सुर्खेत । अत्याधिक गर्मी बढेपछि सुर्खेत वीरेन्द्रनगरभित्रका विद्यालयहरु आइतबारदेखि बन्द हुने भएका छन् ।
अत्याधिक गर्मी बढेको भन्दै नीजि विद्यालयहरुको छाता संगठन प्याव्सनले यही २० गते आइतबारदेखि एक हप्तासम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
आज वीरेन्द्रनगरको तापक्रम करिब ४० डिग्री मापन भएको छ । गर्मीले बालबालिकाहरुको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको प्याव्सन सुर्खेतका अध्यक्ष बेद प्रकाश ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यमा हुन सक्ने असरलाई मध्यनजर गर्दै सामुहिक छलफलपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको बताउनुभयो ।
यता, वीरेन्द्रनगरभित्रका सामुदायिक विद्यालयहरु पनि बन्द गर्ने तयारी गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा प्रमुख धिरेन्द्र शर्मा लम्सालले गर्मी अत्याधिक बढेको भन्दै वीरेन्द्रनगरभित्रका विद्यालयहरु बन्द गर्ने तयारी गरिएको जानकारी गराउनुभयो । तर निर्णय भने भइनसकेको उहाको भनाई छ ।
“गर्मी बढेपछि हामीले नगरभित्रका विद्यालय बन्द गर्ने तयारी गरिरहेका छौँ, यदी बर्षा भई तापक्रम घट्यो भने विद्यालयहरु बन्द हुँदैनन्, उहाले भन्नुभयो,” “गर्मी यही अवस्था कायम रहे आइतबारदेखि विद्यालय बन्द गर्ने निर्णय गर्छौ ।”
खोप कार्यक्रम प्रभावित
जेठ १३ देखि २६ गतेसम्म पोलियो रोग विरुद्धको खोप अभियान सुरु भइरहेको छ ।
विद्यालसँगको समन्वयमा खोप कार्यक्रम संचालन गर्ने तालिका तय गरिएपनि विद्यालय बन्द हुने भएपछि खोप अभियान नै प्रभावित हुन पुगेको हो ।
सुर्खेतका पालिकाहरुमा दुइ चरणमा खोप अभियान संचालन गरिएको छ । वीरेन्द्रनगर, गुर्भाकोट, पञ्चपुरी नगरपालिका सिम्ता, वराहाताल र चौकुने गाउँपालिकामा २२ गतेदेखि २५ गतेसम्म खोप अभियान संचालन गर्ने तालिका छ ।
तर गर्मी बढेसँगै विद्यालय बन्द हुने भएपछि खोप तालिका समेत प्रभावित बनेको हो ।
विद्यालयसँगको समन्वयमा खोप अभियान संचालन भइरहेको भन्दै वीरेन्द्रनगर नगरपालिकाका विद्यालय बन्द भए आफुहरुले खोप अभियान तालिका परिवर्तन गर्ने जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका खोप फोकल प्रसन घन बहादुर बुढाले बताउनुभयो ।
“हाम्रो खोप अभियानको पहिलो चरण संचालन गरिरहेका छौँ, बुढाले भन्नुभयो विद्यालयको समन्वयमा खोप अभियान चलाउने भनिएको छ, वीरेन्द्रनगरका विद्यालय बन्द भए हाम्रो तालिकामा पनि प्रभाव त पर्यो नै अब खो लगाउने तालिका सार्छौ ।”
गर्मी बढेपछि आउँदो आइतबारदेखि वीरेन्द्रनगरका विद्यालयहरु बन्द हुने
गर्मी बढेपछि आउँदो आइतबारदेखि वीरेन्द्रनगरका विद्यालयहरु बन्द हुने

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु