सुर्खेत । सुर्खेतका पानी उद्योगहरुको आज अनुगमन गरिएको छ ।
उद्योग तथा उपभोक्ता हित निर्देशनालयको नेतृत्वमा सुर्खेतमा संचालित पानी उद्योगहरुको अनुगमन गरिएको हो । पानीको मुल्य बढेको गुनासो आएपछि उद्योगहरुको अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रशासकीय अधिकृत थिर बहादुर श्रेष्ठले बताउनुभयो । अनुगमनको क्रममा लो भोल्टेजका कारण सुर्खेतमा संचालित ६ वटा उद्योगहरु बन्द हुने अवस्थामा पुगेका भन्दै पानीको मुल्य बढाउन बाध्य भएको उद्योगीहरुले बताएका छन् ।
उनिहरुले पहिले १४० रुपैयाँ कार्टुन बेच्दै आएको पानी अहिले १ सय ६० मा विक्रि गर्ने गरिएको बताएका छन् । तर उपभोक्ताहरुले बजारमा भने पानीको मुल्य एक लिटरको ३० रुपैयाँसम्म तिर्ने गरेका छन् ।
उद्योगहरुबाट केही लिटरमा दुइ रुपैयाँ मात्रै बढेर १३ रुपैयाँमा विक्रि हुने गरेको भएपनि बजारमा भने लिटरको ३० रुपैयाँ पर्ने गरेको हो ।
उनिहरुले गत २ महिनादेखि लो भोल्टेजले पानी उद्योगहरु बन्द हुने अवस्थामा पुगेको भन्दै उद्योगीहरुले विद्युतको समस्या समाधान गरिदिन माग गरेका छन् । दैनिक १२ हजार लिटर पानी उत्पादन गर्दै आएको बाङ्गेसिमलमा संचालनमा रहेको एक्वान्स पानी उद्योगले लो भोल्टेजका कारण उत्पादन बन्द गरेको छ । पानी उत्पादन बन्द हुँदा अहिले बाँकेको नेपालगञ्जबाट पानी किनेर आफ्ना ग्राहकलाई वितरण गरिरहेको संचालक अविनास थानीले बताउनुभयो । दैनिक ५० हजारभन्दा धेरै घाटा भइरहेको भन्दै विद्युतका कारण उद्योग चलाउन समस्या भएको दुखेसो गर्नुभयो ।
तिला कर्णाली पानी प्रशोधन उद्योगका संचालक जगत शाहीले पनि विद्युत लो भोल्टेजका कारण सानो बोत्तलको पानी उत्पादन २ महिनादेखि बन्द गरिएको बताउनुभयो । दैनिक १५ हजारभन्दा धेरै पानी उत्पादन गर्दै आएको भएपनि अहिले बन्द रहेको बताउनुभयो । तर जारमा भने उत्पादन नरोकिएको बताउनुभयो ।
यस्तै, मध्यपश्चिम पानी प्रशोधन उद्योगले जेनेरेटरको सहायतामा पानी प्रशोधन गरेर बजार पठाइरहेको बताएको छ । उद्योगलाई जोगाई राख्नको लागि घाटामा पानी प्रशोधन गरिरहेको संचालक कृष्ण आचार्यले बताउनुभयो । दुइदिनसम्म लो भोल्टेजको समस्या समाधान नभए आफुले उद्योग बन्द गर्ने स्थितिमा पुगेको दुखेसो गर्नुभयो । स्वदेशमै केही गर्छु भनेर आफुले उद्योगमा लगानी गरेको भन्दै विद्युतका कारण बन्द गर्नुपर्ने अवस्था आउन थालेको बताउनुभयो । यो उद्योगमा अहिले ४३ जनाले रोजगारी गरिरहेका छन् ।
सुर्खेतका पानी उद्योगहरुको अनुगमनः विद्युतको लो भोल्टेजका कारण उद्योगहरु बन्द हुने अवस्थामा
सुर्खेतका पानी उद्योगहरुको अनुगमनः विद्युतको लो भोल्टेजका कारण उद्योगहरु बन्द हुने अवस्थामा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
