सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले पशु स्वास्थ्य क्षेत्रमा कर्णालीका युवाको सहभागिता देख्दा गौरव महसुस भएको बताउनुभएको छ ।
पशु स्वास्थ्य तथा पशु सेवा परिषद्को आयोजनामा मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो ।
कर्णाली प्रदेश विगतमा कृषि र पशुपालनबाट आत्मनिर्भर रहेको इतिहास सुनाउँदै उहाले आधुनिक समयमा आउँदा परनिर्भरतातर्फ गएकोतर्फ चिन्ता व्यक्र गर्नुभयो ।
उहाले भन्नुभयो, “कर्णाली आर्थिक, सामाजिक, राजनीतिक र आधुनिक समाजका हिसावले महत्वपूर्ण रहेको प्रदेश हो । यो प्रदेश विगतमा कृषि र पशुपालनमा आत्मनिर्भर थियो, तर अहिले परनिर्भरतातर्फ धकेलिएको छ, यसलाई सुधार्नुपर्ने जिम्मेवारी हामी सबैको हो ।”
देशको अर्थतन्त्र बढाउनुमा कृषि र पशु पालन क्षेत्रको ठूलो योगदान रहेको भन्दै युवाहरुको सोच उत्पादनमुखि हुनुपर्नेमा उहाको जोड छ ।
मन्त्री केसीले आगामी निती कार्यक्रम र वजेटमा कृषि र पशुपालन क्षेत्रलाई प्रथामिकता दिने प्रतिवद्धता जनाउनुभयो ।
यस्तै मन्त्री केसीले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुको सेवालाई गुणस्तरीय बनाउनु पर्ने, ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता र पशु सेवा व्यवसायीहरुको दर्ता र नियम गर्ने उदेश्यका साथ स्थापना भएको परिषद्ले थप अग्रसर भएर काम गर्नुपर्ने सुझाव दिनुभयो ।
कर्णाली प्रदेश भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर नरहरी प्रसाद घिमिरेले पनि कर्णाली प्रदेश सरकारले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुको सेवालाई गुणस्तरीय बनाउन बाटो खुल्ला गरेको बताउँदै आगामी नीति कार्यक्रममा समेत यो क्षेत्र प्राथमिकतामा पर्ने बताउनुभयो ।
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुलाई अभिमुखीकरण
कार्यक्रममा परिषद्का रजिस्ट्रार पुर्णबहादुर बुढाले परिषद्का काम कारवाहीका बारेमा जानकारी गराउनुभएको थियो ।
बुढाले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन २०७९ को परिच्छेद २ को दफा (३) ले दिएको अधिकार वमोजिम सोही ऐनको दफा (५) को उपदफा (६) बमोजिम यस परिषद्को समिति गठन नेपाल सरकार (मन्त्री परिषद्) को मिति २०८० साल कार्तिक १६ गतेको निर्णय अनुसार समितिले आफ्ना गतिविधिहरु संचालन गरिरहेको बताउनुभयो ।
उहाका अनुसार परिषद्मा नेपाल पशु चिकित्सा परिषद्मा दर्ता भएका र हुन योग्य जनशक्ति बाहेकका पशु विज्ञान, मत्स्य विज्ञान र दूग्ध विज्ञान क्षेत्रका ग्रामिण पशु स्वास्थ्य कार्यकर्तादेखि उच तहका विषय विशेषज्ञ सम्मका सम्पूर्ण प्राविधिक जनक्तिलाई दर्ता र नियमन गर्न परिषद् गठन भएको हो ।
यस्तै, संघीय ऐनको परिधिभित्र रहेर प्रदेश कानुन बनेमा प्रदेश कानुनले तोकेको निकायले पनि उक्त जनशक्ति दर्ता गर्न सक्ने व्यवस्था रहेको रजिस्ट्रार बुढाले बताउनुभयो ।
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुलाई कर्णाली प्रदेश स्तरीय अभिमूखीकरण कार्यक्रममा पशु चिकित्सक अध्यन गरिहरको विद्यार्थी स्थानीय तहका पशु शाखा प्रमुख लगायतको सहभागिता रहेको थियो ।
परिषद्ले कर्णाली प्रदेशमा रहेका पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीलाई ऐन नियम र आचार संहिता सम्बन्धी अभिमूखीकरण दिएको हो ।
