ऐन, नियम र कार्यविधिहरु निर्माण गरी कार्यान्वयनमा ल्याइएको दाबी गर्नुभयो ।
उहाले पर्यटन बोर्डको गठन अन्तिम चरणमा पुगेको भन्दै अब आउने मन्त्रीले त्यसलाई अगाडी बढाउन सहज हुने बताउनुभयो । उहाले आफु मन्त्रीबाट बाहिरिएपनि कर्णाली बनाउने जिम्मेवारी भने कायम रहेको भन्दै अब आउने सरकारलाई रचनात्मक रुपमा सहयोग गरिने बताउनुभयो ।
