सुर्खेत । सुर्खेत उपत्यका नगर विकास समितिले यही फागुन ३० गतेदेखि वीरेन्द्रनगर नगरपालिका—६, गोदामलाइन तथा हटिया क्षेत्रमा बनाइएका अस्थायी संरचनाहरु हटाउने भएको छ । गत माग १८ गते समितिले एक सूचना जारी गरी ३५ दिनभित्र आफूहरुले निर्माण गरिएका अस्थायी संरचनाहरु हटाउन भनेको थियो ।
उक्त ३५ दिने सूचनाको म्याद बुधवार सकिएको छ । बुधवार नै समितिको समन्वय बैठक बसी फागुन ३० गतेदेखि सूचनामा उल्लेख गरिएका स्थानभित्रका अस्थायी संरचनाहरु हटाउने निर्णय गरेको छ । जसअनुसार आज फागुन २४ गते विहीवारदेखि फागुन २८ गते मंगलवारसम्म संरचना हटाउन माइकिङ गर्ने निर्णय भएको नगर विकास समितिका अध्यक्ष एवं वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताउनुभयो । उहाँका अनुसार सो अवधिमा विहान, दिउँसो र बेलुका संरचना हटाउन माइकिङ गरिनेछ ।
यसैगरी फागुन २९ गते संरचना हटाउने पूर्व पुनः समन्वयात्मक बैठक बस्ने र फागुन ३० गते बिहान ११ बजे ती संरचना हटाइनेछ ।
सूचनामा वीरेन्द्रनगर नगरपालिका—६ गोदामक्षेत्र, साल्ट ट्रेडिङ्गदेखि उत्तर एमाले पार्टी कार्यालयसम्म, पश्चिममा गंगामाला पाउरोटी उद्योगदेखि पूर्व, उत्तर तर्फ घण्टाघरदेखि दक्षिण तर्फ मध्यपश्चिम विश्वविद्यालय देखि पश्चिम तर्फका सम्पूर्ण अस्थायी घर, टहरा, घुम्टी तथा अन्य संरचनाहरु हटाउन सूचना जारी गरेको थियो ।
समितिका अध्यक्ष एवं नगर प्रमुख ढकालले नगर विकास समितिको स्वामित्व भित्रका सरकारी जग्गामा निर्माण गरिएका अस्थायी संरचनाहरु खाली गराएर त्यसलाई पार्किङको रुपमा विकास गरिने बताउनुभयो । पहिलो चरणमा माथि उल्लेखित स्थानहरुको अस्थायी संरचनाहरु खाली गराएपछि दोस्रो चरण थालिने उहाँले जनाउनुभयो । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भएको र यहाँ पार्किङको समस्या हुँदा सो समस्या समाधान गर्न समितिले सार्वजनिक जग्गा संरक्षण गर्न थालेको उहाँको भनाइ छ ।
नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले पनि तोकिएको समय अवधिभित्र अस्थायी संरचनाहरु हटाएर नगरपालिकालाई सहयोग गरिदिन आग्रह गर्नुभएको छ । उहाँका अनुसार अव नगरपालिकाले आफ्नो स्वामित्वभित्र रहेका सरकारी जग्गाहरुको खोजी गर्दै संरक्षण गर्न सुरु गरेको छ । नगर विकास समिति अनुसार ती स्थानमा ८१ वटा अस्थायी संरचनाहरु बनेका छन् । ती संरचनाहरु हटाइए करिव साढे दुई विगाह जग्गा समिति मातहत आउनेछ । सरोकारवाला पक्षहरुले पनि कानुनसम्म थालिएको कामलाई सहयोग गर्ने जनाएका छन् ।
यही फागुन ३० देखि वीरेन्द्रनगरभित्रका अस्थायी संरचना हटाइने
यही फागुन ३० देखि वीरेन्द्रनगरभित्रका अस्थायी संरचना हटाइने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
