सुर्खेत । भोलि शनिबार वीरेन्द्रनगरमा प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको छ । शुक्रवार आयोजित पत्रकार सम्मेलनमा म्याराथन तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुन लागेको पहिलो म्याराथन भएकाले स्थापित धावकलाई प्रोत्साहन गरिएको आयोजक रेस नेपालका अध्यक्ष टीएस ठकुरीले बताए । कर्णाली हाफ म्याराथनमा दौडन राष्ट्रिय रूपमा स्थापित धावकहरूले नाम दर्ता गराइरहेका छन् ।
नेपालगञ्ज म्याराथनको यात्रा दशक पुगेको अवसरमा दौड संस्कृतिको विकास गर्न भन्दै यस वर्षदेखि कर्णाली हाफ म्याराथन सुरु गरेको हो । दुवै म्याराथनको व्यवस्थापन क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टले गर्दै आएको छ ।
पहिलोपटक हुन लागेको कर्णाली हाफ म्याराथनलाई क्रमिक रूपमा दौड संस्कृतिको विकाससँगै पर्यटन प्रवर्द्धन गराउने इभेन्टका रूपमा स्थापित गराउने आयोजकको योजना छ । आसन्न १० राष्ट्रिय खेलकुदलाई प्रवर्द्धन गर्ने गरी कर्णाली हाफ म्याराथन आयोजना रेस नेपालले जनाएको छ । कर्णाली हाफ म्याराथनमा केएल दुगड ग्रुपको ज्ञान खाद्यान्नले टाइटल स्पोन्सरका रूपमा सहकार्य गर्ने भएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्सँगको आर्थिक सहयोग साझेदारी तथा अन्य स्थानीय पालिका एवं निजीक्षेत्रको सहयोगमा कर्णाली हाफ म्याराथन हुन लागेको हो । कर्णाली हाफ म्याराथनका लागि सम्पूर्ण संयोजनको जिम्मेवारी वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान मेयर देवकुमार सुवेदीलाई दिइएको रेस नेपालका अध्यक्ष ठकुरीले बताउनुभयो ।
आसन्न दशौँ राष्ट्रिय खेलकुदलाई प्रवर्द्धन गर्नेगरी कर्णाली हाफ म्याराथन आयोजना गर्न लागिएको हो । पहिलो संस्करणको सफलतासँगै हरेक वर्ष उपयुक्त समयमा कर्णाली हाफ म्याराथन आयोजना गरिनेछ । विधाहरू थप गर्दै लगिने अध्यक्ष ठकुरीले बताउनुभयो ।
म्याराथनको विजेता महिला तथा पुरुषलाई समान ५५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यस्तै, दोस्रो स्थान प्राप्त गर्नेलाई ३० हजार र तेस्रो स्थान हासिल गर्नेलाई समान २० हजार रुपैयाँ नगदले पुरस्कृत गरिने ठकुरीले बताउनुभयो ।
हाफ म्याराथनमा पुरुष ४५ वर्षमाथि उमेर समूहका शीर्ष तीन धावकलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै, विद्यालय तहका छात्र एवं छात्रातर्फ शीर्ष तीनलाई १० हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार प्रदान गरिनेछ । कर्पोरेटतर्फका विजेतालाई विशेष प्याकेजद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
वीरेन्द्रनगरमा प्रथम ज्ञान कर्णाली हाफ म्याराथन, विजेतालाई ५५ हजार पुरस्कार
वीरेन्द्रनगरमा प्रथम ज्ञान कर्णाली हाफ म्याराथन, विजेतालाई ५५ हजार पुरस्कार

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु