दैलेख । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले नेरा मावि किर्तिखम्ब श्रोत विद्यालयका दृष्टिविहिन बालबालिकाहरुलाई आवश्यकताको आधारमा ५ लाख बराबरको सहयोग सामग्री हस्तान्तरण गरेका छन । उक्त सहयोग सामग्री सेभ द चिल्ड्रेन र सोसेक नेपालको साझेदारीमा सञ्चालित सहयात्रा तेस्रो परियोजनाले उपलब्ध गराएको थियो ।
मन्त्री घनश्याम भण्डारीले उक्त विद्यालयलाई कर्णाली प्रदेशकै नमुना विद्यालयको रुपमा विकास गर्ने तयारी रहेको बताए । चालु आर्थिक वर्षमा १८ कोठे ठुलो भवन निर्माण गर्ने लक्ष्य रहेको बताउदै उनले भने, एक वर्ष भित्र विद्यालयको भौतिक संरचना पर्याप्त हुने भएकाले अब पढाईको गुणस्तरमा ध्यान पु¥याउन आवश्यक छ ।
डिजिटल बोर्ड सहितको अत्याधुनिक सुविधायुक्त विद्यालय निर्माणका लागि पहल उनको भनाई छ । यहाँका अधिकाँस हुनेखाने अभिभावकहरुले शहरका महँगा विद्यालयहरुमा बालबालिकालाई पढाउने गरेका कारण गाउका विद्यालय विपन्न परिवारका बालबालिकाले अध्ययन गर्ने विद्यालयकारुपमा चिनिएका छन । हामी हुदाँ मात्र खाने परिवारका बालबालिकालाई गाउमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन सकिन्छ भन्ने शन्देश दिन चाहान्छौ ।
विद्यालयमा सबै युवा शिक्षकहरु भएकाले विद्यालयको गुणस्तर बृद्धिका लागि सहयोग पुग्ने आफुले आशा गरेको भण्डारीको भनाई थियो । उनले थपे, श्रोत कक्षामा अध्ययन गर्ने दृष्टिवीहिन भाईबहिनीहरुले पनि आफनो पढार्ई अब्बल गर्न प्रयास गर्नुहुनेछ । अपाँगता भएका व्यक्तिहरुले पनि विश्वमा धेरै राम्रा इतिहासहरु रचेका छन् । म सबै भाई बहिनीहरुलाई अनुरोध गर्दछु, तपाईहरुसँग पनि केही न केही क्षमता छ । आफ्नो क्षमतालाई अझै बढाउनुहोस । हाम्रो सहयोग सधै तपाईहरुलाई रहनेछ ।
सोसेक नेपालका कार्यक्रम प्रमुख नवराज बि.सि.ले, उक्त विद्यालयमा अध्ययनरत दृष्टिविहिन बालबालिकालाई २०७२ साल देखि सोसेक नेपालले सहयोग गर्दै आएको बताए । सोसेक नेपालका अरु परियोजना पनि दुल्लुमा कार्यरत भएको हुदाँ विद्यालयको आवश्यकताका आधारमा अपाँगता मैत्री संरचना निर्माण गर्न पनि सहयोग हुने उनको भनाई थियो । श्रोत विद्यालयको लागि दराज, कम्प्यूटर, पानी तताउने भाडा, कपी, फोटोकपि पेपर, स्टाइलिस, ब्रेन पेपर, फुटबल, हारमोनियम, डसना, आगो नियन्त्रण लगाएत कार्यालय व्यवस्थापनका सामग्रीहरु उपलब्ध गराइएको उनले बताए ।
अपाँगता भएका व्यक्तिहरु समाजमा पछाडि पारिएका सीमान्तीकृत मानिसहरु भएका कारण पनि उनीहरुलाई विशेष सुविधाको व्यवस्था हुनुपर्ने बिसीको भनाई थियो । उनले थपे, विशेष अधिकार मानव अधिकार पनि हो । मानव अधिकारले हरेक मानिसहरुको जिवनमा परिवर्तन ल्याएको भएतापनि अपाँगता भएका व्यक्तिहरुले त्यसको फाइदा लिन नसकिरहेका कारण त्यस्ता व्यक्तिहरुको लागि सबैले चासो दिनुपर्ने उनले बताए ।
विद्यालयका प्रधानध्यापक हिरा खड्काले, दृष्टिविहिन बालबालिकाहरुको अध्ययन अध्यापनलाई निरन्तरता दिन दातृनिकायहरुको आवश्यकता भएको बताईन । उनले थपिन, हामीले जुन सामाग्री प्राप्त गरेका छौ उक्त सामग्रीले बालबालिकाहरुको विद्यालय शिक्षालाई निरन्तरता दिन सहयोग गर्नेछ ।
श्रोत विद्यालयलाई सामग्री हस्तान्तरण
श्रोत विद्यालयलाई सामग्री हस्तान्तरण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु