सुर्खेत । बुवा धर्मराज शर्मा र आम इन्द्रकला शर्माको कोखबाट दैलेखको भैरवी गाउँपालिका वडा नम्बर ४ मा जन्मिएका दुर्गा प्रसाद रिजाल दृष्ट्रि सम्बन्धि अपाङ्गता हुनुहुन्छ । ३७ बर्षका रिजाल आंशिक दृष्ट्रिबिहीन हुनुहुन्छ । बुवा आमाको कृषि पेशा थियो, कृषिबाट मात्रै घर खर्च धान्न, शिक्षा दिक्षा गर्न गाह्रो थियो । उहाँको बुवा भारतमा गएर सिजिनल रोजगारी गर्नुहुन्थ्यो ।
सानैदेखि संघर्षशिल दुर्गाको बाल्यकाल गाउँमै वित्यो । सानो कक्षा गाउँकै गौरी प्रावी बालाकाँडामा पढ्नुभयो । पाँच कक्षासम्म त्यही विद्यालयमा पढ्नुभएका उहाको पढाईप्रतिको लगाव राम्रो थियो ।
घरको आर्थिक अवस्था कमजोर थियो । दुर्गा भन्नुहुन्छ, “हामी दुई भाइ, पढाई गर्नुपर्ने घर खर्च चलाउनुपर्ने, बुवा आमालाई हम्मेहम्मे थियो । त्यती हुँदा पनि पढाईलाई भने निरन्तरता दिएँ ।”
विद्यालयमा गुरुहरुले दुर्गालाई धेरै मायाँ गर्थे । सानै कक्षादेखि राम्रो अंक ल्याएर उतिर्ण भएका उहाले घरको काम गरेर विद्यालय जानुहुथ्यो । घरको आर्थिक अवस्थाकै कारण पढेर असल व्यक्ती बन्ने लक्ष्यमा ब्रेक त लाग्दैन ? भन्ने चिन्ता पनि लाग्ने गरेको दुर्गा सुनाउनुहुन्छ ।
“मेरो पढाई राम्रो थियो, म कहिलेपनि कक्षामा फेल भइन, सानो कक्षामा सधै प्रथम हुन्थे । घरको अवस्था परिवर्तन गर्नुपर्छ, मैले केही गरेर देखाउनुपर्छ भनेर पढाईमा धेरै मेहेनत गर्थे, तर आर्थिक अभावले मेरो पढाई त रोकिन्न भन्ने पनि लाग्थ्यो । दुर्गा भन्नुहुन्छ,”
चुनौतीको समाना, अनि शैक्षिक सफलता
बुवा आमाको कमाईबाट मात्रै घर खर्च टार्न, शिक्षा दिक्षा गराउन गाह्रो थियो । जिम्मेवारी पनि बढ्दै थियो । उहाले अभावका बिचमा पनि धेरै संघर्षहरु गर्नुपर्यो । उहाले आफ्नो पढाईप्रति मेहेनत बढाई रहनुभयो । उहाले हिमालय मावी डाँडीमाडी दैलेखबाट एसएलसी पास गर्नुभयो । एसएलसीमा राम्रो अंक ल्याएर उतिर्ण हुनुभएका दुर्गाको सरकारी जागिरी खाएर सेवा गर्ने लक्ष्य थियो । प्लस टु को पढाई गराउन सक्ने अवस्था बुवा आमासँग थिएन । “अब मेरो पढाई रोकियो, पढेर आफ्नो लक्ष्य पुरा गर्ने सपना अधुरै रह्यो भन्ने चिन्तामा थिएँ । दुर्गा भन्नुहुन्छ,” “मसँग पढेका सबै साथीभाईहरु पढ्नलाई गइसके, एकातिर घरको नाजुक अवस्था छ, अर्कोतिर आफुसँगै भाइको पढाईलाई पनि निरन्तरता गराउनु छ, म धेरै सोच्न थाले । गरिबीकै कारण शिक्षा लिनबाट वञ्चित हुनुपर्ने भयो मलाई लाग्थ्यो ।”
तर उहाको रोकिन थालेको पढाईलाई अगाडी बढाउन परिलक्षित संस्थाले सहयोग गरेपछि उहाको जीवनको लक्ष्यतिर जान सहज भयो । अपाङ्गताको क्षेत्रमा काम गर्ने परिलक्षित संस्थाले आर्थिक अभाव लगायतका कारणले पढाई गर्न नसकेका अपाङ्गता भएका व्यक्तीहरुलाई सहयोग गरिहरको थाहा पाएपछि दुर्गा परिलक्षितको सम्पर्कमा जानुभयो । अनि उहालाई काठमाडौंमा पढ्ने, बस्ने लगायतका व्यवस्था परिलक्षितले गरिदिएपछि उहाले आफ्नो उच्च शिक्षाको पढाईलाई अगाडी बढाउनुभयो ।
“घरको आर्थिक अभावले गर्दा मैले पढाई नै रोक्ने निर्णयमा पुगेको थिए, उहा भन्नुहुन्छ,” “मेरो उच्च शिक्षासम्मको पढाईमा लाग्ने खर्च सबै परिलक्षित संस्थाले गरिदिएपछि मैले आफ्नो पढाईलाई निरन्तरता दिन पाएँ, म आभारी छु ।”
परिलक्षित संस्थाले पढाई मात्रै होइन, खाना बस्ने वातावरण पनि गराइदियो । उहाँलाई अझै मेहेनत गर्ने जाँगर आयो । कक्षामा कहिलेपनि फेल नभएका दुर्गाले सानैदेखि आफ्नो लक्ष्य सरकारी सेवामा लाग्नेगरी तयारी गर्नुभयो ।
लोकसेवा आयोगबाट पहिलोपटक नै पोष्टिङ
सानैदेखि पढाईप्रति मेहेनत गर्ने उहाले पढ्ने वातावरण पाउनुभयो । स्नातक तह पार गर्नुभएका उहाले सँगसँगै लोकसेवा आयोगको तयारी गर्नुभयो । गाउँमा दृष्ट्रि सम्बन्धि अपाङ्गता भएकै कारण केही गर्न सक्दैन भन्ने सोच राख्ने गरिन्थ्यो । तर उहाले रातदिन नभनेर आफ्नो पढाईमा मेहेनत गर्नुभयो । अनि २०६९ सालमा पहिलो पटक लोकसेवा आयोगको चौँथो तहमा परिक्षा दिनुभयो । पहिलो पटक नै नाम निकाल्न सफल हुनुभएका उहाले अब भने आफ्नो लक्ष्य पुरा भएको अनुभुती गर्न थाल्नुभयो । पहिलोपटक सरकारी सेवामा प्रवेश गरेका दुर्गाले धादिङमा गएर सेवा थाल्नुभयो । उहाँको सफलता अझै रोकिएन । उहाले जागिरी गर्दै पढ्दै गरेर लोकसेवा आयोगको पाँचौँ (नासु) मा समेत नाम निकाल्न सफल हुनुभयो । ४ बर्ष धादिङमा सेवा गर्नुभएका उहाँ सुर्खेतको वराहातालमा ३ बर्ष सेवा गरि अहिले डोल्पाको काइके गाउँपालिकामा सेवा दिइरहनुभएको छ । आर्थिक अभावसँगै अपाङ्गता भएका व्यक्तीहरुले पनि सफलता प्राप्त गर्न सक्छन भन्ने उदाहरण दुर्गा प्रसाद रिजालले दिनुभएको छ ।
दुर्गा भन्नुहुन्छ, “अपाङ्गता भएका व्यक्तीहरुलाई अहिले पनि केही गर्न सक्दैनन् भन्ने सोच समाजमा राखिन्छ । तर अवसर दियो भने सफलता प्राप्त गर्न सक्छन् । त्यसको लागि सोच बदल्न आवश्यक छ । अपाङ्गताको क्षेत्रमा काम गरिरहेको संस्था परिलक्षितले मलाईँ यहाँसम्म आउन धेरै सहयोग गरेको छ ।”
आर्थिक अभाव मात्रै नभई अपाङ्गता भएर शिक्षा र अन्य कुरामा पछाडी पारिएका व्यक्तीहरुको अवसर दिनेगरी काम गर्ने आफ्नो भावी योजना रहेको दुर्गा बताउनुहुन्छ ।
संघर्षबाट उदायका दुर्गाः अपाङ्गताले छेकेन सरकारी सेवा गर्ने लक्ष्य
संघर्षबाट उदायका दुर्गाः अपाङ्गताले छेकेन सरकारी सेवा गर्ने लक्ष्य

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु