सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले २१ साउनमा विश्वासको मत लिनुहुने भएको छ ।
मुख्यमन्त्री कँडेलले विश्वासको मत लिनका लागि शनिबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । यसअघि माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री भएका कँडेलले गत १३ वैशाखमा पहिलो पटक विश्वासको मत लिनुभएको थियो ।
तर संघमा कांग्रेस र एमालेको गठबन्धन बनेपछि प्रदेशमा पनि त्यहीअनुसारको गठबन्धन बनेको छ । कँडेल नेतृत्वको मन्त्रिपरिषदबाट माओवादी बाहिरिएको छ भने कांग्रेस सहभागी भएको छ । सरकारमा सहभागी दलले सरकार छाडेपछि वा समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री कँडेलले विश्वासको मत लिन लागेका हुन् ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा मुख्यमन्त्री कँडेलले विश्वासको मत पाउनका लागि २१ जनाको समर्थन पाउनुपर्छ। प्रदेशसभामा कँडेलको दल नेकपा एमालेका १० सांसद छन् भने उनलाई समर्थन गर्ने दल नेपाली कांग्रेस १४ सांसद छन् ।
यसबाहेक नेकपा माओवादी केन्द्रका १३, रापप्रा र नेकपा एकीकृत समाजवादीका १र१ र स्वतन्त्र सांसद १ जना छन् ।
