सुर्खेत । उच्च अदालत सुर्खेतले मध्यपश्चिम विश्वविद्यालयमा २८ भदौमा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनविरुद्ध परेको रिट खारेज गरेको छ ।
स्ववियु निर्वाचन निर्देशिका, २०८१ बमोजिम ३० असारमा प्रकाशित भएको मतदाता नामावलीमा आफ्नो नाम नसमेटिएको भन्दै २७ भदौमा उच्चमा रिट परेको थियो ।
मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ साइन्स एन्ड टेक्नोलोजी अन्तर्गतको बीएस्सी बायोलोजी समूह पाँचौँ सेमेस्टरमा अध्ययनरत रन्जित विक, भरत बुढाक्षेत्री, कृष्णप्रसाद अधिकारी र सन्तोष चौधरीले मतदाता नामावलीमा नाम छुटाएको भन्दै उच्चमा रिट दायर गर्नुभएको थियो । रिटमा निर्वाचनका सबै प्रक्रिया रद्द गर्न अन्तरिम आदेशको माग गरिएको थियो ।
विश्वविद्यालयको कार्यकारी परिषद्लाई विपक्षी बनाई दायर भएको रिट उपर सुनवाइ गर्दै उच्चले आजका लागि दुवै पक्षलाई छलफलमा बोलाउन आदेश दिएको थियो । आइतबार छलफलपछि उच्च अदालत सुर्खेतका न्यायाधीशद्वय लोहितचन्द्र शाह र माधव धितालको संयुक्त इजलासले उक्त रिट खारेज गरेको हो ।
निर्वाचन कार्यतालिकाअनुसार सार्वजनिक भएको अन्तिम नामावलीउपर तोकिएको समयभित्र दाबी विरोधको निवेदन पेस नगरेको पाइएपछि उच्चले रिट खारेज गरेको हो । उच्चको यो आदेशसँगै अब स्ववियु निर्वाचनका सबै प्रक्रिया अगाडि बढ्नेछन् ।
उच्चले खारेज गर्यो मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनविरुद्ध परेको रिट
उच्चले खारेज गर्यो मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनविरुद्ध परेको रिट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
