सुर्खेत । दैलेख गुराँस गाउँपालिकाका जनप्रतिनिधि र सरोकारवालाहरुले विकास निर्माण र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् ।
गुराँस गाउँपालिकाको आयोजना तथा स्टार इन्नोभेसनको सहजिकरणमा पालिकाका विभिन्न वडामा भएको सार्बजनिक सुनुवाईका सहभागि वक्ताहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
वडा कार्यालयबाट दिइने सेवालाई अझै सहज र प्रभावकारी बनाउने, खानेपानीको समस्या समाधानको लागि एक घर एक धारा कार्यक्रम संचालन गर्ने, विद्युत नपुगेका टोलहरुमा विद्युत सेवा पुर्याउन पहल गर्ने प्रतिवद्धता वक्ताहरुको रहेको छ ।
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै लैजाने, कृषि क्षेत्रमा लगानी बढाउनेगरी योजना ल्याउने प्रतिवद्धता उनिहरुले गरेका हुन् ।
त्यसैगरी, महिला, जेष्ठ नागरिक अपाङ्गता भएका व्यक्तीहरुको लागि विशेष कार्यक्रम संचालन गरी पछाडी पारिएका वर्गको सहभागिता हरेक क्षेत्रमा बनाउने प्रतिवद्धता जनाइएको छ ।
स्वास्थ्य स्वयमसेविका लागि विशेष कार्यक्रम ल्याइयोस
गुराँस गाउँपालिका वडा नम्बर एक सेप्टीमा गरिएको कार्यक्रमका सहभागि भएका महिला स्वास्थ्य स्वयमसेविकाहरुले जतिबेला पनि गाउँमा खटिने स्वास्थ्य स्वयमसेविकाहरुको लागि विशेष कार्यक्रम ल्याउनुपर्ने माग गरेका छन् ।
स्वास्थ्य स्वयमसेविका टिका खड्काले आफुहरु लामो समयदेखि जनताको आधारभुत स्वास्थ्य सेवाको लागि गाउँगाउँमा खटिएको बताउँदै आफुहरुका लागि खाजा खर्च समेत सरकारले व्यवस्था गर्न नसकेको गुनासो गर्नुभयो ।
‘२४ सै घण्टा खटिने हामी स्वयमसेविकाहरुको लागि सरकारले केही कार्यक्रम ल्यावस्, हामी भोकभोकै सेवा गर्दै हिडेँका छौँ । पटकपटकभन्दा पनि सुनुवाई हुन सकेको छैन् । उहाले भन्नुभयो ।’
कर्मचारीले १० वजेदेखि ४ बजेसम्म ड्युटी गर्दा मासिक रुपमा तलव पाउने तर जतिबेला पनि खटिने आफुहरुको लागि खाजा खर्च समेत नभएको दुखेसो उहाको छ ।
अर्का स्वयसेविका जग्मा रावलले पनि गुराँस गाउँपालिकाले स्वास्थ्य स्वयसेविकाको लागि विशेष कार्यक्रम ल्याउनुपर्ने माग राख्नुभयो ।
वडा नम्बर एकका जेष्ठ नागरिक शेर बहादुर सुनारले पनि सामाजिक सुरक्षा भत्ता वडामै ल्याएर वितरण गरिनुपर्ने माग गर्नुभयो ।
उहाले विकासका काम गर्दा सबैको सहभागितामा हुनुपर्नेमा जोड दिनुभयो ।
सहभागिहरुको जवाफ दिँदै वडा नम्बर एकका वडा अध्यक्ष धर्मराज रावलले वडाबाट समाधान हुने विषय वडाबाटै नै गरिने बतानुभयो । उहाले अन्य विषयहरु कार्यपालिका बैठकमा उठाएर समस्या समाधानको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
स्वास्थ्य स्वयवसेविकाको विषयमा भने आफुले विगतदेखि नै आवाज उठाउँदै आएको बताउँदै उहाले अहिले गाउँपालिकाले केही कार्यक्रम ल्याएकाले अब कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।
शिक्षाको पहुँचमा बालबालिकालाई ल्याउनुपर्नेमा जोड
सार्बजनिक सुनुवाईमा सहभागि भएका वडा नम्बर २ का सहभागिहरुले वडामा बालबालिकासहित भारत जाने प्रवित्ति रहेकाले ति बालबालिकालाई विद्यालयमा पढ्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।
वडा नम्बर २ का शिक्षक नन्दा शाहीले वेरोजगारी समस्याका कारण अविभावकहरु भारतमा जाने र उनिहरुसँगै बालबालिका पनि जाने प्रवित्तिले बालबालिकाको शिक्षामा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
अर्का शिक्षक भुपेन्द्र शर्माले पनि बालबालिकाको शिक्षामा पालिका सरकार गम्भिर हुनुपर्नेमा जोड दिनुभयो ।
त्यसको जवाफमा वडा नम्बर २ का वडा अध्यक्ष शेर बहादुर रावलले वडाबाट यो काम गर्न कठिनाइ रहेको भन्दै यस विषयमा आफुले पहल गरिरहेको बताउनुभयो ।
बालबालिकालाई पढाउनुपर्छ भनेर आफुले बारम्बार विभिन्न साझेदार संस्थाहरुको सहयोगमा सचेतनाका कार्यक्रम संचालन गरेपनि रोक्न नसकेको बताउनुभयो ।
पुरैनी स्वास्थ्य चौकी इन्चार्ज किरण कुमार केसीले वडा नम्बर २ मा कुपोषणको समस्या पनि रहेको बताउनुभयो । उहाले केही साझेदार संस्था र गाउँपालिकाको सहयोगमा सचेतना तथा पोषणयुक्त खानाका विषयमा जानकारी दिइएको बताउनुभयो । अहिले २३ जना कुपोषित बच्चा रहेकोमा अहिले ४ जनामा झारिएको बताउनुभयो ।
शिक्षा र खानेपानीको समस्या समाधान गर्न माग
वडा नम्बर ४ र वडा नम्बर ५ का नागरिकहरुले भने शिक्षामा सुधार र खानेपानीको समस्या समाधान गरिदिन माग गरेका छन् ।
उनिहरुले वडा नम्बर ५ का केही विद्यालयमा दरबन्दी अनुसारका शिक्षक नभएको बताउँदै यसको समाधान तत्काल गर्न स्थानीय दुर्गादेवी सुनारले माग गर्नुभयो ।
यस्तै सहभागिहरुले खानेपानीको समस्या चरम रहेको भन्दै यतातर्फ वडा र पालिका सरकारले ध्यान दिनुपर्नेमा सुझाव दिएका छन् ।
जवाफमा वडा अध्यक्ष भुपेन्द्र बहादुर चन्दले केही विद्यालयहरुमा शिक्षकको अभावलाई हटाइने प्रतिवद्धता जनाउनुभयो । उहाले खानेपानीको समस्या समाधानको लागि केही योजना कार्यान्वयनमा रहेको र केही योजनाहरु बनाउनुपर्ने बेला आएको बताउनुभयो ।
यता, वडा नम्बर ४ का सहभागिहरुल भने घरजग्गा दस्तुर घटाउन माग गरेका छन् ।
उनिहरुले पहिलेभन्दा घरजग्गा दस्तुर दोब्बरले वृद्धि भएको भन्दै यसलाई घटाउन माग गरेका हुन् ।
सहभागी बम बहादुर विसीले घरजग्गा दस्तुर शुल्क घटाउनुपर्ने, जनताका आधारभुत समस्या समाधानको लागि पहल गरिनुपर्ने लगायतका सुझाव दिनुभएको थियो ।
सहभागीहरुको जवाफमा वडा नम्बर ४ का वडा अध्यक्ष खड्क बहादुर शाहीले आफुले यस विषयमा बारम्बार कुरा उठाएपनि समाधान हुन नसकेको बताउनुभयो ।
उहाले अझै यो विषयमा आफुले पहल गर्ने भन्दै यसको समाधानका लागि पालिकाले जिल्लामा पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
वडा नम्बर ७ मा भएको सार्बजनिक सुनुवाई कार्यक्रमका सहभागिहरुले भने योजनाहरुको कार्यान्वयन समयमै हुनुपर्ने माग गरेका छन् । उनिहरुले विकासमा सबैको सहभागितामा जोड दिएका छन् ।
जवाफमा वडा अध्यक्ष नन्द विसीले आफ्नो पहिलो प्रथामिकता भनेकै विकास र समृद्धी भएको भन्दै जनभावनाअनुसारको काम गर्न आफु तयार रहेको बताउनुभयो ।