सुर्खेत । आफै हिंडेर उपचारका लागि अस्पतालमा पुगेकी एक युवतीको ज्यान गएपछि कर्णाली प्रदेश अस्पतालमा तनाव भएको छ ।
दैलेखको आठबीस नगरपालिका—५, पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामी पेट दुखेपछि उपचारका लागि केही दिनअघि सुर्खेत आउनुभयो ।
सुर्खेतको वीरेन्द्रनगरस्थित एक निजी अस्पतालमा चेकजाँच गराउँदा पाठेघरमा समस्या देखियो । त्यसपछि उहा देशकै उत्कृष्ट मानिएको कर्णाली प्रदेश अस्पताल जाने निधो गर्नुभयो । बिहीबार बिहानै उहा प्रदेश अस्पताल भर्ना हुनुभयो ।
अस्पतालमा परीक्षण गराउँदा ४ महिनाअघि सुत्केरी हुँदा पाठेघरमा सालनालका केही अंश बाँकी रहेको पाइएको चिकित्सकले बताए । विवाहित उहाको यसअघि ८ महिनाको बच्चा पनि रहेको स्थानीयको भनाइ छ ।
चिकित्सकका अनुसार उहाको पाठेघर सफा गर्नुपर्ने भयो । भीमाको पेटमा केही महिनाको बच्चासमेत थियो ।
पाठेघर सफा गर्दैगर्दा केही समयपछि नै अस्पतालले उनलाई एक्कासि मृत घोषणा गरेको भीमाका जेठाजु हर्कबहादुर बलामीको दाबी छ ।
‘हामी बाहिर बसिरहेको थियौँ, एक्कासि शव बुझ्न भनेपछि हामी त अचम्मित भयौँ,’ उहाले भन्नुभयो, ‘हिँडेर अस्पताल गएकी भाइबुहारीको एक्कासि शव बुझ्नभन्दा पत्याउन सकिने कुरै थिएन ।’
हर्कका अनुसार अस्पतालले बिहीबार दिउँसो ३ बजेतिर भीमालाई मृत घोषणा गरेको थियो ।
परिवारलाई भेट्नै नदिई एक्कासि रगत अभाव भयो भन्दै रगत मगाएको र केही समयमै मृत घोषणा गरेको उनको भनाइ छ ।
यसपछि आक्रोशित आफन्तहरूले डाक्टरको लापरबाहीले भीमाको मृत्यू भएको भन्दै आन्दोलन गरिरहेका छन् ।
‘यो प्रदेश अस्पतालले सामान्य पेट दुखेको मान्छेलाई उपचार गर्न नसकेर मार्छ भने प्रदेश अस्पताल कसका लागि र किन,’ हर्क भन्छन्, ‘तत्काल छानबिन गरी यस्ता गैरजिम्मेवार डाक्टरलाई बर्खास्तसँगै कानुनी कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’ भीमाको मृत्युसँगै अस्पताल परिसर तनावग्रस्त भएको छ ।
घटनाको छानबिन र उचित क्षतिपूर्ति हुनुपर्ने माग आफन्तहरूले गरेका छन् । चरणबद्ध आन्दोलन तयारी आफन्तहरूले गरेका छन् ।
प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो । ‘उहाँको अवस्था गाह्रो नै थियो भन्ने रिपोर्ट छ, अपरेसन गर्दा भ्रूण फाल्नुपर्ने हुँदा त्यस क्रममा मृत्यु भएको जानकारी आएको छ,’ उहाले भन्नुभयो, ‘अझै टेक्निकल विषयमा के भएको हो, आज हामी छलफल गर्दैछौँ ।’
कर्णाली प्रदेश अस्पताललाई देशकै उत्कृष्ट भनिए पनि सेवा प्रवाहका विषयमा भने व्यापक प्रश्न उठ्ने गरेका छन् ।
प्रदेश अस्पताल सुर्खेतको लापरवाहीले युवतीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पतालमा तनाव
प्रदेश अस्पताल सुर्खेतको लापरवाहीले युवतीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पतालमा तनाव

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु