सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले मन्त्रालय मातहतमा रहेका निर्माणाधीन वहुबर्षिय योजनाहरु सम्पन्न गर्नेगरी सक्रियता जनाउनुभएको छ ।
अहिले मन्त्रालय अन्तर्गत विभिन्न जिल्लाका १४ वटा योजना सञ्चालनमा छन् । तीमध्ये पाँच वटा योजनाको म्याद सकिएका छन् । योजनाहरु समयमै सम्पन्न हु्न नसकेपछि मन्त्री भण्डारीले सक्रियता जनाउनुभएको हो ।
मन्त्रालयमा आज निर्माण व्यवसायिहरुसँग भएको छलफलका क्रममा मन्त्री भण्डारीले निर्धारित समयमा काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
मन्त्रालयले अन्तिम पटक म्याद थप गर्न समन्वय गरिदिने तर त्यसभित्र काम सम्पन्न गरिनुपर्ने मन्त्री भण्डारीले निर्देशन दिनुभयो ।
निर्माण व्यवसायीहरु प्रदेश भित्रको मात्र होइन अन्तर्राष्ट्रियस्तरमै प्रतिस्पर्धी हुनेगरी काम गर्न सुझाव उहाले दिनुभयो ।
मन्त्री भण्डारीले निर्माण व्यवसायीहरुका समस्या के हुन र योजनाहरु समयमै सम्पन्न गर्नेगरी सरकारको तर्फबाट सहयोग गर्नेगरी छलफल गरिएको बताउनुभयो ।
निर्माण व्यवसायीले आफ्नो कारणले ढिला हुँदा सरकारलाई दोष दिन नहुने उहाको भनाई छ ।
यता, निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशका महासचिव मानव वमले विकास निर्माणका कार्यमा निर्माण व्यवसायीको योगदान भरपूर रहेको बताउनुभयो । उहाले समयमा काम सम्पन्न नहुनुका कारणहरू कार्यालयको कमजोरी हुनुपनि बताउनुभयो ।
मन्त्रालय अन्तरगत कर्णाली प्रदेश अस्पतालको काम गरिरहेको छ । यस अवधिमा करिव ५० प्रतिशत काम सम्पन्न भएको कम्पनीका आधिकारिक प्रतिनिधिले जानकारी गराए । सम्झौता अनुसार आगामी २०८२ मंसिर २९ गतेभित्र काम सम्पन्न गर्नुपर्ने छ ।
दैलेख अस्पताल निर्माणको जिम्मा पाएको स्टार कन्स्ट्रक्सनले समयमा काम गर्न नसकिएको जनाएको छ ।
कोभिड र निर्माणाधीन क्षेत्रमा रुख कटान गर्नुपर्ने कारणले समयमा काम हुन ढिलाई भएको सञ्चालक तारा शाहीले बताउनुभयो ।
कार्यालयले समयमा भुक्तानी नदिदा समस्या भएको उनले बताउनुभयो । चालू आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने सञ्चालक शाहीले मन्त्री समक्ष प्रतिवद्धता जनाउनुभयो ।
सल्यान अस्पतालको भवन निर्माणको जिम्मा लिएको आरोव्य सुवेदी जेभिका अनुसार ६५ प्रतिशत काम सकिएको छ ।
भुक्तानी समयमा नपाएको कारण ढिलाई भएको कम्पनीका प्रतिनिधि जितेन्द्र महतोले बताउनुभयो । यदि समयमा भुक्तानी पाए ३–४ महिनामै बाँकी काम सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभयो ।
रुकुम प्रदेश अस्पतालको काम अबको ४–५ महिनामा सम्पन्न गरिने कम्पनीका प्रतिनिधिले बताउनुभयो ।
निर्माणाधिन योजनाहरु समयमै सक्न सामाजिक विकास मन्त्री भणडरीको निर्देशन
निर्माणाधिन योजनाहरु समयमै सक्न सामाजिक विकास मन्त्री भणडरीको निर्देशन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
