सुर्खेत । विपदबाट हुने क्षती न्युनिकरण गर्न सबै पक्षले हातेमालो गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
कर्णाली प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले रुकुम पश्चिममा आयोजना गरेको योजना तर्जुमा पक्रियामा जलवायु परिवर्तन मुल प्रवाहिकरण तथा विपद् जोखिम व्यवस्थापन गोष्ठीमा सहभागि भएका सरोकारवाला व्यक्तीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा सहभागि भएका स्थानीय तहका जनप्रतिनिधिहरुले जलवायु परिवर्तन र त्यसबाट निम्तिने विपद्का घटनाको सामाना गर्न सबै पक्षले हातेमालो गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै चौरजहारी नगरपालिका उपप्रमुख इश्वरी कुमारी शर्मा विएमले विपद्बाट क्षती पुगेको रुकुम पश्चिम अहिले पिडामा रहेको बताउनुभयो ।
उहाले भुकम्पका कारण क्षति पुगेका संरचनाहरुको निर्माणको लागि वजेटको आवश्यकता रहेको बताउँदै यसतर्फ माथिल्लो तहका सरकारले योजना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
सानोभेरी गाउँपालिका उपाध्यक्ष कमला रोका पुनले पनि ऐन नियम राम्रो भएपनि कार्यविधि अभावका कारण काम गर्न असहज भइरहेको भन्दै विपद्को तयारी सधै गरिरहनुपर्नेमा जोड दिनुभयो ।
उहाले विपद् व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारले मात्रै नभइ तिनै तहका सरकार र अन्य नीकायले हातेमालो गरेर गर्नुपर्ने बताउनुभयो ।
गोष्ठीमा कर्णाली प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुख शेर बहादुर श्रेष्ठले विपद् व्यवस्थापन र जलवायु परिवर्तनको असर न्युनिरकणमा प्रदेश सरकारले गरेका कामको बारेमा जानकारी गराउनुभएको थियो ।
उहाले आगामी बर्ष संचालन गरिने काठको व्यवस्थापन र अन्य क्रियाकलापहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
गोष्ठीमा आफ्नो प्रस्तुती राख्दै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका वन अधिकृत रेणुका न्यौपानेले मनसुनजन्य विपदको व्यवस्थापनका उपायका बारेमा जानकारी गराउनुभयो ।
उहाले सबैभन्दा धेरै विपद्का घटना मनसुनको बेला हुने भन्दै यसको न्युनिकरणका लागि योजना निर्माण गर्न आवश्यक रहेको औँल्याउनुभयो ।
विपद् न्युनिकरण तथा व्यवस्थापनका सम्बन्धमा जलवायु परिवर्तन सहयोग कार्यक्रम एनसीसीएसपीका तुलसी आचार्यले रुकुम कल्ष्टरमा भएका कार्यको बारेमा जानकारी गराउनुभयो ।
कार्यक्रममा बोल्दै रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद रेग्मीले विपद् व्यवस्थापनको लागि विपद व्यवस्थापन समिति तयारी अवस्थामा रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्व समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतम केसी लगायत स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।