सुर्खेत । यही मंसिर १६ गते हुने उपनिर्वाचनमा कर्णालीका ८ पालिकामा ४२ हजार बढी मतदाताले भाग लिँदै छन् ।
निर्वाचन आयोगले गरेको मतदाता अध्यावधिक विवरण अनुसार उपनिर्वाचन हुन लागेका कर्णाली ६ जिल्लाका ८ पदका लागि ४२ हजार २७७ जनाले मतदान गर्ने भएका हुन् ।
कर्णालीमा एक गाउँपालिका अध्यक्ष, एक नगरपालिका उपप्रमुख, एक गाउँपालिका उपाध्यक्ष र ५ वडाध्यक्ष गरी ८ पदमा स्थानीय तहमा उपनिर्वाचन हुन लागेको छ ।
मतदाता अध्यावधिक विवरण अनुसार अध्यक्ष पदको लागि उपनिर्वाचन हुन लागेको दैलेखको महावु गाउँपालिकामा १२ हजार ६ सय १४ जनले निर्वाचनमा भाग लिँदै छन् । यो पालिकामा ९ वटा निर्वाचन केन्द्रहरु रहेका छन् ।
यस्तै, दैलेखको दुल्लु नगरपालिका १३ को वडा अध्यक्ष पदको लागि निर्वाचन हुँदै छ । त्यहाँ २ हजार ७ सय ६ जनाले मतदानमा भाग लिने निर्वाचन कार्यालय दैलेखका सुचना अधिकारी मनोज थापाले जानकारी दिनुभयो ।
यस्तै, जिल्ला निर्वाचन कार्यालय जाजरकोटका निर्वाचन अधिकारी रामलाल प्याकुरेलका अनुसार नलगाड नगरपालिका उपमेयर पदको लागि निर्वाचन हुँदैछ । त्यस पालिकाको मतदाता अध्यावधिक विवरण अनुसार १६ हजार ४ सय ४९ जनाले मतदानमा भाग लिने छन् । जाजरकोटकै कुशे गाउँपालिका वडा नम्बर ७ को वडा अध्यक्ष पदको लागि हुन लागेको निर्वाचनमा १ हजार ३ सय २ जनाले मतदानमा भाग लिने छन् ।
हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदको लागि पनि निर्वाचन हुन लागेको छ । त्यहाँ ६ हजार ८ सय १० जनाले मतदानमा भाग लिने छन् भने रुकुमपश्चिमको सानिभेरी गाउँपालिकाको ५ नम्बर ५ को वडा अध्यक्ष पदको लागि हुन लागेको निर्वाचनमा १ हजार ४ सय ३४ जनाले भाग लिने मतदाता अध्यावधिक विवरणमा जनाइएको छ ।
यस्तै कालिकोटको तलिागुफा नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्ष पदको लागि समेत निर्वाचन हुँदै छ । त्यहा ६ सय ९ मतदाता रहेको कालिकोट जिल्ला निर्वाचन अधिकारी धन बहादुर मल्लले जानकारी दिनुभयो ।
यता, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका वडा नम्बर ५ को अध्यक्षको लागि समेत उपनिर्वाचन हुँदै छ । त्यहा ३ सय ५३ जना मतदाताले मतदानमा भाग लिने छन् ।
२०७९ वैशाख ३० को स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।
स्थानीय तह उपनिर्वाचनः कर्णालीमा ४२ हजारभन्दा धेरै मतदाता सहभागी हुँदै
स्थानीय तह उपनिर्वाचनः कर्णालीमा ४२ हजारभन्दा धेरै मतदाता सहभागी हुँदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु