सुर्खेत । कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायको अस्तित्व संकटमा पर्न सक्ने भन्दै चिन्ता गर्न थालिएको छ ।
जनसंख्या लगातार घट्नुले राउटे समुदायको अस्तित्व नै समाप्त हुने चिन्ता व्यक्त गर्न थालिएको हो । आजभन्दा एक महिना अगाडी असोज २ गते २२ बर्षीया राउटे युवा वृषबहादुर शाहीको मृत्यु भयो । वृश बहादुर शाहीको मृत्युसँगै राउटे समुदायको जनसंख्या अहिले १ सय ३५ जनामा सिमित छ ।
राष्ट्रिय मानव अधिकार आयोगले गरेको अध्ययन २०८१ को रिपोर्टले पनि राउटे समुदायको संख्या लगातार घट्दो क्रममा रहेको देखाउँछ ।
रिपोर्टमा २०७५ सालमा १ सय ४९ रहेको राउटेको जनसंख्या १५ माघ २०८१ सम्म आइपुग्दा घटेर १ सय ३५ मा झरेको छ ।
२०७५ सालमा १ सय ४९ रहेको राउटेको संख्या एक जनाले घटेर २०७६ मा १ सय ४८ भयो । २०७७ मा फेरी तीन जनाको मृत्युपछि १ सय ४५ मा झरेको यो समुदायको संख्या २०७८ मा आउँदा १ सय ४४ मा झर्यो । २०७९ देखि २०८० सम्म घुमन्ते–फिरन्ते राउटेको जनसंख्या ६ जनाले घटेर १ सय ३७ जनामा आयो । यो बर्ष मात्रै दुइजनाको मृत्युसँगै अहिले यो समुदायको संख्या १ सय ३५ मा सिमित हुन पुगेको छ ।
लगातार किन घटिरहेको छ राउटे समुदायको जनसंख्या ?
राउटे समुदायको संख्या लगातार घट्नुका विभिन्न कारणहरु रहेको विज्ञहरु बताउछन् । उनिहरुका अनुसार यो समुदायको जनसंख्या घट्नुको पछाडी सामाजिक मुल्यमान्यता प्रमुख कारण छ ।
राउटे समुदायको उत्थानका लागि काम गर्दै आएको गैर सरकारी संस्था सोसेक नेपालका कार्यकारी प्रमुख हिरासिंह थापा भन्नुहुन्छ, “राउटे समुदायमा कल्याल, रास्कोटी र सोवंशी गरी तिनवटा समुदाय छ, एउटै समुदायका केटा र केटीको बिवाह नहुने सामाजिक परम्परा भएका कारण धेरै युवायुवतीहरु बिवाह नगरेर बसेको अवस्था छ । अर्को परम्परा भनेको श्रीमानको मृत्युपछि जतिसुकै उमेर समुहका महिला भएपनि एकल भएर बस्नुपर्ने बाध्यता छ ।” थापाले थप्नुभयो, “अहिले एकल महिला २३ जना छन्, तिमध्य अधिकांस २० देखि ३० बर्ष उमेर समुहका छन् । उनिहरुले अर्को बिवाह गर्ने पाउँदैनन्, प्रजनन उमेरका महिलाहरु बच्चा जन्माउनै नपाएपछि कसरी संख्या बढ्छ ।”
थापाले राउटे समुदायमा युवाहरुको संख्याभन्दा जेष्ठ नागरिक र बालबालिकाको संख्या धेरै रहेको बताउनुहुन्छ । थापा भन्नुहुन्छ, राउटे समुदायको जनसंख्या घट्नुको अर्को कारण अत्याधिक मदिराको सेवन हो, मदिराको सेवनले गर्दा उनिहरु भिरबाट लडेर मृत्यु हुने समस्या बढ्दै गएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले दिएको प्रतिवेदनलाई आधार बनाएर तिनै तहका सरकारहरुले राउटे संरक्षण सम्बन्धि योजना बनाउनुपर्ने उहाको सुझाव छ ।
आयोगले सिधै रकमको साटो आवास, खाद्यन्न र पोषण, लत्ता कपडा र शिक्षा उपलब्ध गराउने विधि प्रयोग गरी कार्यान्वयन गर्न जरुरी रहेको बताएको छ भने बाहिरी आधुनिक दुनियाले उनिहरुको सभ्यतामा हस्तक्षेप गरेको भन्दै नियन्त्रण गर्न आवश्यक रहेको निश्कर्ष निकालेको छ ।
थापाको भनाईप्रति वरिष्ट पत्रकार केशव ढकाल पनि सहमत हुनुहुन्छ । उहाले पनि भत्ताको नाममा सिधै रकम दिँदा उनिहरु अत्याधिक मदिरा सेवनमा लागेको बताउनुहुन्छ । “भत्ताको सट्टा खाद्यन्न, लत्ता कपडा लगायत उनिहरुलाई आवश्यक पनि वस्तु सरकारले दिनुपर्छ । रकम दिँदा उनिहरुले खर्च गर्ने अन्य कुनै ठाउँ नभएको हुँदा मदिरामा खर्च गर्छन्, त्यसो हुँदा उनिहरुको मृत्युको दर बढिरहेको छ । त्यसका साथै विभिन्न सहयोगको नाममा उनिहरुको अस्तित्व नै मेटाईँदै छ, उहाले भन्नुभयो,”
प्रजनन् क्षमता कमजोर बन्दै
यो समुदायमा नयाँ जन्ममा लामो अन्तराल भएको पाइएको छ । जसमा साढे दुई वर्षको अवधिमा २०८० साउन र भदौमा दुई शिशुको जन्म भयो ।
राउटे समुदायको पराम्पराका कारण पनि जन्म दर कम हुने गरेको भएपनि पछिल्लो समय उनिहरुको खानपान र रहनसहनका कारण समेत प्रजनन क्षमता कमजोर हुन थालेको चिकित्सकहरु बताउछन् ।
राउटेको जीवन शैली फेरिँदै गएको छ । खानपानका कारण प्रजनन क्षमता कमजोर हुँन थालेको कर्णाली प्रदेश अस्पताल सुर्खेतका तत्कालिन निर्देशक डाक्टर डम्बर खडका बताउनुहुन्छ । “उनिहरु अत्याधिक मदिराको प्रयोग गर्न थाले, त्यसो हुँदा उनिहरुको खानपान र आहारव्यहार असन्तुलन हुँदै गएको छ, यसले स्वभाविक रुपमा प्रजनन् क्षमतामा गिरावट ल्याउछ नी ।”
विगतमा स्वस्थ जीवनशैलीमा बाँचिरहेका राउटे समुदायहरु अहिले गुणस्तरहिन खानाको प्रयोग गर्ने तथा मदिराको सेवन बढ्दै जाँदा कलेजो सम्बन्धि समस्या बढ्दै गएको डाक्टर खड्का बताउनुहन्छ ।
राष्ट्रिय आयोगको अध्ययनमा समेत राज्यको यथोचित ध्यान पुग्न नसक्नु, कमजोर जनस्वास्थ्य, कुपोषण, उपचारमा पहुँच नहुनु÷नराख्नु, प्रजनन् स्वास्थ्य अभाव, गुणस्तरहीन परम्परागत आवासमा बसोबास, मौसमअनुकूल लत्ताकपडा अभाव, स्वच्छ खानेपानी तथा सरसफाइको अभावजस्ता कारणले राउटेको जनसंख्या ऋणात्मक बन्दै जान थालेको उल्लेख छ ।
आयोगका कर्णाली प्रदेश संयोजक मान बहादुर कार्की भन्नुहुन्छ, “उनिहरुको जीवन चलाउने भनेर सरकारले भत्ता दिने गर्यो, उनिहरुको जीविका चलाउन सहज होस भनेर सरकारले भत्ता त दियो । तर त्यो भत्ताको प्रयोग उनिहरुले आफ्नो खानपानभन्दा पनि मदिरा सेवनमा प्रयोग गर्ने गरेको पाइयो । यसले गर्दा उनिहरुको मृत्यु धेरै भएको देखिन्छ । यही मात्रै कारण त नहोला तथापी अन्य कारणले पनि उनिहरुको संख्या घटिरहेको छ ।”
उनिहरुको स्वास्थ्य अवस्था पनि विग्रदै गएको भन्दै तिनै तहका सरकारहरुले मुख्यगरी उनिहरुको संरक्षणको लागि नयाँ योजना बनाउनुपर्ने सुझाव कार्कीको छ ।
“उनिहरु स्वास्थ्य समस्या भइहाले उपचार गर्न नमान्ने, कडा खालको मदिराको सेवन गर्ने, पोषिलो खानाको कमीहरु विभिन्न कारणले मृत्युवरण गर्नुपर्ने यो समुदायको समस्या छ । त्यसका साथै सामाजिक परम्पराहरु पनि छन् जनसंख्या घट्नुको कारण छन् । त्यसैले सरकारले नयाँ योजना बनाएर यो समुदायको संरक्षणमा लाग्न सुझाव दिन्छु, कार्की भन्नुहुन्छ,”
बाह्य व्यक्तीहरुको प्रवेशले यौनजन्य अपराध बढ्ने डर
पछिल्लो समय राउटे समुदायका युवतीहरुमाथी यौनजन्य अपराध हुन सक्ने जोखिम समेत बढेको छ । केही बर्ष अगाडी दुइजना राउटे युवतीमाथी यौन दुव्र्यवहार गरेको भन्दै सुर्खेत गुर्भाकोटका दुइजना युवाहरुविरुद्ध जवरजस्ती करणीको मुद्धा चलाइएको थियो । जथाभावी बाह्य व्यक्तीहरुको राउटे वस्तीमा प्रवेशले यौनजन्य क्रियाकलापसँगै अन्य असुरक्षा बढाएको यो समुदायको अध्यन गरिरहेकाहरु बताउछन् । विशेषगरी रुपैयाँ पैसाको प्रलोभवन देखाउने, विभिन्न सहयोग गर्ने वाहानामा राउटे समुदायको वस्तीमा वाह्य व्यक्तीहरुको प्रवेश बढेकाले यसलाई व्यवस्थित गर्नुपर्ने सुझाव उनिहरुको छ । एकातिर आम्दानीको श्रोत पनि वृद्धी हुने र अर्कोतर्फ राउटेको सुरक्षा हुनेगरी योजना बनाउन आवश्यक रहेको यो समुदायको अध्यन गरिरहनुभएका प्रेम बहादुर ओली बताउनुहुन्छ ।
राउटेको संरक्षणको लागि केछ सरकारी योजना
दैलेखको गुराँस गाउँपालिकाले पहिलोपटक राउटे समुदायलाई २०७५ सालमा परिचयपत्र वितरण गरेको थियो । राउटेले पाउने सामाजिक सुरक्षा भत्ता यही गाउँपालिकाले वितरण गर्दै आएको छ ।
सहयोगको नाममा राउटे समुदायलाई दिइने सहयोगलाई एकद्वार प्रणालीबाट दिनेगरी पालिकाले कार्यविधि समेत निर्माण गरेको छ । राउटे समुदायको संरक्षणको लागि गाउँपालिकाले मदिरा विक्रिवितरणमा रोक लगाउने निर्णय समेत गरेको गाउँपालिकाका प्रवक्ता एवम ८ नम्बर वडा अध्यक्ष दीपेन्द्र ओली बताउनुहुन्छ, हामीले राउटेलाई आफ्नो पालिकाका नागरिकको रुपमा परिचयपत्र दिएका छौँ, सामाजिक सुरक्षा भत्ता पनि पालिकाले नै उपलब्ध गराउँदै आएको छ । आफुना नागरिकको सुरक्षा र संरक्षणको जिम्मेवारी हाम्रै भएकाले पनि त्यही अनुसार काम गरिरहेका छौँ ।
सोसेक नेपालसँगको साझेदारीमा राउटे वस्तीमै प्राथमिक उपचार सेवा उपलब्ध गराउन स्वास्थ्यकर्मी खटाइएको ओली बताउनुहुन्छ । राष्ट्रिय मानवअधिकार आयोगले दिएको प्रतिवेदनको आधारमा योजना बनाउनेगरी कार्यपालिकामा छलफल भइरहेको उहाको भनाई छ । “राष्ट्रिय मानव अधिकारले राउटेहरुको अवस्थाको विषयमा एउटा अध्ययन गरेर तिनै तहका सरकारलाई सुझाव दिएको छ, ओलीले भन्नुभयो, त्यही सुझावको आधारमा हामीले योजना बनाउनेगरी छलफल गरिरहेका छौँ ।”
किन घट्दैछ राउटेको संख्या ?
किन घट्दैछ राउटेको संख्या ?
"प्रजनन् क्षमता कमजोर बन्दै, सहयोगको नाममा अस्तित्व मेटाईँदै "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु