सुर्खेत । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले आफ्नो दुई महिने प्रगति विवरण सार्बजनिक गर्नुभएको छ ।
मन्त्रालयमा आज आयोजित शुभकामना आदानप्रदान तथा अन्तक्रिया कार्यक्रम मार्फत आफ्नो दुई महिनाको प्रगति विवरण सार्बजनिक गर्नुभएको हो । उहा मन्त्री भएको ६० दिन पुरा भएको छ ।
आफु मन्त्री भएपछि मुगु जिल्ला र जुम्लाका दुई पालिकालाई साक्षर घोषणा गर्न सफल भएको भन्दै कर्णालीमा रहँदै आएको कुपोषण दर घटाउन एकिकृत पोषण अभियान शुभारम्भ गरिएको उहाले प्रमुख उपलब्धीको रुपमा उल्लेख गर्नुभएको छ ।
केहीदिन अगाडी मुगु जिल्ला र जुम्लाको कनाका सुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिका पूर्ण साक्षर जिल्ला तथा सिंजा गाउँपालिका वडा नम्बर ६ बालबिवाह मुक्त घोषणा गरिएको थियो ।
यस्तै, मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्रालय मातहत रहेका सबै क्षेत्रको सुधारको खाका तयार गरिएको मन्त्री भण्डारीले बताउनुभयो ।
महिला उद्यमीका लागि पहल गरिएको, प्रदेश बालअधिकार परिषद गठन गरी बालबालिका संरक्षणमा जोड दिइएको, बालबालिका खोजतलास केन्द्र स्थापना गरिएको मन्त्री भण्डारीले बताउनुभयो । हराएका बालबालिका खोजतलासका लागि पैसा नलाग्ने टोल फ्रि नम्बर १०४ संचालनमा ल्याइएको मन्त्री भण्डारीको भनाई छ ।
त्यसैगरी युवा परिचालन आयआर्जनमा जोड्ने कार्यक्रम संचालन गरिएको, बालबिवाह विरुद्धको प्रादेशिक राणनीति निर्माण तथा कार्यान्वयन गरिएको प्रगती विवरणमा उल्लेख गरिएको छ ।
शिक्षातर्फ पनि बहुकक्षा कार्ययोजना तयार गर्नेगरी काम भइरहेको भन्दै नमुना विद्यालय कार्यक्रम अन्तरगत छनौट भएका १४ विद्यालय विकास प्रस्तावको स्थानीय तहको साझेदारीमा कार्यक्रम कार्यान्वयन गरिनेगरी काम अगाडी बढाइएको मन्त्री भण्डारीले बताउनुभयो ।
यस्तै, ग्रामीण क्षेत्रमा विद्यार्थीहरुको संख्या घट्दो क्रममा रहेको भन्दै गाउँ केन्द्रीत शिक्षा प्रणालीलाई बढवा दिने र शहर केन्द्रीत शिक्षा प्रणालीलाई न्युनिकरणको प्रयास गरिएको, प्रदेशको शिक्षा योजना निर्माण र कार्यान्वयन गर्ने, प्राविधिक शिक्षा सुदृढिकरणमा पहल गर्ने, व्यवहारिक शिक्षामा जोड दिने, डिजिटल साक्षरताका माध्यमबाट सचेतना कार्यक्रम संचालन गर्ने लगायतका काम शुरु भएको मन्त्री भण्डारीको भनाई छ ।
मन्त्री भण्डारीले स्वास्थ्य क्षेत्रमा पनि जनताले अनुभुती गर्नेगरी सेवा संचालन गर्नेगरी कामको शुरुवात भएको बताउनुभयो ।
जसअन्तरगत प्रदेश अस्पताल सुर्खेतको सेवा प्रवाहलाई गुणस्तरीय र थप प्रभावकारी बनाउँदै सबै जिल्ला अस्पताल, प्रदेश अस्पताल तथा १२ वटा रणनैतिक अस्पतालहरुमा सेवा विस्तार गर्ने, स्वास्थ्य तर्फका चिकित्सक अभाव हुन नदिन एमडि अध्यन सहितको स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालन गर्नेगरी खाका तयार गरिएको छ ।
सबै नागरिकको अनिवार्य सवास्थ्य परिक्षण गर्ने, कुपोषणबाट बच्ने अभियानमा स्वास्थ्य स्वयमसेवक मार्फत पोषण अभियान संचालन गरिने कार्ययोजना बनाइएको भन्दै मन्त्री भण्डारीले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई आम्दानीको स्रोत बनाउइने बताउनुभयो ।
मन्त्रालयका सचिव दीर्घबहादुर पोखरेलले मन्त्रालयको अधिकार क्षेत्रमा पर्ने हरेक काममा सुधार ल्याउने प्रयास भइरहेको बताउनुभयो । संघ सरकारबाट कर्णाली सरकारलाई न्यन बजेट उपलब्ध हुने गरेको भन्दै भौगोलिक अवस्थाको आधारमा बजेट पठाउनुुपर्ने उनको भनाइ छ ।
स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डा.रविन खड्काले स्वास्थ्य क्षेत्रमा बनेका नीति कार्यान्वयनको पक्ष बलियो बनाउन सके स्वास्थ्य क्षेत्र सुधार हुने बताउनुभयो ।
कार्यक्रममा दिगो विकास लक्ष्य र कर्णालीको स्वास्थ्य अवस्थाका बारेमा समेत जानकारी गराइएको थियो ।
दिगो विकास लक्ष्य हासिल गर्नेगरी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा काम गरिरहेको मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख वृश बहादुर शाहीले बताउनुभयो ।
मन्त्री भण्डारीको दुइ महिनाः एकिकृत पोषण अभियान शुभारम्भदेखि, १२ वटा रणनैतिक अस्पताल बनाउने योजनासम्म
मन्त्री भण्डारीको दुइ महिनाः एकिकृत पोषण अभियान शुभारम्भदेखि, १२ वटा रणनैतिक अस्पताल बनाउने योजनासम्म

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु