सुर्खेत । कुपोषण अन्त्यका लागि कर्णाली प्रदेशस्तरीय इनफ अभियानको घोषणा गरिएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज एक कार्यक्रमका बीच मुख्य मन्त्री यामलाल कँडेलले अभियानको शुभारम्भ गर्नुभएको हो ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब), लगायका संस्थाको संयुक्त आयोजनामा अभियानको घोषणा गरिएको हो ।
कर्णालीका भिभिन्न जिल्लामा पाइने रैथाने बाली तथा परिकारको प्रदर्शन गर्दै मुख्यमन्त्री कँडेलले इनफ अभियानको शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री यामलाल कंडेलले कर्णाली विगतमा आत्मनिर्भर प्रदेश भएको भन्दै अहिले परमुखी प्रदेश बनेको बताउनुभयो । तर पछिल्लो समय भने सुचकहरुमा केही सुधार आएको बताउनुभयो ।
कुपोषणको अवस्था नराम्रो रहेको भन्दै यसमा सुधार गर्न आवश्यक रहेको मुख्यमन्त्री कंडेलको भनाई छ ।
साझेदार संस्थाहरुको कर्णालीमा संख्या उल्लेख्य रहेको बताउँदै परिणाम भने गतिलो नदेखिएको बताउनुभयो । कर्णालीमा गणना गर्ने हो, भने सरकारी कार्यालयहरुभन्दा धेरै साझेदार संस्थाहरुका कार्यालयहरु छन्, कार्यक्रमहरु पनि थुप्रै छन् । तर साझेदार संस्थाहरुले गर्ने कार्यबाट परिणाम गतिलो आएको देखिदैन, म आग्रह गर्न चाहन्छु तपाईँहरुले सरकारसँग समन्वय गर्नुपर्छ, आउनुहोस्, मिलेर काम गरौँ ।
उहाले कागजी रिपोर्ट राम्रो बनाएर जनताको अवस्था नबदलिने भन्दै विकास साझेदारहरुले सरकारको नीति अनुसार समन्वय गरेर परिणाम आउनेगरी काम गर्न आग्रह गर्नुभयो ।
सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णालीकै रैथाने बालीहरुको प्रवद्र्धन गर्न सके मात्रै कुपोषणको अवस्था घटाउन सकिने बताउनुभयो । यसका लागि सरकार र साझेदार संस्थाहरुले सँगसँगै काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।
प्रदेश सरकारको आन्तरिक आम्दानी न्युन रहेको भन्दै विकास साझेदारहरुसँग सहकार्य अपरिहार्य रहेको भएपनि एक्लाएक्लै हिडेर गन्तव्यमा नपुगिने उहाको भनाई छ ।
कार्यक्रममा कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत रमेश खड्काले पोषणको अवस्थामा सुधार भए पनि बाल मृत्युदर घट्न नसकेको उल्लेख गर्नुभयो ।
पोषण सुधारका लागि करोडौँ खर्च भए पनि प्रभावकारीता किन निस्कन सकेन भन्ने बारेमा गम्भीर समीक्षा हुनुपर्ने उहाँको भनाइ छ ।
प्रदेशका अधिकांश भू–भागहरूमा विषादीरहित खेती गरिने भएकोले स्वास्थ र पोषीलो हुने बताउँदै कर्णाली प्रदेशका रैथाने बालीको ब्राण्डीङ (मुल्यवान लोगोको प्रयोग) गरी गरिबीको न्यूनिकरण गर्न सकिने सम्भावना रहेकोमा पनि उहाँले जोड दिनुभयो ।
इनफ अभियानको घोषणा कार्यक्रमा वर्ल्डभिजन इन्टरनेशनल नेपालका एडभोकेसी तथा क्यापियन म्यानेजर श्याम अधिकारीले नेपाल सरकारले लिएका नीति तथा योजनालाई पूरा गर्नका लागि इनफ अभियानले सघाउने विश्वास लिइएको बताउनुभयो ।
जुम्ला, जाजरकोट र दैलेख गरी कर्णालीका ४३ वडामा वर्ल्ड विभजनले काम गरिरहेको जानकारी दिँदै उहाँले ‘नेपाली जुटौँ, बालविवाह रोकौँ’ अभियानको सफल समापनपछि इनफ अभियान सुरुवात गरिएको उल्लेख गर्नुभयो ।
यसैबिच, कर्णाली प्रदेशमा कुपोषणको स्थिति भयावह रहेको प्रदेश योजना आयोगको तथ्याङ्कले देखाएको छ । हरेक सूचकाङ्कमा पछि रहेको कर्णालीका लागि कुपोषण पनि प्रमुख चुनौती बनेको छ । आयोगको तथ्याङ्क अनुसार कर्णालीका झण्डै ४० प्रतिशत नागरिक बहुआयामिक गरिबीको रेखामुनि छन् ।
तथ्याङ्कलाई केलाउने हो भने झण्डै आधाभन्दा बढी बालबालिका र आमाहरूमा कुनै न कुनै प्रकारको कुपोषणको समस्या पाइन्छ । जसका कारण आमा र बालबालिकाहरूले ज्यानसमेत गुमाइरहेका छन् ।
प्रदेशका ६ देखि ५९ महिनाका ३९.८ प्रतिशत बालबालिका र २१.२ प्रतिशत महिलामा रक्तअल्पताको समस्या छ । प्रदेशमा १५–४९ वर्षका १५ प्रतिशतमा ख्याउटेको समस्या छ । सरकारले सन् २०३० सम्म सबै खालका कुपोषणलाई १५ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ तर, गरिबी र अभाव झेलिरहेको कर्णालीमा कुपोषणको स्थितिमा सुधार हुन सकेको छैन ।
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷०८० खाद्य तथा पोषण सुरक्षा सम्बन्धि कार्यक्रम सञ्चालन गर्न २३ करोड ३३ लाख हजार बजेट विनियोजन गरेको छ ।
