सुर्खेत । कर्णालीमा ८ पदका लागि भएको निर्वाचनमा ६२ प्रतिशत मत खसेको छ। कुल ४२ हजार २ सय ७७ मतदातामा २६ हजार ३ सय ८१ मत खसेको हो।
जस अनुसार ६२ प्रतिशत मत खसेको जनाइएको छ। मतदान प्रकृया शान्तिपूर्ण रुपमा सकिएसँगै मतगणना स्थलमा मतपेटिका लैजाने कार्य जारी रहेको जनाइएको छ।
यसैबिच, हुम्लाको सर्केगाड गाउँपालिकामा ६६.४१ प्रतिशत मत खसेको छ । पालिकाको उपाध्यक्ष पदका लागि आइतबार मतदान भएको थियो । ६ हजार ८ सय १० मतदाता रहेको पालिकामा ४ हजार ५ सय २४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२ हजार ३ सय २९ पुरुष, २ हजार १ सय ९५ महिलाले मतदान गरेका मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले बताउनुभयो । सर्केगाडमा १२ वटा मतदान स्थल र १३ वटा मतदान केन्द्रबाट मतदान भएको छ ।
मतपेटिका छिटो पुगेको खण्डमा राति ९ बजेबाटै मतगणना गर्ने तयारी भएको बरालले बताउनुभयो।
गाउँपालिकाको उपाध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट सविता बुढा, नेकपा एमालेबाट जाना शाही, नेकपा माओवादी, एकीकृत समाजवादी र नेकपाबाट साझा उम्मेदार देवकी तिमिल्सेना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संगीता शाही र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाँचा बुढा चुनावी मैदानमा होमिएका छन् ।
यस्तै, कालिकोटको तिलागुफा–४ राँचुलीमा ६७ दशमलव ४८ प्रतिशत मत खसेको छ । कुल ६ सय ९ मतदाता रहेको तिलागुफा–४ मा ४ सय ११ मत खसेको मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले बताउनुभयो ।
पुरुषभन्दा बढी महिला मतदाता निर्वाचनमा सहभागी भएका छन् । वडाध्यक्षको उपचुनावमा २ सय १७ महिला र १ सय ९४ पुरुषले मतदान गरेका छन् । पुरुष मतदाता विभिन्न पेसा व्यवसाय र रोजगारीका लागि जिल्लाबाहिर रहेकाले कम मत हाल्न आएको नेमकिपाका उम्मेदवार खड्कराज शाहीले बताउनुभयो ।
उपचुनावमा कांग्रेस, एमाले, माओवादी केन्द्र, नेमकिपा, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
तिलागुफा–४ को वडा कार्यालयमा मतगणनाको सबै तयारी पूरा भइसकेको अहिले ७ बजेदेखि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत पन्तले बताउनुभयो ।
कर्णालीमा ८ पदका लागि भएको निर्वाचनमा ६२ प्रतिशत मत खस्यो
कर्णालीमा ८ पदका लागि भएको निर्वाचनमा ६२ प्रतिशत मत खस्यो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु