काठमाण्डौ । भोलि र पर्सि देशका धेरै ठाउँमा हिउँदे वर्षा र उच्च पहाडीभन्दा माथिका क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज विशेष मौसमी बुलेटिन निकालेर भोलि शुक्रवार दिउँसोपछि अर्को पानी पार्ने प्रणाली भित्रन लागेको जनाएको हो ।
पश्चिमी न्यूनचापीय प्रणालीको कारण भोलि दिउँसोपछि पर्सि शनिवारसम्म नेपालको धेरैजसो ठाउँमा मौसम आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ । यो प्रणालीको धेरै असर सुदूरपश्चिम र कर्णालीमा पर्ने भएपनि देशका धेरैजसो ठाउँमा हल्का वर्षा हुनेछ ।
पर्सि शनिवार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली धेरैजसो ठाउँमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली केही ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँ र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । वर्षा र हिमपातका कारण तापक्रम घट्ने र चिसो बढ्ने सम्भावना छ । दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् ।
त्यसैगरी आवश्यक तयारी गर्न सरोकारवाला निकायलाई पनि भनिएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले गएको सोमवार र मंगलवार देशका केही ठाउँमा फाट्टफुट्ट वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको थियो । पर्याप्त हिउँदे वर्षा र हिमपात भएमा हिउँदे खेतीबालीलाई फाइदा पुग्नेछ ।
हिउँदे वर्षा र हिमपात हिउँदे बालीको उत्पादनमा निक्कै महत्वपूर्ण मानिन्छ । तर यसपाली अहिलेसम्म छिटपुटबाहेक हिउँदे वर्षा भएको छैन । तर यसपाली सरदरभन्दा कम हिउँदे वर्षा हुने यसअघि नै अनुमान गरिएको छ । पर्याप्त हिउँदे वर्षा र हिमपात नभए खेतीबालीको उत्पादनमा असर पुग्नुका साथै वायु प्रदुषण र आगलागीका घटनासमेत बढ्न सक्ने जोखिम हुन्छ ।
भोलि र पर्सि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
भोलि र पर्सि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु