प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।
जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको हो । सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेलाई पत्र पठाएर प्रतिनिधि सभाको ७ जेठको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन भन्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन चाहिन्छ ।
२०७९ साल पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो ।
यसअघि कांग्रेस सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले ३० फागुनमा तेस्रो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनले १५७ सांसदको समर्थन पाउनुभएको थियो ।
उहाले ६ चैतमा दोस्रोपटक र २६ पुसमा पहिलोपटक विश्वासको मत पाउनुभएको थियो । पहिलोपटक विश्वासको मत लिँदा २६८ सांसदको अभूतपूर्व समर्थन पाएका प्रचण्डले दोस्रोपटक १७२ सांसदको साथ पाउनुभएको थियो । तेस्रोपटक उहाले दोस्रोपटकको तुलनामा १५ मत कम पाउनुभएको थियो ।
सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने संसदीय समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने प्रतिनिधि सभा बैठकमा अवरोध गर्ने चेतावनी दिएको छ । त्यसको रणनीति बनाउन कांग्रेसले आज बिहान संसदीय दलको बैठकसमेत बोलाएको छ ।
प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत लिँदै
प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत लिँदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
