सुर्खेत । स्थानीय सरकारलेहरुले पछिल्लो समय लैङ्गिक तथा अपाङ्गता उत्तरदायी नीति कार्यक्रम र वजेट निर्माण गर्न थालेका छन् ।
विशेषगरी कर्णाली र सुदुरपश्चिम प्रदेशका स्थानीय सरकारहरुले लैङ्गिक तथा अपाङ्गता उत्तरदायी वजेट निर्माण गर्न थालेका हुन् ।
युएन वमन, युएनपिआरपीडीद्वारा संचालित परियोजना लागु भएपछि कर्णाली र सुदुरपश्चिम प्रदेशका स्थानीय तहहरुले लैङ्गिक तथा अपाङ्गता उत्तरदायी नीति कार्यक्रम र वजेट निर्माण गरि लागु गर्न थालेका हुन् ।
कर्णालीमा अपाङ्गता जनचेतना तथा सञ्चार सेवा केन्द्र र सुदुरपश्चिम प्रदेशमा राष्ट्रिय अपाङ्ग महासंघ मार्फत परियोजना लागु गरि लैङ्गिक तथा अपाङ्गता उत्तरदायी नीति कार्यक्रम र वजेट निर्माणको लागि जनचेतना, अविमुखिकरण, पैरवी तथा नीति निर्माण सहयोग गरिएको डिआरएफका प्रमुख एवम युएन वमनका परियोजना प्रमुख कृष्ण गहतराजले जानकारी दिनुभयो ।
उहाका अनुसार स्थानीय समन्वय समितिलाई अपाङ्गता परिचयपत्र कार्यविधि कार्यान्वयनको बारेमा जानकारी, विपद् व्यवस्थापन समितिमा अपाङ्गता भएका व्यक्तीहरुको पहुँच, पहुँचयुक्त भौतिक संरचना निर्माण हुनुपर्नेगरी पैरवी लगायतका क्रियाकलाप संचालन गरिएको थियो ।
राष्ट्रिय आदीबासी जनजाती अपाङ्ग महिला संघ नेपालका अध्यक्ष प्रतिमा गुरुङ्गले परियोजना लागु भएपछि अपाङ्गता भएका व्यक्तीहरुमा समेत चेतनाको स्तर माथी उठेको बताउनुभयो । जसले गर्दा स्थानीय सरकारहरु समेत जवाफदेही र जानकार भएको बताउनुभयो ।
“विशेषगरी अपाङ्गता त्यसमा पनि आदीबासी महिला अपाङ्गता भएका व्यक्तीहरु हरेक क्षेत्रमा पछाडी पर्नुभएको छ, उहाहरुलाई अगाडी ल्याउन, पहुँचमा पुर्याउने प्रयास परियोजनाले गरेको छ । गुरुङ्गले भन्नुभयो,”
अन्तरप्रदेशस्तरिय सिकाई आदान–प्रदान
स्थानीय सरकारहरुमा लैङ्गिक तथा अपाङ्गता उत्तरदायी वजेट तथा कार्यक्रम निर्माण पक्रियामा कर्णाली र सुदुरपश्चिम प्रदेशका वहुसरोकारवाला नीकायले सिकाइ आदानप्रदान गरेका छन् ।
बाँकेको नेपालगञ्जमा साउन १८ गतेदेखि दुइदिनसम्म चलेको सिकाई आदानप्रदान कार्यक्रममा सहभागीहरुले विगतकोभन्दा स्थानीय सरकारका योजना र वजेटहरु लैङ्गिक तथा अपाङ्गता उत्तरदायी बनेको बताएका छन् ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका उपप्रमुख निलकण्ठ खनाललले अपाङ्गता भएका व्यक्तिहरुलाई बोझको रुपमा लिने गरिएको भन्दै अपाङ्गता भएका व्यक्तिहरुको पहुँच हरेक क्षेत्रमा पुर्याउन परिवारबाट नै सहयोग हुन आवश्यक रहेको औँल्याउनुभयो ।
नजिकै रहेको स्थानीय सरकारले समेत त्यही अनुसारको योजना कार्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिँदै उहाले वीरेन्द्रनगर नगरपालिकाले वजेट, नीति कार्यक्रममा बाट अपाङ्गता भएका व्यक्तीहरुको सवाललाई एकद्वार प्रणालीबाट लैजानेगरि योजना बनाएको बताउनुभयो ।
उहाले आफ्नो पालिकाले अपाङ्गता भएका व्यक्तीहरुलाई सेवाको पहुँचमा लिनको लागि सांकेतिक भाषाको तालिमको शुरुवात गरेको भन्दै अन्य क्षेत्रमा पनि अपाङ्गता भएका व्यक्तीहरुको प्रतिनिधित्व हुनेगरी कार्यक्रम बनाइएको जानकारी दिनुभयो ।
आफुहरुले साझेदार संस्थाहरुले समेत सहयोग गर्दा सहज भएको उल्लेख गर्दै अपाङ्गता परिचयपत्र वितरणलाई समेत व्यवस्थित गरिएको बताउनुभयो ।
वराहाताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी पुनले पनि परिणाम आउनेगरी काम गर्न आवश्यक रहेको भन्दै त्यही अनुसार अपाङ्गता भएका व्यक्तिको लागि काम गर्ने योजना बनाइइको बताउनुभयो ।
आफुहरुले बनाउने योजनामा परियोजनाले धेरै सहयोग गरेको भन्दै अपाङ्गता भएका व्यक्तीहरुको लागि आयआर्जन र स्वरोजगारमुखि कार्यक्रम संचालन गरिएको जानकारी दिनुभयो । यो बर्षदेखि अपाङ्गता भएका व्यक्तीहरुको लागि खेलकुदका कार्यक्रम पनि राखिएको बताउनुभयो ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ वडा अध्यक्ष दिनेश खत्रीले कर्णालीमा अपाङ्गता भएका व्यक्तिको संख्या देशभरमै धेरै रहेको भन्दै त्यसका आधारमा योजना बनाउन आवश्यक रहेको बताउनुभयो । उहाले वडाबाट समेत अपाङ्गता भएका व्यक्तिको लागि विभिन्न कार्यक्रम गरिएको भन्दै विगतकोभन्दा केही सुधार भएको बताउनुभयो
कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर २ का सदस्य टीका भुल चौधरीले परिचयपत्र वितरणमा केही चुनौती रहेको बताउनुभयो ।
उहाले वजेट मात्रै छुट्याउनु ठूलो कुरा नभएको बताउँदै कार्यान्वयनमा पनि जोड दिनुपर्ने औँल्याउनुभयो । पछिल्लो समय शारीरिक नभई मानसिक रुपमा समेत अपाङ्गता भएका व्यक्तिहरु बढ्दो रहेको भन्दै अब बन्ने योजना यसतर्फ केन्द्रित हुनुपर्ने औल्याउनुभयो ।
आफ्नो पालिकामा गैरसरकारी संघसंस्थाको सहयोगमा लैङ्गिक तथा अपाङ्गता उत्तरदायी योजना र वजेट निर्माण शुरु भएको उहाको भनाई छ ।
भजनी नगरपालिका कैलाली उपाध्यक्ष राजु तिरुवाले उपप्रमुख लक्षित कार्यक्रम, अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य लगायतमा समेट्नेगरी वजेट निर्माण गरिएको जानकारी गराउनुभयो ।
गोदावरी नगरपालिका उपप्रख सारदादेवी रोकायले पालिकाबाट विगतकोभन्दा वजेट अपाङ्गता भएका व्यक्तिको सवालमा बढेको बताउनुभयो ।
उहाले आगामी दिनमा अझै अपाङ्गतामैत्री वजेट नीति योजना र वजेट निर्माण गरिने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा दुबै प्रदेशका पाँचवटा स्थानीय तहका प्रतिनिधिहरुले अपाङ्गताको सवालमा भएका राम्रा कार्यको सिकाई आदानप्रदान गर्ने प्रतिवद्धता जनाएका छन् । भने आगामी दिनमा स्थानीय समन्वय समितिलाई कसरी दिगो बनाउने भन्ने सन्दर्भमा समेत छलफल भएको छ ।
कार्यक्रममा सहभागि अपाङ्गता अधिकारकर्मीहरुले विगतकोभन्दा केही सुधार हुँदै गएको भन्दै आगामी सुधार गर्नुपर्ने पक्षका विषयमा आफ्ना सुझावहरु प्रस्तुत गरेका थिए ।
परियोजना लागु भएपछि भएका क्रियाकलाप र यसको परिणामका विषयमा राष्ट्रिय अपाङ्ग महासंघ सुदुरपश्चिमका अध्यक्ष मान बहादुर साउद र अपाङ्ग जनचेतना सेवा केन्द्र सुर्खेतका अध्यक्ष विष्णु भट्टराइले आफ्नो प्रस्तुती राख्नुभएको थियो ।
कार्यक्रममा परियोजना लागु भएका कर्णालीको वीरेन्द्रनगर र वराहाताल तथा सुदुरपश्चिका कैलारी गाउँपालिका, भजनी र गोदावरी नगरपालिकाका जनप्रतिनिधि, अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो ।
सन २०२३ देखि लागु भएको यो परियोजना सन २०२४ सेप्टेम्बरमा सकिँदै छ ।

