सुर्खेत । कर्णालीका विभिन्न सरकारी कार्यालयबाट दिइने सेवामा बहिरा अपाङ्गता भएका व्यक्तीहरुको सजह पहुँच पु¥याउन पहल थालिएको छ ।
अब कर्णालीका केही सरकारी कार्यालयमा सांकेतिक भाषामा समेत सेवा प्रवाह हुनेगरी पहल थालिएको हो । जसले बहिरा अपाङ्गता भएका व्यक्तीहरुलाई सेवा लिन सहज हुने अपेक्षा गरिएको छ ।
त्यसको लागि विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुलाई सांकेतिक भाषा सम्बन्धिको तालिम दिन शुरु भएको छ ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय/शिक्षा विकास निर्देशनालयको आर्थिक सहयोगमा र भेरी बहिरा संघ सुर्खेतको आयोजनामा ३ महिने सांकेतिक भाषा दोभाषे तालिम आज आइतबारदेखि शुरु भएको हो ।
सांकेतिक भाषाको अभावका कारण बहिरा अपाङ्गता भएका व्यक्तीहरुको सरकारी सेवाको पहुँच नपुगेको भन्दै सुचनाको पहुँचमा उनिहरुलाई पुर्याउनुपर्ने माग हुँदै आएको थियो । अब यो तालिमबाट बहिरा अपाङ्गता भएका व्यक्तीहरु राज्यको पहुँचमा पुग्न सहज हुने अपेक्षा लिइएको छ ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका उपप्रमुख निलकण्ठ खनालले ठुला ठुला बाटो र भवन बन्नु मात्रै विकास नभएको भन्दै मानव विकासलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । “हाम्रो समाजको सोच केछ भने ठुल्ठुला बाटो ठुल्ठुला घर बनाए मात्रै विकास मानिन्छ, तर हरेक व्यक्ती, हरेक समुदायलाई सबल र सक्षम बनाउन सके मात्रै समाज समृद्ध बन्छ,” उहाले भन्नुभयो, “सांकेतिक भाषा सम्बन्धिको तालिम हरेक कार्यालयका कर्मचारीहरुलाई दिन आवश्यक छ, तपाईहरुलाई म भन्छु हाम्रो नगरपालिकामा अब सांकेतिक भाषामा समेत सेवा दिनेगरी लाग्छौँ ।”
उहाले बहिरा अपाङ्गता व्यक्तीहरुको लागि अब हरेक कार्यालयमा सांकेतिक भाषा आवश्यक रहेको भन्दै यस सम्बन्धीको तालिम सबै ठाउँमा आवश्यक रहेको बताउनुभयो ।
नगर उपप्रमुख खनालले वीरेन्द्रनगर नगरपालिकाभित्र सांकेतिक भाषाबाट सेवा दिनेगरी पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका महिला बालबालिका तथा जेष्ठ नागरिक महाशाखा महिला अधिकृत अनिता ज्ञवालीले सांकेतिक भाषा विश्व भाषा भएको भन्दै सबैलाई सुचनाको पहुँचमा लिन सके मात्रै सरकारी सेवा दिन सहज हुने बताउनुभयो । “हामी एकपटक चाइना भ्रमणमा जाने अवसर पाएका थियौँ, भ्रमणको बेला चाइना र हङकङकको सिमानामा पुगेपछि हामीले लोकेसन थाहा नपाएर हरायौँ, अनि त्यहाँमा मानिसहरु नेपाली र अग्रेजी नबुझ्ने अनि हामीले चाइनिज भाषा नबुझ्दा धेरै ठुलो समस्या भयो । अनि मलाई त्यती बेला सांकेतिक भाषाको महत्व धेरै भएको लाग्यो । सांकेतिक र मुस्कान विश्व भाषा हो,” उहाले भन्नुभयो ।
सरकारी सेवा लिन जाँदा बहिरा अपाङ्गता भएका व्यक्तीहरुको पहुँच पुग्न नसकेको बेला यो तालिमले अब सहजता ल्याउने विश्वास व्यक्त उहाले गर्नुभयो । अब लोक सेवा आयोगले परिक्षा लिँदा समेत सांकेतिक भाषालाई प्रयोगात्मक राख्नुपर्ने ज्ञवालीले सुझाव दिनुभयो ।
भेरी बहिरा संघ अध्यक्ष नम्रता भारतीले सरकारी कार्यालयहरुमा सांकेतिक भाषामा सेवा प्रवाह नहुँदा आफुहरु सरकारी सेवाको पहुँचबाट बञ्चित हुनुपरेको बताउँदै कर्मचारीहरुले यो भाषा तालिम सिकेर सेवामा आफुहरुको पहुँच पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाले सांकेतिक भाषाबाट हरेक कार्यालयबाट सेवा दिन आवश्यक रहेको औँल्याउँदै गाउँ गाउँसम्म सांकेतिक भाषाको तालिम दिनुपर्ने माग गर्नुभयो । अनि मात्रै आफुहरुजस्ता बहिरा अपाङ्गता भएका व्यक्तीहरुको पहुँच हरेक क्षेत्रमा पुग्ने उहाको भनाई छ । तालिममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुर्खेतका सचिव यज्ञ प्रसाद देवकोटाले पनि आफ्ना भनाई राख्नुभएको थियो ।
तालिममा वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडाका कर्मचारी, जिल्ला अदालत सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत, कर्णाली प्रदेश प्रहरी कार्यालय लगायका कार्यालयका १६ जना कर्मचारीहरु सहभागी भएका छन् ।
कर्मचारीहरुलाई सांकेतिक भाषाको तालिमः बहिरा अपाङ्गता भएका व्यक्तीहरुलाई सेवा लिन सहज हुने
कर्मचारीहरुलाई सांकेतिक भाषाको तालिमः बहिरा अपाङ्गता भएका व्यक्तीहरुलाई सेवा लिन सहज हुने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
