सुर्खेत । कर्णालीमा पहिलो पटक ‘संस्कृतिको उत्सव’ सुरु भएको छ। ‘खस भूमिमा लेखन र पठन संस्कृति’ को विकास गर्ने उद्देश्यसहित उक्त उत्सवको सुरुवात गरिएको हो । कार्यक्रमको उद्घाटन कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले गर्नुभएको छ ।
उद्घाटन समारोहमा बोल्दै परियारले कर्णालीको विगत गौरवपूर्ण रहेको बताउनुभयो। योगी नरहरीनाथको जन्म भएको प्रदेश भएकाले यहाँ अध्ययनका लागि थुप्रै पुस्तकहरुको जन्म उहाँबाट भएको कुरा उल्लेख गर्दै उहाले भन्नुभयो, ‘उहाँले थुप्रै किताबहरु लेख्नुभएको छ, उहाँसँग मेरो पहिलो भेट ०३५ सालमा दिल्लीमा भएको थियो,त्यहाँ भएको पहिलो भेटमै प्रभावित भएको थिएँ ।
लेख्ने, पढ्ने, सोच्ने कुरालाई नयाँ तरिकाले विकास गर्ने कुरामा जोड दिएर अघि बढ्नुपर्ने उहाले बताउनुभयो ।
कर्णाली रिडर्स सोसाइटीद्धारा सञ्चालित कार्यक्रम कर्णालीको भाषा, साहित्य तथा संस्कृतिको विकास गर्ने उद्देश्यसहित सञ्चालन गरिएको हो।
उत्सवमा योगी नरहरीनाथदेखि कर्णालीको इतिहासका विषयमा लेखिएका पुस्तकहरू प्रद्धशनीमा राखिएको छ। कर्णालीका विषयमा लेखिएका करिब ५ सय पुराना पुस्तकहरू संकलन गरिएको कार्यक्रमका संयोजक डाक्टर नवराज केसीले बताउनुभयो ।
उत्सवमा देशभरका साहित्यकार, कवि, विद्धान लेखकहरूको उपस्थिति रहेको छ।
