सुर्खेत । अपाङ्गता भएका व्यक्तीहरुको खण्डिकृत तथ्याङ्क संकलन गर्न कर्णाली प्रदेशबाट सुझाव संकलन गरिएको छ ।
युएनडिपीको आर्थिक सहयोगमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले शुक्रबार कर्णाली प्रदेश राजधानी सुर्खेतमा कार्यशालाको आयोजना गरि “अपाङ्गता भएका व्यक्तिहरूको खण्डिकृत तथ्याङ्क संकलनको लागि सरोकारवालाहरुसँग सुझाव संकलन गरेको हो ।
कार्यशालामा सरोकारवालाहरुले अपाङ्गताको विविधताका आधारमा वर्गीकरण पनि वृद्धि हुँदै गएपनि राज्यले अपाङ्गताको विविधतालाई बुझ्न नसकेको बताएका छन् ।
उनिहरुले सरकारले सञ्चालन गर्ने जनगणनाबाट अपाङ्गताको एकिन तथ्याङ्क आउन नसकेको भन्दै अपाङ्गता भएका व्यक्तीहरुको मात्रै गणना हुनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेशका कोषाध्यक्ष सुरेश खड्काले कृषि गणना, औद्योगिक गणना छुट्टै गरिने गरिएको भन्दै अपाङ्गता भएका व्यक्तीहरुको पनि त्यसैगरी छुट्टै गणना गर्नुपर्ने सुझाव दिनुभयो । राष्ट्रिय जनगणनाका अलवा कृषि र औद्योगिक गणना छुट्टै हुने गरेको छ, त्यसो गरिरहँदा अपाङ्गता भएका व्यक्तीहरुको मात्रै छुट्टै गणना किन हुन सक्दैन ? उहाले भन्नुभयो ।
उहाले अपाङ्गता पनि जातियता, क्षेत्रियता रहेको भन्दै त्यही अनुसारको तथ्याङ्क हुनुपर्नेमा बताउनुभयो ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका कर्णाली प्रदेश अध्यक्ष विष्णु शर्माले विगतमा सञ्चालन भएका राष्ट्रिय जनगणनाले अपाङ्गताको सही तथा यकिन तथ्याङ्क प्राप्त हुन नसक्दा राज्यका विभिन्न तहमा अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता हुन नसकेको बताउनुभयो ।
जसले गर्दा राज्यले प्रदान गर्ने सेवा सुविधा कटौती भइरहेको भन्दै अपाङ्गता भएका व्यक्तिहरुको विस्तृत तथ्याङ्क लिनको लागि राष्ट्रिय स्तरमा अपाङ्गता भएका व्यक्तिहरुलाई मात्रै लक्षित गरेर छुट्टै गणना गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै परियोजना संयोजक रिता कटुवालले राष्ट्रिय जनगणनाले अपाङ्गता भएका व्यक्तीहरुको समेत तथ्याङ्क लिने गरेको भएपनि धेरै अपाङ्गता भएका व्यक्तीहरु छुटेको बताउनुभयो ।
उहाले अपाङ्गता भएका व्यक्तीहरुको मात्रै छुट्टै गणना गर्न सके मात्रै उनिहरुको एकिन तथ्याङ्क आउन सक्ने र हरेक क्षेत्रमा अर्थपूर्ण सहभागिता गराउन सहज हुने उल्लेख गर्नुभयो ।
खण्डिकृत गरेर एकिन तथ्याङ्क राख्ने जिम्मेवारी स्थानीय सरकारको भएको भन्दै कटुवालले स्थानीय सरकार संचालन ऐन २०७४ ले पनि यस्तो अधिकार दिएको बताउनुभयो ।
परियोजनाले यही विषयलाई फोकस गरेर काम गरिरहेको समेत उहाले जानकारी गराउनुभयो ।
कार्यशालामा अपाङ्गता भएका व्यक्तीहरुको खण्डिकृत तथ्याङ्क संकलनको लागि तयार गरिएका प्रश्नावलीहरुको प्रस्तुतीकरण गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका कोषाध्यक्ष कुमार रेग्मी, वीरेन्द्रनगर नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सरला रेग्मी, तथ्याङ्क कार्यालय सुर्खेतका सिता तिमिल्सेना, अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
अपाङ्गता भएका व्यक्तीहरुको खण्डिकृत तथ्याङ्क संकलन गर्न कर्णालीबाट सुझाव संकलन
अपाङ्गता भएका व्यक्तीहरुको खण्डिकृत तथ्याङ्क संकलन गर्न कर्णालीबाट सुझाव संकलन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
