सुर्खेत । कर्णाली प्रदेशमा कृषि उत्पादन वृद्धि गर्दै किसानलाई प्रोत्साहन गर्न तीनै तहका सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भएपनि उत्पादन भने घट्दो रहेको पाइएको छ ।
तीन तहका सरकारले कर्णालीको कृषिलाई उच्च प्राथमिकता दिए पनि कृषि बालीको उत्पादनमा सकारात्मक परिवर्तन आउन नसकेको नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷८१ को अर्धवार्षिक प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार कृषि क्षेत्रमा सरकारी लगानी बढेको पाइए पनि उत्पादन भने घट्दै गएको छ ।
राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार कर्णालीको कृषिबालीको उत्पादन ३.५३ प्रतिशतले ह्रास आई ११ लाख ५१ हजार चार सय ३३.६१ मेट्रिकटन कायम भएको छ । गत आर्थिक वर्षको यही अवधिमा उत्पादन ८.७६ प्रतिशतले वृद्धि भएको थियो
समीक्षा अवधिमा कर्णालीको खाद्य तथा अन्य बालीको उत्पादनमा ३.०५ प्रतिशतले ह्रास आई आठ लाख ३५ हजार ६ सय ९५ मेट्रिकटन कायम भएको पाइएको राष्ट्र बैंकका कर्णाली प्रादेशिक कार्यालयका प्रमुख बाबुराम कोइरालाले बताउनुभयो । गत आवमा यस्तो उत्पादन १०.६२ प्रतिशतले वृद्धि भएको थियो ।
समीक्षा अवधिमा प्रमुख कृषिमध्ये धान बालीको उत्पादन १२.०४ प्रतिशतले वृद्धि भई एक लाख ४५ हजार ६३ मेट्रिकटन पुगेको छ ।
गत वर्षको सोही अवधिमा यस्तो उत्पादन २.०५ प्रतिशतले वृद्धि भएको थियो । गत आवको सोही अवधिमा ९.२१ प्रतिशतले वृद्धि भएको मकै उत्पादन ७.६१ प्रतिशतले घटेको छ । गहुँ उत्पादन गतको तुलनामा ०.४३ प्रतिशतले वृद्धि भई एक लाख ८८ हजार तीन सय २४ मेट्रिकटन पुगेको कोइरालाले बताउनुभयो ।
कोदो, जौ र फापरको उत्पादनमा क्रमशः १६.७३ प्रतिशत, १८.९८ र २५.६९ प्रतिशतले ह्रास आएको प्रतिवेदनको तथ्याङ्कले देखाएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीले बताउनुभयो ।
उहाका अनुसार गत आवको सोही अवधिमा उक्त बालीको उत्पादन क्रमशः ४५.९४ प्रतिशत, ४५.४९ प्रतिशत र १९.७७ प्रतिशतले वृद्धि भएको थियो ।
गत आवमा १.२४ प्रतिशतले वृद्धि भएको दलहन उत्पादन समीक्षा अवधिमा ७.५६ प्रतिशतले घटेर १७ हजार आठ सय ७९ मेट्रिकटन कायम भएको छ ।
कर्णाली प्रदेशमा तेलहन उत्पादन ४६.१९ प्रतिशतले वृद्धि भएको छ भने गत आवको यही अवधिमा यस्तो उत्पादन ४.०७ प्रतिशतले वृद्धि भएको थियो ।
यसैबिच, प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा कर्णालीमा तरकारी तथा बागबानी उत्पादन ५.२९ प्रतिशतले ह्रास आई एक लाख ८१ हजार तीन सय ६८ मेट्रिकटन कायम भएको उल्लेख गरिएको छ ।
गत वर्ष यस्तो उत्पादन ६.८२ प्रतिशतले वृद्धि भएको थियो । गत वर्ष ७.४९ प्रतिशतले वृद्धि भएको तरकारी उत्पादनमा ६.४६ प्रतिशतले ह्रास आएको छ ।
स्थानीय सरकारबाट तरकारी र बागबानी उत्पादनमा लगानी अभिवृद्धि भए पनि उत्पादनमा प्रभावकारी नीति कार्यान्वयनको नतिजा सकारात्मक आउन केही समय लाग्ने भएकाले समीक्षा अवधिमा उक्त बालीको उत्पादनमा सकारात्मक परिवर्तन नदेखिएको राष्ट्र बैंकका कर्णाली प्रादेशिक कार्यालयका प्रमुख कोइरालाले बताउनुभयो ।
प्रदेशभित्र फलफूल तथा मसला उत्पादनमा ४.३३ प्रतिशतले ह्रास आएको छ ।