सुर्खेत । कर्णाली प्रदेशका पहिलो मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारले २०७६ सालमा छोरीहरुको सुरक्षाको लागि भन्दै ‘बैक खाता छोरीको सुरक्षा जीवनभरीको’ नामक कार्यक्रम ल्यायो । २०७६ सालभन्दा पछाडी जन्मिएका छोरीहरुको प्रदेश सरकारले शुरुमा बैंक खाता खोलेर रु १ हजार जम्मा गरिदिने र त्यसपछि मासिक पाँच सयका दरले जम्मा गरिदिने सरकारले योजना बनायो ।
२० वर्षसम्म मासिक ५ सयका दरले एक परिवारका दुई जना छोरीको बैंक खातामा रकम जम्मा गरिदिने र २० बर्षपछि उक्त रकम फिर्ता दिने योजना सरकारको छ । यसले छोरीहरुलाई आत्मनिर्भर बनाउनुका साथै बालबिवाह रोक्न सघाउ पुर्याउने भन्दै सरकारको प्रसंशा समेत भयो ।
बालबालिकाको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरुले यो कार्यक्रमको खुलेर प्रशंसा गरे । खातामा बचत गरिएको छोरीले २० बर्ष नपुग्दै बिवाह गरेको खण्डमा उक्त रकम नपाउनेगरी कार्यविधि समेत बनाइएको छ । छोरीमाथि हुने विभेदको अन्त्य, बालविवाह न्यूनीकरण र उच्च शिक्षाको ग्यारेन्टी गर्ने महत्वकाँक्षी योजनासहित प्रदेश सरकारले ल्याएको कार्यक्रम कार्यान्वायन हुन सकेको छैन ।
दिगो सोचका साथ सुरु गरिएको कार्यक्रम भने सरकारहरु परिवर्तन भएसँगै अगाडी बढ्न नसकि अलपत्र परको छ ।
खातामा रकम बचत नभएको अविभावकहरुको गुनासो
लोकप्रिय र छोरी सुरक्षाको लागि महत्वपूर्ण मानिएको यो कार्यक्रम शुरु भएपछि अविभावकहरु उत्साहित हुँदै प्रदेश सरकारको कार्यक्रमअनुसार छोरीको बैंक खाता खोले । अब छोरीहरुको सुरक्षा मात्रै होइन, शिक्षा, स्वास्थ्य र आत्मनिर्भर बनाउन सरकारले नै ग्यारेन्टी लिएपछि उत्साहित अविभावकहरु अहिले पनि निराश बनेका छन् ।
सुर्खेत वीरेन्द्रनगर ६ का गोपी अधिकारीले बैंक खाता छोरीको सुरक्षा जीवनभरीको कार्यक्रम अन्तरगत आफ्नो छोरीको बैंक खाता खोल्नुभयो । “विगत दुई बर्षदेखि भने आफ्नो छोरीको खातामा रकम जम्मा नभएको बताउनुहुन्छ । सरकारले ल्याएको कार्यक्रम एकदमै लोकप्रिय थियो, त्यही आधारमा मैले छोरीको खाता खोलिदिएँ । तर दुई वर्षदेखि मेरो छोरीको खातामा रकम जम्मा भएको छैन् ।”
अधिकारी मात्रै होइन, उहा जस्ता हजारौ कर्णालीका छोरीहरुका खातामा रकम जम्मा भएको छैन । कतिलाइ त यो कार्यक्रमको बारेमा जानकारी समेत नभएको बताएका छन् । सरकारले ल्याएको यो कार्यक्रम कार्यान्वयन चाँडो हुनुपर्छ, सुर्खेतकै अर्का अविभावक दैलेखका रेखा केसी भन्नुहुन्छ । उहाले यो कार्यक्रम कार्यान्वयनमा सरकारले ध्यान दिनुपर्ने उहाको भनाई छ ।
स्थानीय र प्रदेश सरकारबिच समन्वय हुन सकेन
कर्णाली प्रदेश सरकारले बर्षेनी करोडौं रकम बिनियोजन गर्ने गरेको छ । तर सरकारले बनाएको कार्यविधिअनुसार यो कार्यक्रम स्थानीय सरकारबाट कार्यान्वयन गराइने उल्लेख भएपनि कार्यक्रम कार्यान्वयन नभई रकम फ्रिज हुने गरेको छ । कार्यक्रमका लागि सुरुवाती वर्षमा ७ करोड बजेट छुट्याएको प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ मा १२ करोड ६० लाख, २०७८÷०७९ मा १६ करोड, २०७९÷०८० मा २० करोड छुट्याएको थियो । भने चालु आर्थिक वर्षमा पनि २५ करोड बजेट विनियोजन गरेको छ । तर बजेट कार्यान्वयन नभई फ्रिज हुने गरेको छ । स्थानीय सरकारबाट कार्यान्वयन गराइने भनिएपनि प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गर्न सकेको छैन भने बजेट समेत पठाउँदैन् । सुर्खेत भेरीगंगा नगरपालिका प्रमुख यज्ञ प्रसाद ढकाल प्रदेश सरकारले ल्याएको कार्यक्रम राम्रो भएपनि स्थानीय सरकारसँग समन्वय नगर्दा कार्यान्वयन हुन नसकेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “स्थानीय सरकारमार्फत कार्यान्वयन गराउने मात्रै भनेर भएन्, रकम पठाउनुपर्यो । अनि स्थानीय तहसँग समन्वय पनि बढाउपर्छ नी अनि मात्रै कार्यक्रम कार्यान्वयन हुन्छ ।”
प्रदेशसभा सदस्यहरु पनि कर्णालीका छोरीहरुको लागि महत्वपूर्ण ठानिएको कार्यक्रमलाई सरकारले अपनत्व लिनुपर्ने बताउछन् । अघिल्लो सरकारले ल्याएको कार्यक्रमलाई पछिल्लो सरकारले अपनत्व लिनुर्छ भन्ने हेक्का नराख्दा कार्यक्रम रोकिएको बताउछन् ।
प्रदेशसभा सदस्य पूर्ण प्रसाद चालिसेले विगतको सरकारले शुरु गरेका राम्रा कामको अपनत्व पछिल्लो सरकारले लिनुपर्ने भएपनि त्यसो हुन नसकेको भन्दै कार्यक्रमहरु कार्यान्वयन हुन नसकेको बताउनुहुन्छ ।
तीन वर्षमा ४१ हजार ५ सय ७२ जना छोरीहरुको बैंक खाता खोलिदिएको सरकारले कति रकम खर्च भयो भन्ने किसाव किताव नै राख्न सकेको छैन ।
कार्यविधि अनुसार २० वर्षको अवधिसम्म एउटा छोरीको खातामा सरकारले एक लाख २१ हजार रकम जम्मा गर्ने र २० वर्ष पुगेपछि ब्याजसहित करिब दुई लाखसम्म रकम पाउने व्यवस्था छ ।
यता, कर्णाली प्रदेश सरकारले भने कार्यक्रम कार्यान्वयनको लागि अब कार्यक्रमको मोडालिटी नै परिवर्तन गर्ने योजना बनाएको छ । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जिसीले कार्यक्रम दिगो र लोकप्रिय भएपनि कार्यान्वयनमा केही कठिनाईहरु रहेको बताउनुभयो । उहाले अब यो कार्यक्रमको मोडालिटी नै परिवर्तन गरि कार्यान्वयनमा लैजाने बताउनुहुन्छ ।
“बैंक खाता छोरीको सुरक्षा जीवनभरीको कार्यक्रम एकदमै लोकप्रिय र छोरी सुरक्षासँग जोडिएको कार्यक्रम हो, कार्यक्रम कार्यान्वयको लागि वजेट पनि छुट्टिन्छ, तर कार्यान्वय हुन नसकि फ्रिज हुने गरेको सत्य हो । त्यसैले हामी अब कार्यक्रमको मोडालिटी नै परिवर्तन गरेर कार्यान्वयनमा लिन्छौँ ।”
कर्णालीमा ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरीको’ कार्यक्रम अलपत्र
कर्णालीमा ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरीको’ कार्यक्रम अलपत्र
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
