सुर्खेत । कर्णालीमा २६ प्रतिशत महिलाले छाउ बार्ने गरेको पाइएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा २६ प्रतिशत महिलाहरुले छाउगोढमा बस्ने गरेको पाइएको हो ।
कर्णाली र सुदुरपश्चिममा देउता रिसाउने नाममा महिनावारी भएको बेला छाउगोठमा बस्ने चलन छ । सुदुरपश्चिममा २० प्रतिशत महिलाहरु महिनावारी भएको बेला छाउगोठमा बस्ने गरेका छन् भने सबैभन्दा बढी कर्णालीका महिलाहरु छाउगोठमा बस्ने गरेको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै, २१ प्रतिशत किशोरी १५ बर्षदेखि १९ बर्षमा गर्भवती हुने गरेको देखिएको छ । सानै उमेरमा गर्भवती हुने देशभरकै सबैभन्दा धेरै कर्णालीमा रहेको तथ्याङ्क छ ।
२९ प्रतिशत महिलाहरुले १८ बर्ष नपुग्दै बिवाह गर्ने गरेको छ । जुन मधेश प्रदेशपछि कर्णाली दोस्रोमा पर्दछ ।
तथ्याङ्कलाई आधार मान्दा कर्णालीमा उमेर नपुगी विवाह गर्ने प्रचलन कायम रहेको भन्दै यसले लैङ्गिक हिंसाका घटनामा वृद्धि भएको सरोकारवालाहरुले बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज आयोजना गरेको लैङ्गिक हिंसा व्यवस्थापनमा वहुसरोकारवा नीकायहरुसँग अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।
उनिहरुले हिंसा पिडित व्यक्तीहरुलाई एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) बाट सेवा दिने गरिएको भन्दै यसलाई अझै प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका छन् ।
छलफल कार्यक्रममा बोल्दै नागरिक समाजका अगुवा पिताम्बर ढकालले हिंसा गर्नु मानवअधिकारको दृष्टिले समेत दण्डनिय भएको भन्दै हिंसा पिडित व्यक्तीहरुलाई ओसीएमसीबाट सेवा दिन थालिएपछि सहज भएको बताउनुभयो ।
तर पिडितहरुलाई राख्न प्रदेश स्तरिय सेफ हाउसको व्यवस्था सरकारले गर्नुपर्ने सुझाव उहाको छ ।
अर्का सहभागि ललित रोकायले हिंसा पिडितहरुले एकिकृत सेवा पाउछन् भन्ने जानकारी गाउँगाउँसम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
आवाज संस्था सुर्खेतका निशा पौडेलले ओसिएमसीलाई कानुनी, सचेतना लगायतमा सहयोग गरिरहेको जानकारी गराउनुभयो ।
सामाजिक विकास मन्त्रालयम स्वास्थ्य महाशाखा प्रमुख वृश बहादुर शाहीले सबै क्षेत्रबाट समन्वय भए मात्रै ओसिएमसीको सेवालाई प्रभावकारी बनाउन सहज हुने बताउनुभयो ।
सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले ओसीएमसीको सेवालाई थप प्रभावकारी बनाउँदै लैजानेगरी प्रदेश सरकार लाग्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाले कर्णालीमा विभिन्न कारणले हुने हिंसा न्युनिकरणका लागि सरकारले योजना बनाएको भन्दै सबै पक्षको सहकार्यमा मर्यादित समाज निर्माण गर्नतर्फ लागिने बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सहसचिव ढुण्डी प्रसाद निरौला, कर्णाली प्रदेशका प्रमुख सचिव लगायतको सहभागिता रहेको थियो ।
यसैबिच, कर्णाली प्रदेश अस्पतालबाट तीन वर्षको अवधिमा करिब तीन हजार हिंसापीडितहरुलाई एकद्वार संकट ब्यवस्थापन केन्द्र ओसिएमसीबाट उपचार सेवा दिइएको छ ।
विभिन्न हिंसामा परी उपचार सेवा लिने क्रममा अस्पताल आउँदा ओसिएमसीबाट आर्थिक वर्ष २०७८ देखि २०८१ सम्म गरी दुई हजार ९३९ जना हिंसापीडितले उपचार सेवा पाएका हुन।
कर्णाली प्रदेश अस्पतालका ओसिएमसी फोकलपर्सन कल्पना थापाले वर्षेनी ओसिएमसीबाट सेवा लिने हिंसापीडितहरुको संख्या बढ्दै गएको बताउनुभयो ।
घरेलु हिंसापछि मानसिक तनाव, बलात्कार, सेवा सुविधा तथा अधिकारबाट बञ्चित र यौनजन्य हिंसा भोगेका र बहुविवाहका पीडितहरु पनि ओसिएमसीमा आउने गरेका छन । ओसिएमसीमा आएका पीडितहरुलाई विभिन्न प्रकारको सेवा दिने गरिएको छ ।
शारीरिक परीक्षण, मेडिको लिगल, एचआईभी परीक्षण, गर्भवती परीक्षण, आकस्मिक गर्भनिरोधक लिएको र घाउ चोटपटकको उपचार सेवा दिने गरिएको ओसिएमसी फोकलपर्सन थापाले बताउनुभयो ।
कर्णालीमा २६ प्रतिशत महिलाले छाउँ बार्ने गरेको तथ्याङ्क, लैङ्गिक हिंसा बढ्दै
कर्णालीमा २६ प्रतिशत महिलाले छाउँ बार्ने गरेको तथ्याङ्क, लैङ्गिक हिंसा बढ्दै

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु