सुर्खेत । देशका धेरै ठाउँमा पानी परिरहेको छ । पछिल्लो छ घण्टामा सबैभन्दा धेरै दैलेख र अछाममा बर्षा भएको छ । अछामको मंगलसेन र दैलेखको डण्डामा ठूलो पानी परेकाले त्यस क्षेत्र आसपासका खोलानालामा बाढी आउने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । पूर्वदेखि पश्चिमसम्म नै मनसुनी वायु सक्रिय भएकाले धेरै ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजो दैलेख ओखलढुङ्गा, सङ्खुवासभा, सुनसरी, उदयपुर, इलाम, धनकुटा, लमजुङ, कास्की, मोरङ, झापा, रोल्पा, र बागलुङमा बाढी आउने गरी पानी परेको थियो । आज पनि कर्णाली, सुदुरपश्चिम, लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हिजो मात्रै विभिन्न जिल्लामा ४४ वटा विपदजन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा १४ जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता छन् ।
प्राधिकरणका प्रवक्ता उपसचिव डाक्टर डिजन भट्टराईले घटनामा १० जना घाइते भएका र सबै क्षेत्रमा गरेर १९ लाखभन्दा बढी आर्थिक क्षति भएको जानकारी दिनुभयो ।
प्राधिकरणका अनुसार पहिरोबाट आठ जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । चट्याङबाट पाँच जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । बाढीबाट एक जनाको ज्यान गएको छ भने दुई जना बेपत्ता भएका छन् । एक जना घाइते छन् ।
कर्णाली प्रदेशका केही ठाउँमा भारी बर्षाको सम्भावनाः सबैभन्दा धेरै दैलेख र अछाममा बर्षा
कर्णाली प्रदेशका केही ठाउँमा भारी बर्षाको सम्भावनाः सबैभन्दा धेरै दैलेख र अछाममा बर्षा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
